तिम्सिनाले बजारमा ल्याए नेपालको बैंकिङ इतिहास समेटिएको पुस्तक

392
Shares

विराटनगर । बैंकलाई केवल मुद्रा राख्ने ढिकुटी मात्र नभएर मुलुकको अर्थतन्त्रको मुख्य अङ्ग पनि मानिन्छ । नेपालमा बैंक अस्तित्वमा आएको ८८ वर्ष पुगेको छ ।

त्यही बैंकको राणाकालीन समयदेखि वर्तमानसम्मको इतिहास समेटिएको पुस्तक मोरङको पथरी शनिश्चरेमा प्रकाशनमा आएको छ । त्यहाँका स्थानीय खोजकर्ता दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

यस पुस्तकमा नेपालको मुद्रा निष्कासनको इतिहास, राणाकालीनदेखि वर्तमानसम्मको बैंकिङ इतिहास समेटेर तिम्सिनाले नेपालको बैंकिङ इतिहास नामक किताब बजारमा ल्याएका हुन् ।

यो पुस्तकमा नेपालका क र ख श्रेणीका बैंकहरूको चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलसम्मका १८ जना गभर्नरको जीवनी, द्वन्द्वकालमा बैंकमा भएको आक्रमण, नेपाली बैंक मर्जरको इतिहास, राणाकालमा बेलायतबाट फर्केर नेपालमा बैंक खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैंकिङ क्षेत्रका अगुवा बि.के. श्रेष्ठ, विदेशी बैंक भित्र्याउने डा. प्रकाशचन्द्र लोहनीसहितको इतिहास पुस्तकमा उल्लेख गरिएको छ ।

नेपाली बैंकले पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू, बैंकिङ क्षेत्रमा महिलाको सहभागिता, विपत्तिमा बैंकको सहयोग, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, कानुनहरू, खारेज भएका बैंकहरू, चिनियाँ ह्याकरले मच्चाएको लुटपाट, लिच्छविकालदेखिका मुद्राको खोज पुस्तकले गरेको छ ।

तत्कालीन कुन–कुन बैंक कहिले स्थापना भए, समस्याग्रस्त बैंकहरू, भोजपुरको टक्सारको इतिहास, पूर्वमा खुलेका बैंकहरू, बैंकिङ क्षेत्रमा महिलाको सहभागिता, डेपुटी तथा कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिमिल्सिना, बैंकिङ अधिकारको क्षेत्रमा कार्यरत संघ–संस्थाहरू लगायतका विभिन्न ५१ वटा विषय समेटेर तयार गरिएको २७२ पृष्ठको पुस्तकमा नेपालमा जेनजी आन्दोलनको समयमा नेपाली बैंकमा भएको क्षतिको विषय पनि समेटिएको छ ।

झापा दमकको स्रष्टा छापाखानाले छापेको र लिला निरौला प्रकाशक रहेको यो तिम्सिनाको १४औं पुस्तक हो । लेखक तिम्सिना विगत एक दशकदेखि निरन्तर खोजमूलक पुस्तक लेखन गर्दै आएका छन् । नेपाली बैंकिङ इतिहास बुझ्न यो पुस्तक राम्रो सहयोगी बन्ने नेपाल बैंकर्स संघका अध्यक्ष दिनेश कोइरालाको शुभकामना सन्देशमा उल्लेख छ ।

यो सहित तिम्सिनाका प्रकाशित कृतिहरू — टेलिफोन डायरी २०६८, मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङको क्षेत्र नं २ एक चिनारी २०७०, पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण २०७८, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरी शनिश्चरे २०७८, मोरङका जनप्रतिनिधि सङ्गालो २०७९, माइखोलादेखि पुनर्वाससम्म २०८०, तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म २०८०, गुमनाम एक इतिहास बिसे नगर्ची पहिलो संस्करण २०८१ र गुमनाम एक इतिहास बिसे नगर्ची दोस्रो संस्करण २०८१ रहेका छन् ।

पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीको इतिहास गोरखासम्म पुगेर गहन खोज गरी लेखिएको थियो भने, नेपाली भाषी भुटानी शरणार्थीको कथा–व्यथा समेटिएको कृति माइखोलादेखि पुनर्वाससम्म, तराईका आदिवासी धिमाल जातिको इतिहास र इतिहासमा पथरी शनिश्चरे, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म तिम्सिनाका नाम कमाएका कृतिहरू मानिन्छन् ।