
विराटनगर । विराटनगरकी मधु लखोटिया (सारडा) दशकयता बहराइनको बुदैया सहरमा बसेर त्यहाँका नागरिकलाई नेपाल चिनाउँदै र भ्रमण गर्न निम्ता बाँड्दै छिन् । त्यहाँ मात्र होइन, उनी जुन मुलुक पुग्छिन्, त्यहाँका नागरिकलाई आफ्नै देश भ्रमण गर्न आग्रह गर्दै हिँड्छिन् ।
कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गरेर त्यस शीर्षकमा राज्यको १० करोड रुपैयाँ दोहन गर्यो । तर उपलब्धि केही देखिएन । भारत, चीन, बंगलादेश र भुटानलगायतका देशबाट बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य अधुरै रह्यो।
त्यो रकमले प्रदेश सरकारले पर्यटन वर्षका लागि प्रदेशका विभिन्न ८२ वटा पर्यटकीय गन्तव्यको सूची तयार गरेर गत बैशाख १ गते तेह्रथुमको तिनजुरे–मिल्के–जलजले क्षेत्रबाट ‘कोशी प्रदेश पर्यटन वर्ष, २०८२’ को औपचारिक उद्घाटन गर्दै कार्यक्रम सफल भएको उद्घोष गर्यो, अनि कार्यक्रम नै बिट मार्यो ।
तर उनै मधु भने ‘आर्ट फर अटिजम’मार्फत समाजसेवामा सक्रिय रहँदै त्यहाँ मधुबनी, मिथिला र मण्डला आर्टको प्रशिक्षण पनि दिँदै छिन् र निःशुल्क रूपमा बहराइनका नागरिकलाई नेपाल घुम्नका लागि निम्ता दिँदै आएकी छन् । त्यसका लागि उनले नेपालको सर्वोच्च सगरमाथा लगायत प्रमुख पर्यटकीय क्षेत्रको जानकारी दिने किताब प्रकाशनमा ल्याएर बहराइनी नागरिकलाई बुझाउँदै आएकी छन् ।
आफू पनि घुमघाममा रमाउने मधुले २०२३ अप्रिल ११ मा अस्ट्रेलियाको सर्वोच्च शिखर कोजेस्को र २०२२ जुन ८ मा अफ्रिकाको किलिमञ्जारो हिमालमा नेपालको झन्डा गाडेकी थिइन् । पर्यटनसम्बन्धी ‘एज एभरेस्ट इन माइ हर्ट’, ‘म्यानिफेस्टिङ माउन्टेन’ र ‘मुन माउन्टेन’ पुस्तककी लेखिकासमेत रहेकी मधु बहराइन हाइकर्स र बहराइन्स ट्राभल एन्ड ट्रेकिङ कम्पनीकी ब्रान्ड एम्बेसडर पनि भइसकेकी छिन् ।

