
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निवर्तमान ऊर्जामन्त्री दीपक खड्का फरार भएको दाबी गरेका छन् । मन्त्री अर्यालले ठूला नेताहरूको सम्पत्ति छानबिन सुरु भएपछि खड्का देश छोडेर भागेको बताएका हुन्। यद्यपि उनले खड्काको नाम प्रत्यक्ष रूपमा उच्चारण गरेका छैनन् ।
उनका अनुसार, ‘अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइएको छ। ठूला नेताहरूको सम्पत्तिबारे छानबिन सुरु भएको छ। कतिपय भागिसके, तत्कालीन ऊर्जामन्त्री त भागिसक्नुभयो, अरू पनि भाग्ने प्रयासमा छन्,’ नयाँ पत्रिकासँगको अन्तर्वार्तामा मन्त्री अर्यालले भनेका छन् ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको समयमा कांग्रेस नेता दीपक खड्का ऊर्जामन्त्री रहेका थिए। सो आन्दोलनकै क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घरमा आगजनी गरेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ऊर्जामन्त्री बनेका खड्काकै दबाबमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकाल बाँकी रहँदै पदमुक्त गरिएको थियो।
तर, जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुनः कुलमान घिसिङलाइ नै ऊर्जामन्त्री बनाएको छ। उनले अहिले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् ।
मन्त्री अर्यालले भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै आयोग गठनको आवश्यकताबारे प्रश्न उठाउँदै भने, ‘राज्यका विद्यमान संयन्त्र नै प्रयोग गरेर काम भइरहेको छ। ती संयन्त्र प्रभावकारी नदेखिए मात्र नयाँ संयन्त्रको आवश्यकता पर्छ,’ उनको भनाइ छ।
नेताहरू भाग्न थालेको दाबी गर्दै उनले सरकार तिनीहरूलाई रोक्ने कानुनी उपाय खोजिरहेको समेत बताए। ‘उनीहरूलाई भाग्न नदिने प्रावधानबारे हामी अध्ययन गर्दैछौं। सम्पत्ति शुद्धीकरण विभागले विस्तृत विवरण हेर्छ, त्यसपछि बयानका क्रममा बोलाउने वा पक्राउ गर्ने प्रक्रिया अघि बढ्छ,’ उनले स्पष्ट पारे।
गृहमन्त्री अर्यालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि तीव्र आक्रोश प्रकट गरे। उनले ओलीको ‘आपराधिक लापरबाही’ (क्रिमिनल नेग्लीजेन्स) का कारण भदौ २४ को हिंसात्मक घटना भएको आरोप लगाए।
‘ओलीलगायत नेताहरूले सरकारले चुनाव रोक्ने उद्देश्यले धरपकड गरिरहेको आरोप लगाइरहेका छन्, के त्यो सत्य हो?’ भनि सोधिएको प्रश्नमा मन्त्री अर्यालले भने, ‘उहाँमा सैतानी प्रवृत्ति छ, खालि भड्काउने मात्र । उहाँको विगत पनि त्यस्तै छ । आजसम्म पनि उहाँ सुध्रिनुभएको छैन । कुशासनविरुद्धमा उर्लेको जनसागर र विद्रोहले उहाँलाई अपदस्त गरेको हो । जेन–जी पुस्ताले हटाएको हो । त्यो पनि उहाँले बोध गर्नुभएन । उल्टो आन्दोलनकारीलाई आतंककारीजस्तो व्यवहार गर्ने उहाँको दिमाग सैतानी छ । त्यो प्रवृत्तिविरुद्ध सरकारले निगरानी गरिरहन्छ । जसको दिमागमै सैतानको वास छ, उसले आफूबाहेक सबैलाई बेठिक भन्छ। उहाँ अवस्था भड्काउन मात्र लाग्नुभएको सबैले बुझिसकेका छन्।’
जनआन्दोलनले नै ओलीलाई पदबाट हटाएको उनको भनाइ छ ।
‘जेन–जी पुस्ताले हटाएको हो। उहाँले त्यो बुझेका छैनन् । उल्टो आन्दोलनकारीलाई आतंककारी ठान्ने उहाँको दिमाग सैतानी हो,’ मन्त्री अर्यालले भने,‘सरकार त्यस्तो प्रवृत्तिमाथि निगरानी गरिरहेछ । जसको सोच नै विकृत छ, ऊ अरू सबैलाई दोष लगाउँछ। ओली त्यही प्रवृत्तिका प्रतीक हुन् ।’







प्रतिक्रिया