
काठमाडौं । ‘जेनजी’ अभियन्ता भन्दै विभिन्न सरकारी कार्यालयहरूमा धम्की दिने अर्जुन बहादुर शाही पक्राउ परे । प्रहरीले बुधबार साँझ कोटेश्वरबाट २६ वर्षीय शाहीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, शाहीको साथबाट प्रहरी सहायक निरीक्षक (असई) कुमार शर्माको परिचयपत्रसमेत बरामद भएको छ ।
प्रारम्भिक अनुसन्धानमा शाहीले चावहिलस्थित विभिन्न होटलमा बस्दा उक्त परिचयपत्र देखाउँदै आफूलाई उच्च सुरक्षा अधिकारीको रूपमा देखाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनको साथबाट सहायक निरीक्षक (असई) कुमार शर्माको परिचयपत्र बरामद भएपछि सोधपुछ गर्दा चावहिलस्थित एक होटलमा बस्नका लागि उक्त परिचयपत्र पेश गरेको उनले बताएका छन् ।
भदौ २४ को जेनजी आन्दोलनपछि उनी चावहिलका विभिन्न होटलमा बस्दै आएका थिए । असई शर्माले आफ्नो परिचयपत्र जेनजी आन्दोलनका क्रममा हराएको उल्लेख गरेका छन् ।
शाहीसँग परिचयपत्र कसरी पुगेको हो भन्ने विषयमा आफूले जानकारी नभएको उनको भनाइ छ ।
अछामको पञ्चदेवल नगरपालिका-४ का स्थायी बासी शाही फरार अभियुक्त समेत हुन्। उनी बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगी तथा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ ।
शाहीले नागरिक उड्डयन प्राधिकरण, वायुसेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा ज्ञापन पत्रको नाममा धम्की दिएका थिए।
शाहीले रामेछापको सुनापति गाउँपालिका-२ का ३ जना र अन्य ६ व्यक्तिसँग कोरिया पठाउने भन्दै पासपोर्ट लिएर, रेडस्टार मिडियाको पत्रकार बनेर ठगी गरेको खुलेको छ । पीडितहरूले प्रत्येक जनासँग करिब १२ लाख रुपैयाँ पर्ने चेक दिएका थिए, जुन पछि बाउन्स भएको उजुरी उनीहरूले काठमाडौँ प्रहरीमा गरेका छन्।
सरकार विस्तारपछि शाहीले संवैधानिक निकाय र उच्च पदस्थ सरकारी अधिकारीहरूलाई धम्क्याउन थालेपछि अनुसन्धानमा तानिएको हो ।
उनी सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि शीलत निवासमा आयोजित शपथग्रहण समारोहमा पनि सहभागी भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शाहीविरुद्ध बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगी र धम्की दिने आपराधिक गतिविधिका आधारमा आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।








प्रतिक्रिया