
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रतिपक्षी दलका नेतालाई अपमान गर्ने नियत राखेको आरोप लगाएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हालै आफू गृह जिल्ला झापाबाट फर्कंदा त्रिभुवन विमानस्थलमा सुन तस्करलाई जस्तो व्यवहार गरिएको गुनासो पोखे।
अध्यक्ष ओलीले विमानस्थलमा आफूलाई सुरक्षा जाँचको नाममा अनावश्यक हैरान पारिएको बताए।
उनले भने, ‘अस्ति म यताबाट झापा जाँदा एयरपोर्टहरूमा अलि बढी नै राम्रो व्यवहार गरियो, हिजो फर्केर आउँदा त के म सुन तस्कर हो कि जस्तो गरेर चेकजाँच गरियो, हैरान पारियो।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले विदेश जाँदा नचिनेको ठाउँमा समेत आफूलाई त्यसरी चेकजाँच नगरिने तर आफ्नै देशमा चिनेजानेकै ठाउँमा अपमान गरिएको बताए।
‘विदेश जाँदा पनि नचिनेको ठाउँमा हामीलाई त्यस्तो गर्दैनन्। नचिनेको ठाउँमा पर्यो भने बेग्लै कुरा, नेपालीहरूलाई हेप्नु हेपिसके,’ उनले भने, ‘हिजो एयरपोर्टमा त्यस्तै गरेर हेपियो। किन यस्तो गरेको भन्दा, माथिबाट आदेश आएको छ भन्छन्।’
उनले थपे, ‘यो सरकारले दुःख दिने काम तिर लागिरहेको छ, अपमान गर्ने काम तिर लागिरहेको छ। सरकारको दृष्टिकोण र मति नै नेताहरूको अपमान गर्ने खालको छ। यो जिम्मेवार सरकार होइन, असभ्य सरकार हो।’
सरकारले जतिसुकै अपमान र घेराबन्दी गरे पनि एमाले देश र जनताको पक्षमा लड्न नछोड्ने उनले स्पष्ट पारे।








प्रतिक्रिया