पुस्तक समीक्षा

‘तोरकीन’ समीक्षा: काव्यात्मक शैलीमा हिमाली जीवनका आरोहअवरोहको वर्णन गर्ने उपन्यास

616
Shares

काठमाडौं । टाढाबाट हेर्दा हिमालहरू निकै सुन्दर देखिन्छन् । पर्यटकहरूका लागि त्यो रोमाञ्च अनुभव गर्ने ठाउँ हो । तर, त्यस हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन सोचेजस्तो सहज छैन तैपनि उनीहरू दुःखजिलो गरेर बाँचिरहेका छन् ।

त्यस्तो संघर्षशील जीवन बिताउने पात्रका आरोहअवरोहलाई सद्यः प्रकाशित उपन्यास ‘तोरकीन’ मा वर्णन गरिएको छ ।

उपन्यासकार क्षितिज समर्पणले हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा रहेको चराङ गाउँका बासिन्दाहरूले भोगेको जीवन, उनीहरूको संस्कार संस्कृति, सोच, सम्बन्धका विभिन्न पाटा लगायतलाई काव्यात्मक रूपमा प्रस्तुत गरेका छन् ।

छेवाङ उपन्यासका नायक हुन् । उनी जन्मिनुअघि उनका पिता नामग्याल र माता छुक्कीको भेट, प्रेम, विवाह र उनको जन्मका प्रसंगहरू उपन्यासका आरम्भिक पृष्ठहरूमा वर्णन गरिएका छन् ।

नामग्यालको जीवनभोगाइको सविस्तार वर्णन केही समयसम्म हुँदै गर्दा कतै यो उपन्यासका केन्द्रीय पात्र हुन् कि जस्तो पनि लाग्न थाल्छ । तर, छेवाङको जन्म र हुर्काइको कथानक अघि बढेपछि यो उनको कथा रहेछ भन्ने थाहा हुन्छ ।

छेवाङ क्रमशः हुर्कंदै जाँदा साथी पेम्बासँग गाउँमा खेलेको, विद्यालयमा गएर कनीकुथी पढेको, विद्यालयबाट पोखरा घान्द्रुक घुम्न गएको, बुवाआमालाई चिन्तित बनाउने गरी फू गुफामा लुकेको, लोमान्थाङ पुगेर प्रेम सम्बन्धमा परेको प्रसंगहरूलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।

बीचबीचमा मुस्ताङका मौलिक चाडपर्व फाग्नी, तिजी लगायतको उत्पत्ति कथा र मिथकहरूको चर्चाले स्थानीयताको सुन्दर अनुभव गराउँछन् । मुखियाको खटनपटन, लामा गुरुहरूले रीतिरिवाज र संस्कारका विषयमा दिने निर्णय लगायत उच्च हिमाली संस्कृतिको जानकारी समेत पाठकहरूले यसमार्फत प्राप्त गर्छन् । स्थानीय लोवा भाषाका गीतहरू उपन्यासमा समावेश गरिँदा तिनले यसको आधिकारिकतालाई थप सुदृढ बनाएका छन् ।

छेवाङको जीवनकथा, हिमाली क्षेत्रको भूगोलका बिम्बहरूको भरपूर उपयोग र त्यहाँ प्रचलित संस्कृतिको मसिनो वर्णनले तोरकीनलाई ‘एथ्नोग्राफिक फिक्सन’ विधाको उत्कृष्ट कृति बनाएको छ । यस्तो किसिमको उपन्यास अनुसन्धान मात्र नभई स्थानीय वातावरणमा समय बिताएपछि मात्र सृजना गर्न सम्भव हुन्छ । त्यहाँका मानिससँगको गहिरो संवादले मात्र उनीहरूको जीवनकथाका पत्रपत्र केलाउने सामर्थ्य प्राप्त हुन्छ ।

लेखकले उपल्लो मुस्ताङमा केही समय बिताएर स्थानीयहरूसँग संवाद गरेर भूगोलसँगको आत्मीयता कायम गरेको र त्यसमा लेखकीय कल्पनाशीलतालाई मिसाएकाले उपन्यास पठनीय बनेको छ ।

