आफूले सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस नगरेको ओलीको दाबी

112
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको दाबी गरेका छन्।

आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले सेनाको सुरक्षामा रहँदै राष्ट्रपतिलाई राजनीतिक निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गरेको स्वीकार गरे पनि त्यसमा सुशीला कार्कीको नाम कतै नभएको बताएका हुन् ।

‘मैले लेखेको भाषामा सुशीला कार्की भन्ने वा अरू कसैको नाम छैन,’ ओलीले भने, ‘माओवादी अध्यक्ष प्रचण्डले भनेजस्तै मैले सुशीलालाई सिफारिस गरेको प्रमाण छ भने सार्वजनिक गरून् ।’

उनका अनुसार आफूले लेखेको सिफारिसपत्र राष्ट्रपतिसँग मात्र रहेको र आफ्ना पक्षमा त्यसको प्रतिलिपि नरहेको बताए । ओलीले आफ्नो सिफारिसको भाषा पनि सार्वजनिक गर्दै भने,’वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटीलाई शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले, यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणालीभित्रै खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट आवश्यक कदम चाल्न सिफारिस गर्छु।’

ओलीले थपे, ‘यसमा सुशीला कार्की भन्ने कतै छैन। राष्ट्रपतिज्यू, म कार्यवाहक प्रधानमन्त्री र सेनापति उपस्थित बैठकमा यो विषयमा सहमति भएको थियो ।’

उनले प्रचण्डले आफूविरुद्ध गरेको आरोपलाई ‘भयानक झूट’ भन्दै प्रमाण सार्वजनिक गर्न चुनौती दिए।
‘उहाँसँग प्रमाण छ भने किन लुकाइराख्ने? निकालिदिए भयो नि,’ ओलीले भने।

ओलीले सुशीलाको नेतृत्वमा बनेको अन्तरिम सरकार संविधानअनुसार नभएको पुनः दोहोर्याए।