
इङ्ग्ल्यान्ड फुटबल टोलीका पूर्वकप्तान डेभिड बेकमलाई फुटबल र ब्रिटिश समाजप्रतिको योगदानका लागि औपचारिक रूपमा नाइटको उपाधि (सर) दिइएको छ ।
५० वर्षका बेकमलाई यसअघि नै राजा चार्ल्सको ‘बर्थडे अनर्स लिस्ट’ मा नाम समावेश गरिएको थियो । उनलाई मंगलबार बर्कशायरमा आयोजित एक समारोहमा राजाले सरको उपाधि प्रदान गरेका हुन् ।
बेकमले भने, ‘म यस क्षणमा अत्यन्त गर्व महसुस गरिरहेको छु । सबैलाई थाहा छ कि म कति देशभक्त हुँ-म आफ्नो देशलाई माया गर्छु । मेरो परिवारका लागि राजतन्त्रको महत्व सधैं विशेष रहेको छ । म संसारका धेरै ठाउँमा गएँ र जहाँ गए पनि मानिसहरूले ब्रिटिश राजतन्त्रबारे कुरा गर्छन्, जसले मलाई अझ गर्व गराउँछ ।’
बेकमसँग उनकी श्रीमती भिक्टोरिया, आमा स्यान्ड्रा र बुबा डेभिड पनि विंडसर क्यासलमा उपस्थित थिए।
फेशन उद्योगमा योगदानका लागि २०१७ मा “ओबीई” सम्मान पाएकी भिक्टोरियाले बेकमले लगाएको सूट आफैं डिजाइन र तयार गरेकी थिइन् । बेकमले हाँस्दै भने, ‘राजा चार्ल्स मेरो सूटबाट निकै प्रभावित भएका थिए । उनी मेरो नजरमा संसारकै सबैभन्दा स्टाइलिश व्यक्ति हुन् । उनका धेरै पहिरनहरूले मलाई सधैं प्रेरित गरेका छन्, यो सूट पनि त्यसकै प्रभावमा बनेको हो । यो मेरो श्रीमतीले बनाइदिएकी हुन् । मैले राजाको जवान उमेरका केही तस्बिरहरू हेरेँ, जहाँ उनले मोर्निङ सूट लगाएका थिए, अनि मैले भिक्टोरियालाई भनेँ- ‘म पनि त्यस्तै लगाउन चाहन्छु।’ त्यसपछि उनले यो सूट तयार गरिदिइन्।’
बेकमले इङ्ग्ल्यान्डका लागि ११५ खेल खेलेका छन् र सन् २००० देखि २००६ सम्म छ वर्ष कप्तानका रूपमा सेवा दिएका थिए । म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका पूर्व मिडफिल्डर बेकमले इङ्ग्ल्यान्डका लागि तीन वटा विश्वकप र दुई वटा युरोपियन च्याम्पियनसिपमा सहभागिता जनाएका थिए।
सन् १९९२ मा युनाइटेडको एकेडेमीबाट उदाएका उनले ११ वर्ष क्लबमा खेल्दा पाँचवटा प्रिमियर लिग उपाधि र धेरै ट्रफी जिते । त्यसपछि सन् २००३ मा उनी रियल म्याड्रिडमा २५ मिलियन पाउण्डको सम्झौतामा सामेल भए ।
रियलमा चार वर्ष खेलेपछि उनी अमेरिकाको ‘एलए ग्यालेक्सी’ क्लबमा प्रवेश गरे । त्यहाँ रहँदा उनले दुई पटक एसी मिलानका लागि ऋणमा खेले र अन्ततः २०१३ मा फ्रान्सको ‘पेरिस सेंट-जर्मेन’बाट आफ्नो करिअर समाप्त गरे ।
तर बेकमको प्रभाव फुटबलमै सीमित छैन ।
पूर्वी लन्डनमा जन्मिएका उनले २०१२ को लन्डन ओलम्पिक ल्याउन सहयोगी भूमिका खेलेका थिए । सन् २००५ देखि उनी ‘युनिसेफ’ सँग काम गर्दै आएका छन् र २०१५ मा उनीसँगको दशक लामो सहकार्यको सम्मानमा ‘बेकम फन्ड’ सुरु गरिएको थियो ।
बेकमलाई सन् २००३ मा दिवंगत रानी एलिजाबेथ द्वितीयले “ओबीई” प्रदान गरेकी थिइन् । रानीको मृत्युपछि सन् २०२२ मा उनले उनलाई अन्तिम श्रद्धाञ्जलि दिन १२ घण्टा लामो लाइनमा उभिएर श्रद्धा व्यक्त गरेका थिए ।
त्यसपछि उनले भनेका थिए, ‘यहाँ आउनु, उत्सव मनाउनु र विभिन्न व्यक्तिहरूका कथाहरू सुन्नु साँच्चिकै विशेष अनुभव हो।’
सन् २०२४ मा बेकम राजा चार्ल्सको “किङ्स फाउन्डेशन” का राजदूत बनेका थिए । उनले राजाको शिक्षा सम्बन्धी कार्यक्रम र युवाहरूमाझ प्रकृतिप्रतिको समझ बढाउने अभियानमा सहयोग गर्दै आएका छन् ।
हाल उनी आफ्ना पूर्व सहखेलाडी गेरी नेभिलसँग मिलेर इङ्ग्ल्यान्डको ‘सल्फोर्ड सिटी’ क्लबका सहमालिक छन्। साथै, उनी अमेरिकाको ‘इन्टर मियामी’ फुटबल क्लबका पनि सहमालिक हुन् ।








प्रतिक्रिया