भाषामा राम्रो पकड भएका लेखकले लोकेशन सेटिङ निकै उम्दा तरिकाले गरेका छन् । चराङ गाउँका मानिसको कथा भन्नुअघि चराङकै वर्णन गर्ने क्रममा लेखकले त्यसमा जीवन भरेका छन् । ‘चराङ आफ्नै सुन्दरतामा रमाइरहेको छ । दुखिरहेको छ, आफ्नै दुःखहरूसँग । बाँचिरहेको छ– आफ्नै सभ्यता, इतिहास र संस्कार बोकेर । र, उभिइरहेको छ, अनगिन्ती रहस्य बोकेर । शायद चराङ भन्दो हो, ‘सक्छौ भने कोही आऊ र खोतलिदेऊ मेरो रहस्य ! फैलाइदेऊ दूर क्षितिजसम्म ! भरिदेऊ खुशीका अनगिन्ती रङ, मेरो क्यानभासभरि ! पोतिदेऊ हृदयको झोङभरि मायाको मीठो उज्यालो ! र, गाइदेऊ प्रेमको सुमधुर गीत ! समर्पण गरिदेऊ यो संसारलाई !’ यसरी गाउँलाई समेत कल्पिन लगाउने लेखकको सामर्थ्य प्रशंसनीय छ ।

तर, उपन्यासमा प्रयुक्त संवादको भाषाले सहज पठनमा अवरोध ल्याएको अनुभव हुन्छ । उपल्लो मुस्ताङवासीहरूले अ लाई आ उच्चारण गरेर नेपाली भाषा बोल्छन् । स्थानीय लवजको सटीक प्रस्तुतिका लागि उनीहरूको बोलीलाई जस्ताको त्यस्तै राख्नु सही हो तर बीचबीचमा च्वास्स राखेको भए सुहाउँथ्यो । प्रत्येक संवादलाई त्यही लवजमा राख्दा चाहिँ अलिक झिँझोलाग्दो सुनिँदो रहेछ । ‘हाम्रा राजा जिग्मेलाई राजा माहेन्द्रले काठमान्डुमा जाग्गा पानि दिएको छा रे ! सेनाको ठूलो पाद पानि दिएको भान्छ । हाम्रो राजाले त काठमान्डु गाएर बान्दुक पाड्काउन पनि सिक्यो रे !’ यस्तो किसिमको लवज पुस्तकभरि छ ।

उपन्यासका पात्रहरू औपचारिक शिक्षा खासै हासिल नगरेका व्यक्ति हुन् र तिनले सरल ग्रामीण कुराकानी नै गर्छन् । तिनको सरल कुरामा दर्शन निहित हुन सक्छ । तर, ती पात्रहरूले संवादका क्रममा घरिघरि दार्शनिक कुरा गर्दा चाहिँ तिनीहरू बोलेको भन्दा पनि लेखक स्वयं पात्रमा हावी भएको अनुभव हुन्छ ।

अर्को कुरा, उपन्यासका पात्रहरू एउटा भूगोलबाट अर्को भूगोलमा पुग्दा गर्ने अनुभवको वर्णनमा लेखकको सानो कमजोरी देखिन्छ । छेवाङ र उनकी पत्नी कुन्साङ ऊनको व्यापार गर्नका लागि भारत गएको प्रसंग उपन्यासमा आउँछ । त्यहाँ बस्दाको उनीहरूको अनुभवमा शारीरिक सन्तापको वर्णन पाइँदैन ।

हिमाली क्षेत्रको मानिसले भारतको गर्मी वातावरणमा कस्तो उकुसमुकुस अनुभव गरेको होला, दिनहरू बिताउन कति गाह्रो भएको होला– उपन्यास पढ्दा त्यसको आभास पाइँदैन । तर, छेवाङ रोजगारीको सिलसिलामा मलेसियाको कोम्तार पुगेको बेलामा त्यहाँको उखुम गर्मी र तातो रगत भएका मानिसको ज्यादतीको सटीक वर्णन गरिएको छ ।