बहराइन आर्ट सोसाइटीका अध्यक्ष रासिद अलखलिफाले पाँच हजार अमेरिकी डलर सहयोग गरेपछि अस्ट्रेलियाको शिखर कोजेस्को आरोहण गरेको मधुले बताइन् । घुमघामका क्रममा मधु बहराइनसहित अमेरिका, बेलायत, फ्रान्स, अस्ट्रिया, अस्ट्रेलिया, जर्जिया, अजरबैजान, टर्की, तान्जानिया र श्रीलंकाको भ्रमण गरिसकेकी छन् । भ्रमणका क्रममा उनले जहाँ पुगे पनि त्यहाँका नागरिकलाई नेपाल भ्रमणको निम्ता दिएर फर्कने गरेकी छन् ।
विराटनगरका जुगल लखोटियाकी छोरी मधुले स्नातकसम्मको अध्ययनपछि भारतको रायगञ्जस्थित माल्दहका सन्दीप शारदासँग विवाह गरिन् । त्यसपछि उनी पतिसँगै बहराइन पुगेकी हुन् । उनका पति सन्दीप त्यहाँ चार्टर्ड एकाउन्टेन्ट हुन् । मधु भने पेन्टिङ र लेखनमा पनि सक्रिय छिन् । उनी बहराइनमा ‘आर्ट फर अटिजम’मार्फत समाजसेवामा सक्रिय रहेकी उनका मामा विराटनगरका नन्दकिशोर राठीले बताए ।
उनी त्यहाँ मधुबनी, मिथिला र मण्डला आर्टको प्रशिक्षण पनि दिँदै आएकी छन् । उनका बुद्ध, नेपाली लेडी, मधुबनी, मिथिला र मण्डला आर्ट बहराइन फाइनान्सियल हार्डवेयर आर्ट प्रदर्शनीमा तीन पटक सहभागी गरिएका थिए । उक्त प्रदर्शनीमा विश्वप्रसिद्ध पेन्टिङ कलाकार एम.एफ. हुसेनका पेन्टिङ पनि राखिएका थिए ।
प्रदर्शनीमा उनका ३६ वटा पेन्टिङ राखिएका थिए । त्यस अवसरमा बहराइनका लागि तत्कालीन नेपाली राजदूत पदम सुन्दास र भारतका राजदूत पीयूष श्रीवास्तवले उनलाई सम्मान गरेका थिए । मधुले भनिन्, ‘त्यस अवसरमा बहराइनका संस्कृतिमन्त्री रेदा फराजले ७ सय बहराइनी दिनारमा ४ वटा पेन्टिङ खरिद गरेका थिए ।’ उनी त्यहाँ रेस्टुरेन्टका लागि पनि आर्टको डिजाइन गर्छिन् । मधुले पिज्जा हट जिङ्गमा म्युरल आर्ट पनि गरेकी छन् । बहराइनको पूर्ण विकासका लागि उनले बनाएका सन्देशवाहक पेन्टिङका लागि त्यहाँको सरकारले मधुलाई सम्मान पनि गरेको थियो ।
शेफ विनित भाटियासँग एभरेस्ट बेस क्याम्पमा ‘छोरी बचाऊ अभियान’मा जाने एकमात्र महिला सदस्य पनि हुन्—दुई छोरीकी आमा मधु । ‘आफ्नो योग्यतालाई उमेर र स्थानले छेक्दैन,’ मधुले भनिन्, ‘गृहिणी होस् वा कामकाजी महिलाले आफूभित्र लुकेको प्रतिभा बाहिर ल्याउन सक्नुपर्छ ।’ उनी हरेक दिन बिहान एक घण्टा बहराइनीलाई योग पनि सिकाउँछिन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल भारत वर्षीय महेश्वरी महिला संगठनले उनलाई ‘सशक्त महेश्वरी ग्लोबल वुमन’ को उपाधिले सम्मान पनि गरेको छ ।
त्यति मात्र होइन, रोजगारीका लागि त्यहाँ पुगेका नेपालीलाई साताको एक घण्टा नेपाली संगीत सुनाउँदै आएकी छन् । कोभिड संक्रमण फैलन थालेपछि बहराइन सरकारले १०४ थोप्लो २ मेगाहर्ज सरकारी रेडियोमार्फत जनतालाई सचेत गराउन विभिन्न भाषामा अभियान सुरु गर्दा मधुलाई पनि त्यहाँको सरकारले साताको एक घण्टा नेपाली भाषामा कोभिडबाट सुरक्षित रहन जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि छनोट गर्यो । त्यो कार्यक्रम प्रभावकारी भएपछि मधु विदेशी नागरिकलाई नेपाल घुम्ने निम्तो गर्दै पदमार्गमा निस्किन उत्साहित भएको बताउँछिन् ।

त्यसपछि उनले बहराइनमा रहेका नेपालीका लागि नेपाली भाषामा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिन् । प्रत्येक शनिबार साँझ ६ देखि ७ बजेसम्म रेडियोमार्फत नेपाली कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । मधुले क्लिकमान्डुसँग भनिन्, ‘त्यो कार्यक्रममार्फत मैले नेपाली भाषामा चेतनामूलक सन्देश मात्र प्रसारण गरेकी छैन, त्यहाँ नेपाली गीत–संगीतको पनि प्रचार गरेकी छु अनि यहाँका नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह पनि गर्दै आएकी छु ।’ अहिले पनि त्यो कार्यक्रम नियमित छ ।
सानो मुलुक बहराइनको बुदैया सहरमा मात्र एक हजारभन्दा बढी नेपाली युवायुवती रोजगारी गर्दै आएका छन् । उनीहरूका लागि यो रेडियोको कार्यक्रम लोकप्रिय बन्दै गएको छ । यसका लागि उनलाई तत्कालीन नेपाली राजदूत पदम सुन्दासले सम्मान पनि गरेका थिए ।
पछिल्लो समय उनी कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई साकार पार्न बहराइनी नागरिकलाई नेपाल डुलाउने प्रयासमा छिन् । त्यो अभियानमा उनले कोही र कुनै पनि संघ–संस्थाबाट रकम लिएकी छैनन् । आफू आवद्ध रहेका कार्यक्रममार्फत उनी भ्रमण वर्षको प्रचार–प्रसार निःशुल्क गर्दै आएकी छन् ।
तर यता प्रदेश सरकारले भने विनियोजित १० करोड रुपैयाँ कार्यक्रमको तयारी र उद्घाटनमै सकेर पर्यटन वर्ष सफल भएको घोषणा गरेर बसेको छ । न विदेशी पर्यटक यहाँ आएका छन्, न प्रदेश सरकारले त्यसको अनुगमन नै गरेको छ ।
कार्यक्रमका नाममा प्रदेश सरकारले राज्यकोषको दोहन गरेको भन्दै सार्वजनिक रूपमा टीका–टिप्पणी भएपछि प्रदेशका पर्यटन मन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरे विवादमा मुछिएका थिए । सचिव घिमिरेको सरुवा भएसँगै विवाद र पर्यटन वर्षको चर्चा बन्द भएको छ ।
वन तथा पर्यटन मन्त्रालयका सचिव घिमिरेले पर्यटन वर्षको तयारी र उद्घाटन कार्यक्रममा भएको खर्च आफ्नै निजी बैंक खाताबाट भुक्तानी गरेपछि विवाद चुलिएको थियो । उनको सरुवा भएपछि विवाद र पर्यटन वर्षको प्रसंग टुंगिएको छ ।








प्रतिक्रिया