
एजेन्सी । विद्रोहीहरूले महिनौंसम्म चलेको कठोर लडाइँपछि गत वर्ष अन्ततोगत्वा चिनियाँ सीमाबाट म्यान्मारको भित्री भागतर्फ जाने मुख्य व्यापारिक मार्गमा पर्ने क्याउक्मे शहरमा नियन्त्रण कायम गरेका थिए ।
क्याउक्मे एसियन हाइवे १४ मा पर्छ । त्यसलाई दोस्रो विश्वयुद्धको समयमा बर्मा रोड भनेर चिनिन्थ्यो । ताआङ नेशनल लिबरेशन आर्मी (टीएनएलए) ले शहर कब्जा गर्दा विपक्षीहरूका लागि ठूलो सफलता भनी धेरैले व्याख्या गरेका थिए । त्यसले सन् २०२१ मा सत्ता कब्जा गरेको सैनिक शासनको मनोबल कमजोर बन्दै गएको संकेत दिएको थियो ।
तर, यसै वर्ष सेनालाई क्याउक्मे फिर्ता लिन तीन हप्तामात्रै लाग्यो ।
म्यान्मारमा अहिले सन्तुलन सैन्य जुन्ताको पक्षमा ढल्किसकेको छ भन्ने कुरा यो सानो पहाडी शहरको उतारचढावले देखाउँछ ।
युद्धका कारण क्याउक्मेले भने ठूलो मूल्य चुकायो । टीएनएलएको नियन्त्रणमा रहँदा सेनाले दैनिक हवाई आक्रमण गरेर शहरका धेरै भाग ध्वस्त गरेको थियो । हवाईजहाजहरूले ५०० पाउन्डसम्मका बम खसाले, तोप र ड्रोनले शहर वरिपरिका विद्रोही स्थानहरूमा प्रहार गरे । अधिकांश बासिन्दा भागे तर अहिले सेनाको नियन्त्रण कायम भएपछि कतिपय मानिस त्यहाँ फर्किन थालेका छन् ।
‘क्याउक्मे र ह्सिपाउमा दैनिक भीषण लडाइँ भइरहेको छ,’ टीएनएलएका प्रवक्ता टार पान लाले यसै महिनाको आरम्भमा बीबीसीलाई भनेका थिए, ‘यो वर्ष सेनासँग धेरै सैनिक, धेरै घातक हतियार र हवाई शक्ति छ । हामी ह्सिपाउ जोगाउन प्रयास गर्दैछौं ।’
तर, बीबीसीले उनीसँग कुरा गरेपछि जुन्ताका फौजहरूले ह्सिपाउ पनि फिर्ता लिएका छन् । गत वर्ष टीएनएलएले कब्जा गरेका अन्तिम शहरहरूमध्ये एक र चिनियाँ सीमातर्फ जाने बाटो सेनाले पुनः नियन्त्रणमा ल्याएको छ ।
चीनले जुन्तालाई खुलेर समर्थन दिन थालेकाले यी शहरहरू सेनाले फिर्ता गर्न सफल भएको हो । चीनले डिसेम्बर महिनामा आमनिर्वाचन गर्ने जुन्ताको योजनालाई समर्थन गरेको छ । तर, यो चुनाव आङ सान सु चीको पार्टी नेशनल लिग फर डेमोक्रेसीलाई निषेध गरिएकाले विवादित छ र देशका धेरै भाग अहिले गृहयुद्धमा फसेका छन् ।
त्यसैले सेना अहिले चुनाव गर्न सकिने गरी जितेको क्षेत्रहरू पुनः फिर्ता गर्ने प्रयासमा लागेको छ । यसपटक उसले अघिल्ला गल्तीहरूबाट सिकेको छ र नयाँ एवं घातक प्रविधिहरू प्राप्त गरेको छ ।
खासगरी, विपक्षीहरूले सस्तो ड्रोन प्रयोग गरेर लिएको फाइदालाई सेना स्वयंले चीनबाट हजारौं ड्रोन किनेर आफ्ना फौजहरूलाई चलाउने तालिम दिएर सन्तुलनमा ल्याएको छ ।
सेनाले मोटरबाट सञ्चालित प्याराग्लाइडर पनि प्रयोग गर्न थालेको छ जसले हावामा स्थिर रहँदै बम खसाल्न सक्छ । साथै, चीन र रुसबाट पाएको लडाकु विमान प्रयोग गरेर लगातार बमवर्षा गरिरहेको छ जसले गर्दा एक हजारभन्दा बढी नागरिकको यस वर्ष मृत्यु भएको अनुमान गरिन्छ ।
अर्कोतर्फ, विपक्षी गठबन्धन भने आन्तरिक कमजोरीले थलिएको छ ।
‘जनताको रक्षा बल (पीडीएफ)’ भनेर चिनिने सयौं समूहहरू मुख्यतः गाउँले वा शहरबाट भागेका युवाहरूले मिलेर बनाएका हुन् । यी समूहहरूमा पुराना जातीय विद्रोही समूहका लडाकुहरू पनि छन् जसले दशकौंदेखि केन्द्रीय सरकारसँग लड्दै आएका छन् ।
