
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वार्ताका लागि सरकारको कदमको स्वागत गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसाईंले जनताको आवाज सुन्ने उद्देश्यले सरकार वार्तामा आउन इच्छुक भएको कदम सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् ।
‘यदि सरकारले आधिकारिक रूपमा वार्ताका लागि हामीलाई निमन्त्रणा दिएको हो भने हामी त्यसको स्वागत गर्छौं,’ प्रसाईंले लेखेका छन्, ‘जनताको आवाज सुन्ने जिम्मेवारी ओली सरकारले कहिल्यै देखाउन सकेन, तर अहिलेको सरकारले त्यो जिम्मेवारी वहन गर्ने संकेत देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ ।’
उनले राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन् । प्रसाईंले भनेका छन्, ‘वार्ताको पहल मात्र होइन, राष्ट्र र नागरिक जोगाउने नतिजासहितको समाधान नै अहिले देशको आवश्यकता हो ।’
यसअघि, गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार सडक प्रदर्शनको तयारीमा रहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिमका कारण प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना विचार प्रस्तुत गर्न आग्रह गरेका थिए ।
प्रसाईंले १५ कात्तिकदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीबारे चार वटै सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई जानकारी गराएका थिए । त्यसपछि प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री अर्याल र गृहसचिव रामेश्वर दंगालले सुरक्षा प्रमुखहरूसँग छलफल गरेका थिए ।
सरकारले मुलुकको सुरक्षा अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सबै राजनीतिक शक्तिहरूलाई सडक प्रदर्शन टार्न र संवादमा सहभागी हुन अपिल गर्दै आएको छ ।







प्रतिक्रिया