मोन्था आँधीको प्रभाव: बीपी राजमार्गमा राति गाडी चलाउन रोक

105
Shares

default

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाएको छ ।

मोन्था आँधीको प्रभावले बिहीबार रातिदेखि शनिबारसम्म वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेसँगै रातिको समयमा सवारी चलाउन काभ्रे प्रशासनले रोक लागएको छ ।

प्रशासनले सूचना जारी गर्दै कार्तिक १३ गते विहीबार साँझ ०५:०० बजेदेखि कार्तिक १४ गते शुक्रबार विहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ्ग भकुण्डेवेशी- सिन्धुली सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमनमा निषेध गरिएको जनाएको छ ।

यस्तो छ काभ्रे प्रशासनको सूचना

जल तथा मौसम विज्ञान विभागको मिति २०८२ कार्तिक १२ गतेको प्रक्षेपणअनुसार २०८२ कार्तिक १३ गते विहीबार देखि मिति २०८२ कार्तिक १४ गते शुक्रबारसम्म बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको सूचनामा सतर्क रहनुपर्ने जिल्लाको सूचिमा यस जिल्ला पनि रहेको छ ।

वर्षातको कारण बाढी पहिरोको उच्च जोखिम रहेकोले देहाय अनुसार गर्ने गराउन सम्बन्धित सबैमा अनुरोध गर्दछौं ।

क. वर्षात र बाढी पहिरोबाट सवारीसाधन र यात्रुलाई हुन सक्ने जोखिम हुन नदिन २०८२ कार्तिक १३ गते विहीबार साँझ ०५:०० बजेदेखि कार्तिक १४ गते शुक्रबार विहान ६ बजेसम्म वि.पी. राजमार्गको काभ्रे भञ्ज्याङ्ग भकुण्डेवेशी- सिन्धुली सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमनमा निषेध गरिएको छ । साथै रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधनहरु रोक्न सक्नेछ ।

ख. उल्लेखित अवधिमा अत्यन्त जरूरी नभईकन बाहिर नजाने, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्ने ।

ग. पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउने । विशेष स्थानीय तहहरुले स्वीकृत मनसुन कार्ययोजना अनुरुप आवश्यक पूर्वतयारी र प्रतिकार्य गर्ने गराउने ।

घ. डुबान हुने सक्ने बस्तीहरूलाई सुरक्षित क्षेत्र ( अस्थायी ) र सुरक्षित स्थानबारे जानकारी लिने र आवश्यक पर्दा गाँउपालिका/नगरपालिका द्वारा यस अघी निर्धारित सुरक्षित स्थानमा जाने ।

ङ. जिल्ला स्थित सुरक्षा निकायहरु, स्थानीय तहहरु, स्वयंमसेवक लगायत सरोकारवाला सबै निकाय स्वीकृत प्रतिकार्य योजना अनुरुप तयारी अवस्थामा रहने ।

च. वि.पी. र अरनिको राजमार्ग आयोजनाहरु (सडक डिभिजन भक्तपुर र सूर्यविनायक-धुलिखेल सडक आयोजना) ले सडकहरूमा तुरून्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्ने ।

छ. पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्न सरोकारवाला संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क ( अलर्टमा) रहने ।

ज. स्थानीय विपद् व्यवस्थापन समितिहरु र विपद् व्यवस्थापन समितिका क्लष्टर लिड र क्लष्टर को लिडहरुले स्वीकृत प्रतिकार्य योजना अनुरुप तयारी अवस्थामा रहने ।