
विराटनगर । भारतले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस) प्रमाणपत्र नदिँदा मोरङको बुढीगंगामा सञ्चालित वहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिको उत्पादन दुई महिनादेखि निकासी बन्द भएको छ ।
निकासी रोकिएसँगै उद्योगले ९० प्रतिशत उत्पादन कटौती गरेको छ। बीआईएस प्रमाणपत्रको अभावमा यहाँका अन्य फलाम तथा स्टिल उद्योगहरूको निकासी पनि प्रभावित भएको बताइएको छ ।
रंगीन जस्ता पाता र पाइप उत्पादन गर्दै आएको यो उद्योगले वार्षिक सरदर ७ अर्ब रुपैयाँ बराबरको उत्पादन भारत निर्यात गर्दै आएको थियो ।
चिनियाँ औद्योगिक कच्चा पदार्थ रोक्न भारतले स्टिल उद्योगका लागि आवश्यक कच्चा पदार्थमा पनि गुणस्तर प्रमाणपत्र (बीआईएस लोगो) अनिवार्य गर्ने पछिल्लो प्रावधान लागू गरेपछि नेपालका स्टिलजन्य उत्पादन गर्ने उद्योगहरू प्रभावित भएका छन्। यस प्रावधानले नेपालबाट हुने स्टिलजन्य सामग्रीको निकासीसमेत अवरुद्ध पारेको उद्योगीहरूको गुनासो छ ।
अब देशभरका स्टिल उद्योगहरूले भारतबाट कच्चा पदार्थ आयात गर्दा पनि ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस) को प्रमाणपत्र लिनुपर्ने बाध्यता सिर्जना भएको छ। यसअघि भने केवल उत्पादित वस्तु निकासी गर्दा मात्र बीआईएस प्रमाणपत्र आवश्यक थियो ।
भारतको टाटा स्टिल कम्पनीको कच्चा पदार्थ आयात गरेर ९० प्रतिशत उत्पादन भारत निर्यात गर्दै आएको यो उद्योग सन् २००१ मा स्थापना भएको हो ।
भारतले बीआईएस प्रमाणपत्र नदिँदा उद्योगको उत्पादन दुई महिनादेखि निकासी बन्द भएको उद्योगका प्रबन्धक विशाल गुप्ताले बताए। उनका अनुसार बीआईएस प्रमाणपत्र लिने प्रक्रिया जारी छ र करिब दुई साता भित्र निकासी पुनः सुरु हुने विश्वास लिइएको छ ।
गुप्ताका अनुसार उद्योगले निकट भविष्यमै टिएमटी रड उत्पादन सुरु गर्ने तयारी पनि गरेको छ। उनले उद्योग विस्थापन हुने अवस्था भने नरहेको दाबी गरे ।
‘अब भारतले गुणस्तर प्रमाणित कच्चा पदार्थ आयात गरेर स्टिलका भाँडाकुँडा निर्माण गरी भारतमै निकासी गर्नुपर्ने अवस्था आएको छ,’ प्रिमियर स्टिल उद्योगका सञ्चालक पवनकुमार सारडाले भने ।
उनका अनुसार भारतले चार महिना अघि लागू गरेको उक्त प्रावधानका कारण स्वदेशी उद्योगहरू मारमा परेका छन्। नेपाली स्टिल उद्योगहरूले प्रायः चीनबाट कच्चा पदार्थ ल्याएर तयार वस्तु भारत निर्यात गर्दै आएका थिए। तर त्यसलाई रोक्न भारतले यस्तो प्रावधान ल्याएको हुन सक्ने उनको आकलन छ।
‘भारतले चिनियाँ कच्चा पदार्थबाट उत्पादित वस्तु भारत निकासीमा अवरोध गर्न यो प्रावधान ल्याएको हुन सक्छ,’ सारडाले थपे।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा स्टिलका भाँडाकुँडा उत्पादन गर्ने उद्योगहरू धेरै छैनन् । यस्ता उद्योगहरू मुख्यतः भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा केन्द्रित छन्। सारडाका अनुसार भारतको नयाँ प्रावधानले ती उद्योगहरू बढी प्रभावित भएका छन् ।
आरती स्ट्रिप्सले स्टिल पाइप उत्पादन गरी भारत निर्यात गर्दै आएको थियो। भारतको नयाँ प्रावधानपछि यो उद्योग सबैभन्दा बढी प्रभावित भएको हो ।
भैरहवाको विशेष आर्थिक क्षेत्रमा सञ्चालित भिस्तार ग्लोबल प्रालि र पञ्चकन्या स्टेनलेस उद्योग पनि भारतमा आफ्नो उत्पादन निर्यात गर्दै आएका थिए। ती उद्योगहरूले उद्योग विभागबाट उत्पादन प्रमाणपत्र लिएर आवश्यक मूल्यवृद्धि (भ्यालु एडिसन) गरी तयारी वस्तु निर्यात गर्दै आएका थिए। भारतको पछिल्लो प्रावधानले ती उद्योगहरूको निकासीमा समेत असर पारेको बताइएको छ।
अब नेपाली उद्योगहरूले भारतमै प्रमाणित कच्चा पदार्थ आयात गरी उत्पादित वस्तु मात्र भारत निर्यात गर्नुपर्ने अवस्था आएको छ।
‘भारतको यो प्रावधान सरासर नेपाल–भारत व्यापार सन्धिको मर्मविपरीत छ। हामी चीनबाट कच्चा पदार्थ ल्याएर स्टिलको ट्यांकी उत्पादन गरी भारत पठाउँदै आएका थियौं, तर अहिले तीन महिनादेखि निकासी रोकिएको छ,’ सम्बन्धित एक उद्योगीले बताए।







प्रतिक्रिया