पाँच वर्षमा झण्डै १६ अर्बको भाइ मसला आयात, ३० प्रतिशतले महँगियो बजार

182
Shares

काठमाडौं । यो वर्ष भाई मसलाको मूल्य अत्यधिक बढेको छ । गत् वर्षको तुलनामा यो वर्ष करिब ३० प्रतिशतले मूल्य बढेको व्यापारीहरुले औल्याएका छन् ।

भाईटिकामा सबैभन्दा बढी भाईमसला (ओखर, नरिवल, किसमिस, आलमण्ड बदाम, छोकडा, काजु, कटुसलगायत) को खपत हुन्छ ।

आयात हुने समयमा बाटोघाटो क्षतिग्रस्त हुँदा लागत खर्च बढेकाले गत् वर्षको तुलनामा यो वर्ष भाईमसलाको मूल्यमा ३० प्रतिशतले बृद्धि भएको व्यापारीहरुको भनाई छ ।

यस वर्ष तिहारमा भाई मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ ।

काठमाडौंको असनमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गतवर्ष भन्दा यस वर्ष भाई मसलाको मूल्य बढेको बताएका हुन् ।

व्यापारीहरुका आयात हुने भारत र पाकिस्तानमा समेत बाढी र पहिरो आउनुका साथै अमेरिकी डलरको मूल्य बृद्धिका कारण पनि प्रत्यक्ष असर पुगेको उनीहरुको भनाई छ ।

बजारमा मूल्य बृद्धि भएपनि बजारमा भाईमसला किन्नेको ठूलो भिड लागेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

संघका महासचिब अमुलकाजी तुलाधरका अनुसार मूल्य बृद्धिका कारण बजारमा शिथिलता नदेखिए पनि उपभोक्ताले परिमाण खरिदमा भने कटौती गरेका छन् ।

‘अघिल्लो वर्षको तुलनामा यो वर्ष ३० प्रतिशतले मूल्य बृद्धि भएपनि बजार भने सुस्त छैन,’ तुलाधरले भने,‘बजारमा उस्तै भिडभाड छ । तर पहिले १ देखि ५ किलोसम्म खरिद गर्ने उपभोक्ताले यो पटक ५ सय ग्रामदेखि २ किलोसम्म मात्रै खरिद गरेको पाइएको छ ।’

उनका अनुसार यो वर्ष राजधानीका विभिन्न बजारमा २ हजार २ सय रुपैयाँ प्रतिकिलो काजु, एक हजार ७ सय रुपैयाँ प्रतिकिलो बदाम, ६ सय रुपैयाँ प्रतिकिलो किसमिस, १ हजार रुपैयाँ प्रतिकिलो कालोदाख, ५ सय ५० रुपैयाँ प्रतिकिलोमा ओखर बिक्री भएको छ ।

यस्तै १ हजार ५ सय रुपैयाँ प्रतिकिलो ओखरगुदी, ५ सय ५० रुपैयाँ प्रतिकिलो नरिवल, १ सय ८० रुपैयाँ प्रतिकिलो मिश्री, २ सय रुपैयाँ प्रतिकिलो धागो मिश्री, २ हजार प्रतिकिलो मखना, ८ सय रुपैयाँ प्रतिकिलोमा दालचिनी बिक्री भइरहेको छ ।

तिहार र भाईटिकामा खपत हुने यस्ता भाईमसला भने अधिकाँश भारतसहित तेश्रो मुलुकबाट नेपालमा आयात हुन्छ । दाँते ओखर केहि परिमाणमा नेपालमा उत्पादन हुन्छ । तर त्यसको आधिकारिक तथ्याँक भने छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कर्णाली र सुदुरपश्चिमका केही उच्च पहाडी जिल्लामा दाँते जातको ओखरको खेती सुरु भएको थियो । तर त्यो व्यवसायिक रुपमा छैन । बजारलाई नै प्रभावित हुने गरी नेपालमा उत्पादन भएको छैन ।
बजारमा अहिले आयात भएको र खपत हुने करिब शत प्रतिशत दाँते जातको ओखर भएको मन्त्रालयको दावी छ ।

