
काठमाडौं । बुध्द एयरले आगामी नोभेम्बर १५ (कात्तिक २९ गते)देखि काठमाडौंबाट सिधै भारतीय सहर कलकत्तामा दुईतर्फी उडान गर्ने भएको छ । बुध्दले साताको ४ दिन काठमाडौं–कलकत्ता उडान गर्ने जानकारी दिएको छ ।
बुध्दले यसअघि साताको ३ दिन मात्रै गर्ने भनिएको उडान तालिकालाई परिमार्जन गरेर अब आईतबार, मंगलबार, बिहिबार र शनिबार गरी साताको चार दिन उडान गर्ने भएको छ ।
बुध्द एयरले भारतको कलकत्ता ६ वर्ष पछि पुन उडान गर्न लागेको हो । यस अघि नै यो वायुसेवाले काठमाडौंबाट भारतको कलकत्ता सिधा उडान सुरु गरेको भए पनि ६ महिना नपुग्दै बन्द गरेको थियो ।
विगतमा भएको कमी कमजोरीलाई सच्चाउदै बुध्दले फेरि उडान गर्न लागेको हो । बुध्द एयरका अनुसार उडान तालिका सार्वजनिक भएसँगै यात्रुका लागि टिकेट बुकिङसमेत सुरु भइसकेको छ । डेढ घण्टाको यो उडानका लागि बुध्दले सेवा सुरु गर्न लागेको हो ।
यसअघि २०७६ जेठ १३ देखि केही समय बुध्दले काठमाडौंबाट कलकत्ता उडान सुरु गरेको थियो । यो वायुसेवाले जुन अपेक्षा राखेर उडान सुरु गरेको थियो त्यो अनुसारको व्यापार नभएको भन्दै उडान बन्द गरेको थियो । त्यतिबेला बुध्दले पर्यटकलाई सेवा दिने उद्देश्यले उडान सुरु गरेको भए पनि अपेक्षा अनुसार आगमन नबढेको भन्दै उडान बन्द गरेको थियो ।
बुध्दले एटीआर ७२ नामक ७२ सिट क्षमतको जहाजबाट उडान सुरु गरेको थियो । यो वायुसेवासँग हाल यही प्रकृतिका जहाज भएकोले एटीआर ७२ बाटै फेरि पनि नियमित उडान सुरु गर्दै छ ।
बुध्दले सुरु गर्न लागेको कलकत्ता उडानको न्यूनतम भाडादर १४ हजार ५ सय रुपैयाँ रुपैयाँ तोकेको छ । यो गन्तव्यमा अधिकतम भाडा ३१ हजार २ सय रहेको पनि ट्राभल एजेन्सीमा उपलब्ध टिकटमा देखिएको छ । यस्तै भारतकै बनारसमा बुध्दको नियमित उडान रहेको छ । बुध्दले यात्रुको सहजताका लागि सेवा निरन्तर गर्ने उद्देश्यले किफायति भाडादरमा सेवा दिने जानकारी दिएको छ ।







प्रतिक्रिया