अझै खुलेन बिपी राजमार्ग

91
Shares

काठमाडौं । बिहिबार रातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग शनिबार पनि पूर्ण रुपमा अबरुद्ध छ ।

अबिरल वर्षाका कारण लेदोसहित पहिरो जाने क्रम नरोकिएका कारण उक्त सडक खण्ड शनिबार पनि अवरुद्ध छ । बाटो सुचारु नहुँदा आज पनि उक्त सडक खण्डमा सवारी साधन सञ्चालन हुन सकेको छैन ।

लेदो र ढुंगासहितको पहिरो पन्छाउने प्रयास भइरहे पनि माथिबाट थप लेदो र पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टका अनुसार बिपी राजमार्गको चौकीडाँडा, नार्के, चारसयबेँसी, डालाबेँसी लगायतका ठाउँमा अझै सडकको पहिरो र लेदो हटाउन सकिएको छैन।

लगातारको वर्षापछि पहिरो र लेदो सडकमा थुप्रिँदा गएको बिहीबार रातिदेखि नै बीपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो।

‘काभ्रेको नमोबुद्ध नगरपालिका ६ चौकिडाँडा, रोसी गाउँपालिका ७, रोसी ७ कै चारसयबेँसी, रोसी ११ को डालाबेँसी, रोसी ९ को बिरुवाडाँडा, कोक्सिकुना, नार्के लगायतका ठाउँमा अझै सडक पूर्णरुपमा अवरुद्ध छ,’ डीएसपी बिष्टले भने, ‘ती ठाउँमा हिजैदेखि पहिरो हटाउने र पहिरो फेरि खस्ने क्रम चलिरहेको छ।’

सडक धेरै ठाउँमा अवरुद्ध भएकाले मर्मतमा समय लाग्ने प्रहरीले जनाएको छ। बीपी राजमार्ग अवरुद्ध पूर्वी नेपाल आवतजावत गर्ने यात्रुले सास्ती पाएका छन्।