नेपालीका अनुसार कर्णाली प्रदेशमा करिब १ हजार हेक्टरमा ओखरको खेती हुन्छ । ३ सय ५० हेक्टरबाट एक हजार ४ सय मेट्रिक टनको हाराहारीमा ओखरको उत्पादन भएपनि अधिकाँश स्थानीय बजारमै खपत हुन्छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशको सुर्खेत, सल्यान, कालीकोट, जुम्ला र मुगुमा ओखर खेतीको प्रचुर सम्भावना छ । लुम्बिनी प्रदेशमा रुकुम पूर्व, प्यूठान र रोल्पामा पनि खेतीको सम्भावना छ ।

लुम्बिनीकै पुथा उत्तरगंगा गाउँपालिकालाई ओखर खेतीको केन्द्र बनाइएको छ । प्रदेश मन्त्रालयकै पहलमा प्यूठानमा पनि तीन हजारभन्दा बढी बिरुवा रोपिएका छन् ।

ओखर खेती प्रवर्द्धनका लागि हेल्भेटास नेपालको ‘ओखर मूल्य शृङ्खला सबलीकरण परियोजना (मिठो ओखर)’ कार्यक्रमले स्थानीय उद्यमीहरूको आम्दानी बढाउन कर्णाली प्रदेशको ओखर उत्पादन हुने क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

मिठो ओखर कार्यक्रमले जुम्लाको रैथाने प्रजातिको ओखर जोगाउन सन् २०१८ देखि २०२० सम्म हाडे र दाँते ओखरको मुख्य समस्या पहिचान र तिनको समाधानको काम थालेको हो ।

पहिलो चरणको तीन वर्षीय परीक्षण परियोजना सन् २०२० मा सम्पन्न भएपछि दोस्रो चरणमा पाँच वर्षका लागि कार्यक्रम भइरहेको परियोजनाले जनाएको छ ।

नेपालमा मुख्यगरी भारत, इण्डोनेशिया, चीन, अष्ट्रेलिया, कुवेत, कतार, ताइवान, थाइल्याण्ड, कोरिया, भियतनाम, हङकङ, साउदी अरब, युएई, अमेरिका, नाइजेरिया, बेनिन, भेनेजुला, मोजाम्वीक्यु, मलेसिया, निरागुआ, बहराइन, साइप्रस, इटली, फ्रेन्च, फिलिपिन्स, पोर्चुगल, इरान, इजराइल, चिले, ओमान, पाकिस्तानलगायतका मुलुकबाट यस्ता भाईमसला आयात हुँदै आएको छ ।

कति भयो आयात ?
पछिल्लो ५ आर्थिक वर्ष (चालु आर्थिक वर्षको २ महिनासहित) मा १५ अर्ब ८७ करोड १६ लाख रुपैयाँबराबरको ९ करोड ४४ लाख ६२ हजार किलो भाई मसला आयात भएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनाको अवधीमा भने १ अर्ब ६१ करोड ८२ लाख रुपैयाँबराबरको ८९ लाख १५ हजार किलो आयात भएको छ । ५ वर्षको अवधीमा भने मूल्य र परिमाणको हिसाबले सबैभन्दा बढी गत् आर्थिक वर्ष २०८१/८२ मा यस्तो भाई मसला आयात भएको थियो ।

त्यो आर्थिक वर्षमा ४ अर्ब ११ करोड ९४ लाख रुपैयाँबराबरको २ करोड ३२ लाख ४१ हजार किलो भाईमसला आयात भएको थियो । यसपछि आर्थिक वर्ष २०८०/८१ मा परिमाणको हिसावले बढी आयात भएको थियो ।

त्यो आर्थिक वर्षमा ३ अर्ब ५ करोड ५८ लाख रुपैयाँबराबरको २ करोड १६ लाख किलो आयात भएको थियो ।