देउवा दम्पती उपचारका लागि सिंगापुर पुगे, ह्विलचेयरमा बाहिरिए

168
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् ।

गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् काठमाडौँबाट प्रस्थान गरेका उनीहरू सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विमानस्थलबाट बाहिरिँदै गर्दा देउवा दम्पती ह्विलचेयरमा देखिएका थिए ।

गत भदौ २४ गते ‘जेनजी आन्दोलन’को क्रममा देउवा दम्पतीमाथि काठमाडौँको बूढानीलकण्ठस्थित निवासमै आक्रमण भएको थियो । सो घटनामा देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा पनि घाइते भएकी थिइन् ।

नेपाली सेनाले उद्धार गरी उपचारका लागि लगिएका उनीहरू लामो समय सार्वजनिक देखिएका थिएनन् । घटनापछि पहिलोपटक असोज २८ गते नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उनीहरू सार्वजनिक भएका थिए । त्यस दिन देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति हस्तान्तरण गरेका थिए ।