तर, उनीहरूबीच आपसी अविश्वास गहिरो छ । उनीहरू सन् २०२१ को कू पछि बनेको नेशनल युनिटी सरकारलाई पनि मान्यता दिँदैनन् । त्यसैले विपक्षी आन्दोलनको कुनै साझा नेतृत्व छैन ।
चार वर्षभन्दा बढीको लडाइँपछि युद्धको दिशा फेरि सेनाको पक्षमा फर्कंदैछ । युद्धले हजारौंलाई मारेको छ र लाखौंलाई विस्थापित बनाएको छ ।
सन् २०२३ अक्टोबरमा शान राज्यका तीन जातीय सेनाहरूले अपरेशन १०२७ नामको संयुक्त अभियान थाले । दुई वर्षदेखि जारी प्रतिरोध आन्दोलनले खास प्रगति गरेको थिएन तर यस अभियानपछि अवस्था बदलियो ।
ताआङ नेशनल लिबरेशन आर्मी, म्यान्मार नेशनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडीएए) र अराकान आर्मी मिलेर बनेको ब्रदरहुड अलायन्सले महिनौं तयारी गरेको थियो । त्यसपछि ड्रोन र तोपसहित उसले ठूलो आक्रमण गर्यो ।
केही हप्तामै उनीहरूले झण्डै १८० सैन्य चौकी कब्जा गरे, हजारौं सैनिक आत्मसमर्पण गर्न बाध्य भए र शान राज्यको ठूलो क्षेत्र उनीहरूको नियन्त्रणमा गयो ।
यी सफलताहरूले देशभरका अन्य विद्रोहीहरूलाई उत्साहित बनायो र उनीहरूले पनि आफ्ना क्षेत्रमा आक्रमण सुरु गरे । त्यसबेला सेनाको शासन ढल्न सक्ने धेरैले सोचेका थिए ।
तर, त्यसो भएन ।
इन्टरनेशनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडीजका मोर्गन माइकल्सका अनुसार, ‘सुरुमा दुईवटा कुराको अनावश्यक रूपमा बढी आकलन गरिएको थियो । पहिलो, यी तीन शान समूहहरूको सहकार्यलाई राष्ट्रिय स्तरको विद्रोहको रूपमा बुझियो । दोस्रो, सेनाको मनोबल पूर्ण रूपमा भंग भएको ठानियो । यी दुवै कुरा सत्य थिएनन् ।’
सेनाले सन् २०२३ अन्त्यमा जबर्जस्ती भर्ती सुरु गर्यो । हजारौं युवाहरू भागे तर करिब ६० हजारजना सेनामा भर्ती भए । अनुभव नभए पनि उनीहरूले सेनाको शक्तिमा ठूलो फरक पारे ।
नयाँ भर्ती, ड्रोन र हवाई आक्रमणहरूका कारण युद्धको दिशा पल्टिएको टीएनएलए स्रोतहरूले पनि स्वीकारेका छन् ।
सशस्त्र संघर्षको तथ्यांक संकलन गर्ने एसीएलईडी संस्थाकी विश्लेषक सु मोनका अनुसार, ड्रोनहरूले सेनालाई निर्णायक फाइदा दिएको छ । ‘सेनाको निरन्तर ड्रोन आक्रमणहरूले धेरै लडाकु मरेको र पछि हट्न बाध्य भएको हामीकहाँ प्रतिरोध समूहहरूबाट आएको जानकारीले देखाउँछ । हाम्रो तथ्यांकले पनि सेनाका हवाई आक्रमणहरू अझ सटीक भएको देखाउँछ । सम्भवतः ड्रोनमार्फत लक्ष्य निर्धारण भएकाले त्यसो भएको हुन सक्छ ।’
तर, सेनाको प्रतिकारका लागि अब विपक्षीहरूले ड्रोन वा त्यसका पार्ट्स पाउन गाह्रो छ किनकि चीनले सैन्य र गैरसैन्य दुवै प्रयोजनका लागि उपयोगी सामग्रीको निर्यातमा रोक लगाएको छ र सीमामा नियन्त्रण कडा बनाएको छ । ड्रोनको मूल्य पनि धेरै बढेको छ र सेनासँग अब राम्रो जामिङ प्रविधि भएकोले धेरै ड्रोन नष्ट भइरहेका छन् ।
टीएनएलए मात्र नभई अन्य जातीय सेना पनि पछि हट्दैछन् । अप्रिल महिनामा चिनियाँ दबाबपछि ब्रदरहुड अलायन्सकै अर्को समूह एमएनडीएएले पनि लाशियो शहर छोड्यो ।
एमएनडीएएले अब जुन्तासँग लडाइँ रोक्ने सहमति गरेको छ । शान राज्यको सबैभन्दा शक्तिशाली समूह यूडब्ल्यूएसएले पनि चीनको आदेश मान्दै अन्य विद्रोहीहरूलाई हतियार आपूर्ति बन्द गरेको छ ।
