पाकिस्तानले गरेको आक्रमणमा अफगानिस्तानका ३ क्रिकेट खेलाडीको मृत्यु

406
Shares

एजेन्सी । अफगानिस्तानका तीनजना क्लब क्रिकेट खेलाडी कबिर आगा, सिबगतुल्लाह र हारुन पाकिस्तानको हवाई आक्रमणमा मारिएका छन् ।

उनीहरू शराना सहरमा भएको मैत्रीपूर्ण खेलबाट फर्किएपछि पक्तिका प्रान्तको उरगुन क्षेत्रमा पाकिस्तानी आक्रमणको निशाना बनेका हुन् ।

यस घटनाले अफगानिस्तानको क्रिकेट समुदायलाई गहिरो धक्का दिएको छ । राष्ट्रिय टोलीले आगामी महिनामा पाकिस्तानमा आयोजना हुने टी–२० त्रिकोणात्मक शृंखलाबाट नाम फिर्ता लिएको छ ।

तीन क्रिकेटरको निधनपछि अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीले उनीहरूको आत्माको शान्तिको लागि सामूहिक प्रार्थना गरेको छ ।

क्रिकबजले संकलन गरेको विवरणअनुसार, खेल सकिएपछि खेलाडीहरूलाई सानो भोजको निम्तो दिइएको थियो । केही खेलाडीहरू थकित भएकाले भोजमा सहभागी भएनन् । तर, भोजमा गएकाहरू साँझ पर्नुअघि भएको बारम्बारको हवाई आक्रमणमा फसे ।

एक अनलाइन प्यानलिस्टका अनुसार, केही खेलाडीहरूले आफूहरू अत्यन्तै थकित भएको कारण भोजमा नगएको बताएका थिए। एक पूर्व अफगान खेलाडीका अनुसार, आक्रमण तीन चरणमा भएको थियो ।

अफगानिस्तान क्रिकेट बोर्डले यी युवाहरूको मृत्युलाई हृदयविदारक क्षति भन्दै शोक व्यक्त गरेको छ । बोर्डले पीडितहरूको पहिचान सार्वजनिक गर्दै अन्य केही खेलाडी पनि घाइते भएको जनाएको छ । साथै, एसीबीले नोभेम्बरको मध्यमा पाकिस्तानमा हुने त्रिकोणात्मक सिरिजबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले विज्ञप्ति जारी गर्दै तीन युवा क्रिकेटरको मृत्युमा गहिरो दुःख प्रकट गरेको छ र यस आक्रमणले परिवार, समुदाय र सम्पूर्ण क्रिकेट संसारबाट तीन उज्ज्वल प्रतिभा खोसेको बताएको छ । आईसीसीले आफू अफगानिस्तान क्रिकेट बोर्डसँग ऐक्यबद्ध रहेको जनाएको छ ।

भारतीय क्रिकेट नियामक संस्था बीसीसीआईले पनि विज्ञप्ति जारी गर्दै गहिरो दुःख र समवेदना प्रकट गरेको छ । पक्तिकामा भएका कायरतापूर्ण सीमापार हवाई आक्रमणको उसले कडा निन्दा गरेको छ ।

एसीबीका सार्वजनिक विवरणहरूमा पाकिस्तानको हवाई आक्रमणको जिम्मेवारी स्पष्ट रूपमा उल्लेख गरिएको छ । तर, आक्रमण लडाकु विमान वा क्षेप्यास्त्र केबाट भएको पुष्टि हुन बाँकी छ ।

घटनापछि अफगानिस्तान टिमका कप्तान राशिद खानले उक्त कृत्यको कडा निन्दा गरेका छन् ।