जेनजी आन्दोलनकारीले आगो लगाउँदा एमाले-माओवादी कार्यालयमा १५ करोडको क्षति

एकीकृत समाजवादीको कार्यालयमा १ करोड २५ लाखको क्षति

91
Shares

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालयहरू आन्दोलनकारीको मुख्य निशानामा परे ।

आन्दोलनकारीहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का कार्यालयहरूमा तोडफोड र आगजनी गरे ।

आगजनीका कारण पार्टीका महत्वपूर्ण कागजात नष्ट भए भने डिजिटल उपकरणहरू लुटिए । भवनहरू जिर्ण बनेका छन् । हाल क्षतिग्रस्त पार्टी कार्यालयहरूमा दलहरूले सरसफाइ गरेर नियमित काम सुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रले पुनर्निर्माणको काम समेत थालिसकेका छन् ।

राजनीतिक दलहरूले भवन सुरक्षा तथा इन्जिनियरिङ मूल्याङ्कन, डिजिटल र प्रशासनिक डाटाको पुनःसंरचना, आकस्मिक रूपमा कार्य सञ्चालन निरन्तर राख्ने, र स्थायी पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएका छन् ।

एमाले कार्यालयमा १० करोडको क्षति

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी कार्यालयमा रहेका सबै भौतिक सामग्री र दस्तावेज आगोले नष्ट भएका छन् । करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताए । विदेशस्थित पार्टी सदस्यहरूले पुनः सञ्चालनका लागि आवश्यक सामग्री खरिदमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

हाल अस्थायी टेन्ट हालेर पार्टीको नियमित काम भइरहेको छ । क्षतिग्रस्त भवनको इन्जिनियरिङ जाँच भइसकेको र करिब एक महिनाभित्र ६ वटा कोठा पुनर्निर्माण पूरा गर्ने लक्ष्यसहित काम अघि बढाइएको उनले जानकारी दिए ।

‘भवनको परीक्षणपछि ड्यामेज भएका ६ कोठा पुनर्निर्माण गर्न विशेष इन्जिनियरिङ तरिका अपनाइरहेका छौँ,’ उनले भने । पार्टीले हालै सहयोगी दाताको सहयोगमा पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक सम्पन्न गरेको र आगामी ७ हप्तामै हुने महाधिवेशनका तयारी भइरहेका उनले बताए ।

नेकपा (माओवादी केन्द्र) सञ्चालनमा ल्यायो कार्यालय

केन्द्रीय कार्यालय मुख्यसचिव गणेशमान पुनका अनुसार आगजनीपछि सरसफाइ गरी कार्यालय पुनः सञ्चालनमा ल्याइएको छ । हाल झ्याल–ढोका परिवर्तन, रंगरोगन लगायतका काम भइरहेको छ । निर्माणाधीन भवनमै पदाधिकारी र स्थायी समिति बैठक सञ्चालन भइरहेको उनले बताए ।

जनवर्गीय संगठन र केन्द्रीय कार्यालयको संयोजनमा मर्मत कार्य भइरहेको उनले जनाए । पार्टीका डिजिटल डाटा, सदस्यता प्रणाली, वेबसाइट र मोबाइल एप अपग्रेड गर्ने काम पनि भइरहेको छ ।

उनका अनुसार आगजनी र तोडफोडबाट करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिग्रस्त भवनलाई रेट्रोफिट डिजाइनमार्फत नयाँ ढङ्गले पुनर्निर्माण गर्ने तयारी भइरहेको छ । तल्लो तला, ग्राउण्ड फ्लोर र पहिलो तला बढी क्षतिग्रस्त भएको उनले बताए ।

राजावादीको निसानामा परेको नेकपा (एकीकृत समाजवादी)लाई जेनजीले छाडेनन्

उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार पार्टी कार्यालयका सबै सामान लुटिएका छन् । दुई कोठामा तोडफोड र आगजनी हुँदा ल्यापटप, कम्प्युटर, कुर्सी, पंखा र कागजात सबै नष्ट भएका छन् । प्रारम्भिक मूल्याङ्कनअनुसार करिब १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए ।

हाल सहयोगी दाताहरूबाट चन्दा संकलन गरी कार्यालय सञ्चालन गरिएको छ । ‘पुराना सामान जोडजाड गरेर कार्यालय चलाइरहेका छौँ, तर व्यवस्थित मर्मत हुन बाँकी छ,’ उनले भने ।

भाडाको घरमा रहेको कार्यलय मर्मत गर्ने जिम्मेवारी पनि पार्टीकै रहेको उनले बताए । यसअघि राजावादी आन्दोलनका क्रममा २४ लाख रुपैयाँ खर्चेर मर्मत गरिएको भवन यो पटक अझ बढी क्षतिग्रस्त भएको उनले जनाए ।

राजनीतिक दलहरूले आफ्नै स्रोत र सहयोगी दाताहरूको सहयोगमा पुनर्निर्माण थालेका छन् । भट्टराईका अनुसार क्षति विवरणका आधारमा सरकारबाट सहयोग हुनुपर्ने भए पनि अहिलेसम्म कुनै पहल भएको छैन । त्यसैले दलहरूले स्वस्रोत र चन्दा संकलनमार्फत कार्यालय पुनःस्थापना र सञ्चालन गरिरहेका छन् ।