
भैरहवा (रुपन्देही) । उद्योगपति तथा कांग्रेस नेता विनोद चौधरी बर्दघाट नगरपालिका वडा नम्बर ७ स्थित घर पुगेका छन् । भदौ २४ को जेनजी आन्दोलनका क्रममा चौधरीको घरमा आगजनी गरिएको थियो ।
छठ पर्वको शुभकामना आदान प्रदानको लागि प्रत्येक वर्ष पश्चिम नवलपरासीको बर्दघाटमा रहेको आफ्नो कार्यालय पुग्ने गरेका उनी त्यसक्रममा घर पुगेका हुन् ।
यस वर्ष उनका लागि आफ्नो कार्यालय आगमनले दुःख ल्यायो । गाडीबाट झर्ने बित्तिकै चौधरी कार्यालय नपुगी सोझै जलेको संरचना हेर्न पुगे । उनको कार्यालयका भित्ताहरुमा थारु कला संस्कृति कोरिएको छ । तर भदौ २४ भएको आन्दोलनको क्रममा गरिएको आगजनीका कारण ती भित्ताहरु कालो भएका छन् । चौधरीका शयनकक्ष लगायत सबै कोठा भित्रबाट जलेका छन् ।
चौधरीले सोमबार बर्दघाट नगरपालिका वडा नम्बर ७ स्थित आफ्नो जलेको घरको निरीक्षण गर्दै भावुक देखिए । निरीक्षणका क्रममा चौधरीले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आन्दोलनको क्रममा देशमा ‘ठूलो दुर्घटना’ भएको टिप्पणी गरे ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्व सांसद चौधरीले यस घटनालाई आफ्नो व्यक्तिगत मात्र नभई सम्पूर्ण क्षेत्रका जनतासँग जोडिएको सामाजिक विषयको रूपमा लिएको बताए । चौधरीले आफ्नो घर जलेको घटनालाई केवल व्यक्तिगत क्षतिमा सीमित नराखी यस क्षेत्रका सम्पूर्ण क्षेत्रवासीसँगको सम्बन्धको धरातलमा उभिएर हेरेको बताए ।
चौधरीले आफ्नो घरमा भएको क्षतिलाई ‘विकासप्रतिको निराशा’ बाट उत्पन्न भावनात्मक र नकारात्मक धरातलमा उभिएर गरिएको कार्यको परिणति भएको टिप्पणी गरे ।
चौधरीले नेपालको विकास, रोजगारी र स्वाभिमानी जीवनका लागि युवा (जेन्जी) ले राखेको अपेक्षाले नै आफूलाई राजनीतिमा प्रवेश गर्न प्रेरित गरेको बताए ।
उनले सबैलाई जेनजीको भावनालाई कदर गर्न र त्यसलाई बिथोल्न खोज्नेहरूलाई पाखा लगाउँदै जानुपर्ने आवश्यकता औँल्याए । चौधरीले आफ्नो जलेको घरको अगाडि उभिएर नै नेपालमा सकारात्मक परिवर्तन आयो भने आफू सबैभन्दा सन्तुष्ट व्यक्ति हुने कुरामा जोड दिए ।







प्रतिक्रिया