यी सबै समूहहरू चीन सीमासँग निर्भर छन् । चीनले केही नाकाहरू बन्द गरी नेताहरूलाई नियन्त्रणमा लिएर आफ्ना माग पूरा गराउन बाध्य बनाएको छ ।
सेनाको प्रतिकारका लागि अब विपक्षीहरूले ड्रोन वा त्यसका पार्ट्स पाउन गाह्रो छ किनकि चीनले सैन्य र गैरसैन्य दुवै प्रयोजनका लागि उपयोगी सामग्रीको निर्यातमा रोक लगाएको छ र सीमामा नियन्त्रण कडा बनाएको छ ।
दक्षिणमा रहेको करेन राज्यमा पनि सेनाले थाइल्यान्ड सीमा नजिकको मुख्य बाटो पुनः नियन्त्रणमा लिएको छ । करेन नेशनल युनियनले हारको दोष नयाँ भर्ती र ड्रोनका साथै आफ्ना केही समूहको विश्वासघातमा लगाएको छ । उनीहरूले सन् २०१५ मा जापानी सहयोगमा बनेको नयाँ शहर ले के काउ समेत गुमाएका छन् ।
छेउको कयाह राज्यमा दुई वर्षदेखि प्रतिरोध बलहरूको नियन्त्रण थियो । सेनाले डेमोसो र मोब्ये शहरहरू फिर्ता गरेको छ । सेनाले काचिन राज्य र सागाइङ–मान्डले क्षेत्रहरूमा पनि प्रगति गरिरहेको छ ।
तर, अर्कोतर्फ राखाइन र चिन राज्यमा विद्रोहीहरू अझै बलिया छन् र सेनालाई रोकेर राखेका छन् ।
मोर्गन माइकल्सका अनुसार, सेनाले अहिले आफ्नो शक्ति मुख्य व्यापारिक मार्ग र चुनाव गराउन आवश्यक शहरहरूमा केन्द्रित गरिरहेको छ । क्याउक्मे र ह्सिपाउ दुवै स्थानलाई मतदान क्षेत्रका रूपमा तोकिएको छ ।
जुन्ताले ३३० मध्ये ५६ नगरपालिकामा मतदान असम्भव भएको स्वीकार गरेको छ तर विपक्षीहरूले यो संख्या धेरै बढी हुने दाबी गरेका छन् ।
चीनले चाहेको भए दुई वर्षअघि नै १०२७ अपरेशन रोक्न सक्थ्यो । तर, त्यसबेला उसलाई जुन्तासँग मिलेका अपराधी समूहहरूले सञ्चालन गरिरहेका ठगी केन्द्रहरूप्रति असन्तोष थियो । त्यस ठगी केन्द्रलाई ब्रदरहुड अलायन्सले नष्ट गर्ने लक्ष्य राखेको थियो ।
तर, अहिले चीन पूर्ण रूपमा जुन्ताको पक्षमा छ । उसले चुनावका लागि प्रविधि र आर्थिक सहयोगको वाचा गरेको छ । यसै वर्ष दुईपटक सेनाप्रमुख मिन आङ ह्लाइङ र चीनका राष्ट्रपति सी जिनपिङबीच भेट भएको छ ।
चीनका विदेशमन्त्री वाङ यीले अगस्ट महिनामा भनेका थिए, ‘चीन म्यान्मारमा अराजकता र युद्धको विरोध गर्छ ।’
माइकल्स भन्छन्, ‘चीनलाई सैन्य शासनप्रति खास माया छैन तर त्यो ढल्ने संकेत देखिएपछि उसले राज्य नै पतन हुन लागेको ठानेर हस्तक्षेप गर्यो ।’
चीनका लागि म्यान्मार महत्त्वपूर्ण छ । दुई देशबीच लामो सीमा छ । म्यानमार चीनका लागि हिन्द महासागरसम्म पहुँच दिलाउने बाटो हो । त्यहाँ तेल र ग्यास पाइपलाइनका साथै ठूला लगानीका परियोजनाहरू छन् ।
तर, चीनको सहयोगले पनि यो युद्ध सजिलै अन्त्य हुने छैन । सेनाले गरेको विनाश र अत्याचारले म्यान्मारका जनतामा गहिरो घाउ बनाएको छ जसले पुस्तौंसम्म असर पार्नेछ ।
माइकल्सका शब्दमा, ‘सेनाले करिब एक लाखभन्दा बढी घरहरू जलाएको छ । हिंसा व्यापक रूपमा भएको छ र युद्धले नछोएको परिवार कमै छन् । त्यसैले अहिले राजनीतिक वार्ताको कल्पना गर्नै गाह्रो छ । तपाईं आफ्नो मोर्चा टिकाउन नसकेर युद्धविराममा जान बाध्य हुँदा त्यो शान्ति सम्झौता नभई थकानको परिणाम मात्र हो भनी बुझ्नुपर्छ ।’








प्रतिक्रिया