मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र दुई मुद्दाका फरार अभियुक्त, भन्थे: सर्वोच्च जलाउनुपर्छ, न्यायाधीश लखेट्‌नुपर्छ

2.3k
Shares

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्न लागेका खगेन्द्र सुनार दुईवटा मुद्दामा फरार अभियुक्त रहेको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा उल्लेख भए अनुसार सुनारले दुई मुद्दामा कैद सजाय भुक्तान गर्न बाँकी रहेको देखिन्छ ।

प्रहरी रेकर्डअनुसार, काभ्रेपलाञ्चोक जिल्ला अदालतले विद्युतीय कारोबार सम्बन्धी मुद्दामा उनको नाममा पक्राउ पुर्जी जारी गरेको भए पनि सो मुद्दा अहिलेसम्म फर्स्यौट भएको छैन । त्यस्तै, सुर्खेत जिल्ला अदालतले २०८१ साल असार २१ गते जारी गरेको अर्को पक्राउ पुर्जीका आधारमा पनि उनी अझै पक्राउ परेका छैनन् र सजाय भुक्तान गर्न बाँकी छ।

यसबाहेक, सुनारविरुद्ध सर्वोच्च अदालतमा पनि एक मुद्दा विचाराधीन अवस्थामा रहेको पाइएको छ। अधिवक्ता मनिषा गौतमद्वारा दायर उक्त मुद्दामा गत असोज ६ गतेका लागि पेसी तोकिए पनि सर्वोच्च अदालतमा आगलागी भएपछि सो सुनुवाइ स्थगित भएको थियो ।

नवराज विकको मुद्दामा उच्च अदालत सुर्खेतले दिएको फैसलाप्रति असन्तुष्ट हुँदै सुनारले अदालत परिसरमै हुलहुज्जत गरेका थिए । उनले अदालतको गेटमा तोडफोड गर्नुका साथै न्यायाधीशहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्तिहरू दिएका थिए । त्यसपछि अधिवक्ता गौतमले उनीविरुद्ध मानहानी मुद्दा दायर गरेकी थिइन् । यो मुद्दा गत वैशाख २१ गते दर्ता भएको हो।

सर्वोच्च अदालतले प्रतिवादी सुनारलाई उपस्थित हुन आदेश दिएको थियो । त्यसपछि पनि सुनारले सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानविरुद्ध आपत्तिजनक अभिव्यक्ति लेख्दै सामाजिक सञ्जालमा पोस्ट गरे । यसपछि अदालतले सो टिप्पणीको आधारमा अर्को मुद्दा दर्ता गरेको थियो।

अधिवक्ता गौतमले मुद्दा दायर गरेपछि सुनारले सामाजिक सञ्जाल फेसबुकमा उनको तस्बिर र फोन नम्बर राख्दै अपमानजनक स्टाटस लेखेका थिए । ‘तँ नेपाल बारकी होस कि ठमेल बारकी?’ सुनारको यो पोस्टपछि गौतम साइबर ब्युरोमा उजुरी लिएर गएकी थिइन् तर ब्युरोले मुद्दा दर्ता नगरि फर्काएको थियो ।

सुनार नेपाली कांग्रेस पृष्ठभूमिबाट आएका व्यक्ति हुन्। काभ्रेका कांग्रेस नेता गणेश लामासँग निकट सम्बन्ध राख्दै उनी लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए। पत्रकारितामा समेत संलग्न सुनार सगरमाथा टेलिभिजनमा कार्यरत रहँदा ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए र केही महिना जेल सजाय भोगेका थिए।

दलित अधिकारका पक्षमा न्यायाधीशहरू संवेदनशील नभएको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशमाथि आपत्तिजनक अभिव्यक्ति दिएका कारण पनि उनी पक्राउ परेका थिए।