
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्काले भदौ २४ गते प्रदर्शनकारीहरूले आफ्नै घरमा तोडफोड र आगजनी गर्दा आफू सोही घरमै रहेको बताएका छन् ।
सोमबार बिहान बूढानीलकण्ठस्थित आफ्नो घरको प्रांगणमा पत्रकारहरूसँग कुरा गर्दै उनले तोडफोड सुरु भएपछि सुरक्षाकर्मीहरूले आफू र परिवारलाई सुरक्षित स्थानमा लगेको जानकारी दिए ।
त्यसैबेला खड्काको घरबाट लाखौं रुपैयाँ भेटिएको भन्दै पैसा उडाइएको भिडियो सार्वजनिक भएको थियो। सो भिडियोबारे पत्रकारहरूले प्रश्न गर्दा उनले आफू त्यतिबेला पनि घरमै रहेको बताए ।
‘मेरो घरमा कति पैसा र कति विदेशी मुद्रा थियो भनेर मैले प्रहरीसँग विवरण दिएका छु,’ उनले भने, ‘उडाइएको भिडियो यही घरमै बसेर हेरिरहेको थिएँ ।’
उनका अनुसार ती नोटहरू दसैंका खर्चका लागि राखिएका नयाँ २० र ५० रूपैयाँका बन्डलहरू थिए, जुन प्रदर्शनकारीहरूले नियोजित रूपमा उडाएर फोटो खिचेका थिए ।
‘दसैंका लागि ल्याएका नयाँ नोटका बन्डलहरू थिए । ती उडाएर फोटो खिच्ने काम चरित्र हत्या गर्ने योजनाअन्तर्गत गरिएको थियो,’ खड्काले दाबी गरे ।
उनले आफ्नो व्यवसायिक पृष्ठभूमिका कारण घरमा केही रकम हुनु अस्वाभाविक नभएको पनि स्पष्ट पारे ।
‘दीपक खड्कासँग दुई–चार लाख नहुन सक्छ भन्ने तपाईंहरूलाई लाग्छ?’ उनले पत्रकारहरूलाई प्रतिप्रश्न गर्दै भने, ‘मेरो पृष्ठभूमि र संगत हेर्नुहोस्। मन्त्री वा राजनीतिज्ञ बन्नुभन्दा पहिल्यै मेरो व्यवसायिक संरचना तयार भइसकेको थियो ।’








प्रतिक्रिया