
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक तथा स्वास्थ्य मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले स्वास्थ्य सेवा विभागमार्फत म्यामोग्राफी मेसिन खरिद गर्दा करिब १४ करोड ६ लाख ८५ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको दाबी गर्दै आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार मिश्रासहितका अधिकारीहरूले लागत अनुमान तयार गर्ने चरणदेखि नै ठेकेदार कम्पनीसँग मिलेमतो गरी सम्झौताको शर्त पूरा नभएको अवस्थामा पनि सम्पूर्ण सामान आएको भनी गलत पीडीआई रिपोर्ट, झूटा दाखिला प्रतिवेदन र नक्कली बिल–बिजक तयार गरी भुक्तानी दिएका थिए ।
प्रतिवादीहरूमाथि सोही रकम बराबरको सामूहिक बिगो कायम गरिएको छ ।
अन्य प्रतिवादीहरूमा स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा. विवेक कुमार लाल, प्रमुख लेखा नियन्त्रक भुबन प्रसाद काफ्ले, कानुन अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इन्जिनियरहरू आशिष चौहान र पध्मा मिश्र, केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक संजयकुमार साह, म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा.लि. र सो कम्पनीका सुन्दर भुसाल रहेका छन् ।
डा. संगीता कौशल मिश्राको नाम यसअघि पनि चर्चामा आएको थियो । सुशीला कार्की नेतृत्वको सरकारले उनलाई जेनजी आन्दोलनपछि स्वास्थ्यमन्त्रीका रूपमा सिफारिस भएको थियो । उनीमाथि भ्रष्टाचार अनुसन्धान चलिरहेको भन्दै अन्तिम समयमा नियुक्ति रोकिन पुगेको थियो । मन्त्री बन्नका लागि उनले त्यसबेला सरकारी सेवाबाट राजीनामा समेत दिएकी थिइन् ।







प्रतिक्रिया