लुम्बिनी लायन्सको घरेलु मैदान बन्यो भैरहवाको एक्स्ट्राटेक ओभल

413
Shares

काठमाडौं । एक्स्ट्राटेक ओभल क्रिकेट मैदान अब केवल मैदान मात्र नभएर लुम्बिनी लायन्सको पहिचान बन्ने भएको छ । भैरहवामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी लायन्सको घरेलु मैदान हुने भएको हो ।

अब लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प र रणनीतिक बैठकहरूका लागि प्रयोग गर्नेछ । यसका साथै नेपाल प्रिमियर लिग (एनपिएल) र अन्य क्रिकेट प्रतियोगिताहरूका घरेलु खेलहरू पनि यही मैदानमा आयोजना हुने भएको छ ।

यसका लागि लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभल, भैरहवाबिच दीर्घकालीन साझेदारी गर्ने गरी सम्झौता पनि भइसकेको छ । सम्झौता पत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट बिनोद कुँवर र र लुम्बिनी लायन्सको तर्फबाट भावना घिमिरेले शनिबार हस्ताक्षर गरे ।

सम्झौतामा हस्ताक्षर गर्दै लुम्बिनी लायन्सकी घिमिरेले एक्स्ट्राटेक ओभल अब मैदान मात्र नभई लुम्बिनीको पहिचान बन्ने बताइन् । ‘एक्स्ट्राटेक ओभल अब केवल मैदान होइन, लुम्बिनी लायन्सको पहिचान बन्नेछ । यो ठाउँ हाम्रो तयारी, हाम्रो यात्राको हृदय हुनेछ,’ उनले भनिन् ।

एक्स्ट्राटेक ओभलका कुँवरले पनि नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन एकसाथ अघि बढ्ने प्रतिवद्धता जनाए । उनले भने, ‘यो साझेदारी हाम्रो साझा प्रतिबद्धता हो । भैरहवामा विश्वस्तरीय क्रिकेट सुविधा विकास गर्ने दिशामा पुर्‍याउन र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन एकसाथ अघि बढ्दैछौं ।

यो सम्झौता पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने साझा दृष्टिकोणमा आधारित छ । यस सम्झौताअनुसार मैदानमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत उपकरण र क्लब हाउस सुविधा उपलब्ध हुनेछ, जसले क्लबलाई वर्षभरि व्यावसायिक स्तरको प्रशिक्षण र तयारी वातावरण प्रदान गर्नेछ ।