उपन्यासका पात्रहरूको जीवनभोगाइ देशको विकासक्रमसँग पनि नजिकैबाट जोडिएको छ । छेवाङ सानो हुँदासम्म उपल्लो मुस्ताङमा यातायातको सहज पहुँच थिएन । उनी युवावस्थामा पुग्दा बाटोघाटो बनेर तुलनात्मक सुगम बनेको छ । आधुनिकताको प्रवेशसँगै छेवाङले गाउँमा फिल्म देखाउने व्यापार सुरु गर्नु र पछि जीप पनि चलाउन थाल्नु देशविकाससँगै आएको परिवर्तन हो । नेपालमा रोजगारीको प्रशस्त अवसर नभएकाले विदेशमा श्रम बेच्न जाने नेपालीहरूको दुःखलाई पनि उपन्यासमा यथार्थपरक रूपमा देखाइएको छ ।

मलेसिया र खाडीमा दुःख गर्ने नेपालीहरूले विप्रेषण पठाउने र फर्केर आफ्नै भूगोलमा बस्ने गरेका छन् । छेवाङ पनि त्यसै गर्छन् । तर, प्रवासमै घरजम गर्ने नेपालीहरूको प्रवृत्ति मुस्ताङको गाउँमा समेत देखिन थालेपछि गाउँ नै रित्तिनेगरी स्थानीयहरू अमेरिका र अन्य पश्चिमी मुलुकमा (नभए पनि काठमाडौं वा पोखरा जस्ता सुगम ठाउँमा) बस्न थालेको प्रसंग यथार्थमा आधारित छ । प्रवासमा भासिने त्यस प्रवृत्तिले सम्बन्धमा ल्याएको फाटोलाई छेवाङ र कुन्साङको फोनवार्तामा निकै मार्मिक रूपमा वर्णन गरिएको छ । लोमान्थाङ दरबारमा देखादेख भएर प्रेमिल जोडी बन्दाखेरी छेवाङ र कुन्साङको मनमा चलेका उदात्त भावनासँग कुन्साङ विदेश पलायन भएपछि आएको उदासीनतालाई तुलना गर्दा पाठकको मन हुँडलिन्छ ।

त्यस्तै, जलवायु परिवर्तनका कारण हिमालमा आइरहेको विनाशकारी परिवर्तनलाई पनि उपन्यासले प्रसंग बनाएको छ । हिउँ पग्लिँदै गएकाले उजाड र अनाकर्षक बनेका पर्वतले जोकोहीको मन कुँडिन्छ । ‘कुनै बेला हिउँले ढकमक्क हुने मराङ गाउँमाथिको डाँडा निख्खर पहाड बनिसकेको छ । हिउँको कुनै अवशेष बाँकी छैन । सुख्खा र बञ्जर देखिन्छ । मराङ गाउँमा पनि कुनै चहलपहल थिएन । लाग्थ्यो, यी गाउँहरू उजाड मरुभूमिजस्ता भइसके ।’ यी शब्दहरूले हिमालको वर्तमान अवस्थाको मार्मिक वर्णन गरेका छन् ।

हिमालले चिनिएको मुलुक नेपालमा हिमाली क्षेत्रका मानिसको सुखदुःख र आरोहअवरोहलाई औपन्यासिक शिल्पका साथ प्रस्तुत गर्ने लेखक क्षितिज समर्पणको प्रयास स्तुत्य छ । सुरुमा अलिक सुस्त गतिमा कथानक अघि बढे पनि पढ्दै जाँदा यसको रस पाठकले आस्वादन गर्दै जान्छन् । कतिपय प्रसंग पढ्दा त्यसमा डुबेको र त्यसबाट अघि बढ्दा आनन्दको अनुभव भएको पाठकले महसुस गर्न सक्छन् । पहिलो प्रयासमै यत्तिको उम्दा कृति ल्याउन सकेकोमा उपन्यासकार बधाईका हकदार छन् ।