गतिशील पार्टीको आह्वानः संस्थानमा राजनीतिक नियुक्ति अन्त्य गरौं, क्षमतावान नेपाली मूकदर्शक बन्नु पर्दैन

280
Shares

काठमाडौं । हालैमात्र दर्ता भएको गतिशील लोकतान्त्रिक पार्टीले राष्ट्रनिर्माण र सुशासनका लागि नयाँ सोचसहितको आह्वान सार्वजनिक गरेको छ। पार्टीले अब समर्थ नेपाली मुकदर्शक भएर बस्नु हुँदैन भन्दै सोच र सामर्थ्य भएका सबै नेपालीलाई देश निर्माणको अग्रपंक्तिमा आउन आग्रह पनि गरेको छ ।

आन्तरिक उडानको अब्बल वायुसेवा कम्पनी बुध्द एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले निर्वाचन आयोगमा दर्ता गरेको गतिलो पार्टीले यस्तो आह्वान गरेको हो ।

बस्नेतसहित समाजशास्त्री दिनेश प्रसाईं, पियुषप्रसाद कायस्थसहितले पार्टी आयोगमा दर्ता गराएका छन् । पार्टीको अध्यक्षमा प्रसाईं, महासचिव कायस्थ छन् भने बस्नेत सदस्य छन् ।

पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था गरिएको छ । पदाधिकारी बाहेकका सदस्यले भने चुनाव लड्न पाउने छन् ।

पार्टीले रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई समुन्नत राष्ट्रका मूल आधार भनेको छ । पार्टीले अघि सारेको अवधारणामा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने र राज्य सञ्चालन पूर्ण पारदर्शी हुने उल्लेख छ ।

‘अबको सरकार पूर्ण पारदर्शी र भ्रष्टाचारप्रति शून्य सहनशील हुनेछ,’ पार्टीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हामीले राज्य सञ्चालनको स्पष्ट अवधारणा तयार गरिसकेका छौं र अब सबै तहका कार्ययोजना घोषणा पत्रमार्फत सार्वजनिक गर्दै जानेछौं ।’

पार्टीले सार्वजनिक संस्थानहरुलाई जनमुखी सेवा प्रदायक संस्थाको रूपमा रूपान्तरण गर्ने, त्यहाँ राजनीतिक नियुक्ति निषेध गर्ने र निजामती सेवामा बजारका उत्कृष्ट प्रतिभा भित्र्याउने प्रतिबद्धता जनाएको छ । अकर्मण्यता र जिम्मेवारीहीनता अस्वीकार्य हुने बताइएको छ ।

शिक्षा, पर्यटन, कृषि र ऊर्जालाई दिगो रोजगारी र समृद्धिका आधारका रूपमा चिनाउँदै, स्थानीय सरकार सुदृढीकरण र स्वास्थ्य सेवा विस्तारलाई पार्टीले आगामी प्राथमिकता बताएको छ । पार्टीले तिहारलगत्तै यससम्बन्धी विशेष कार्यक्रम सार्वजनिक बहसका लागि ल्याउने तयारी गरेको छ ।

वक्तव्यमा भनिएको छ, ‘विधिको शासन सर्वसाधारणका लागि मात्र नभई राजनीतिक दल, निजामती, व्यापारी र उच्च ओहदामा रहेका सबैका लागि समान रूपले लागु हुनुपर्छ ।’ गतिलो पार्टीले विगतदेखि नयाँ पुस्तासम्म सबैले ऐन र नियमको पालना गर्नुपर्ने जोड दिएको छ ।

अर्थतन्त्रको सुदृढीकरणका लागि उद्योग र उद्यमशीलतालाई राष्ट्रका प्रमुख खम्बा बताउँदै पार्टीले उद्यमशील नागरिकलाई सम्मान र प्रोत्साहन दिने प्रतिवद्धता जनाएको छ । साथै, उद्यमीहरुलाई नीतिनिर्माणमा प्रत्यक्ष सहभागी गराउने र नीतिगत भ्रष्टाचार रोक्ने कानुनी संरचना निर्माण गर्ने योजना पनि प्रस्तुत गरेको छ ।

यस्तो छ गतिशील लोकतान्त्रिक पार्टीको आह्वान

अब समर्थ नेपाली मुकदर्शक भएर बस्नु हुँदैन । जोसँग सोच एवं सामर्थ्य छ, तिनीहरुले राष्ट्रलाई सही दिशातिर डोहोर्‍याउन अगाडि आउनुपर्छ । समुन्नत राष्ट्र निर्माणमा रोजगारी, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार अहम् विषय हुन ।

अबको सरकार पूर्ण पारदर्शी र भ्रष्टाचारप्रति शुन्य सहनशील हुनेछ । राज्य सञ्चालनको अवधारणा हामीले बनाउन थालिसकेका छौं । अब सबै तप्काका कार्य योजनाहरु घोषणा पत्रमा सार्वजनिक गर्दै जानेछौं र बहसका लागि सबै पक्षलाई आह्वान गर्छौं ।

जसले गर्दा चुनाव समापन हुने बित्तिकै पहिलो दिनदेखि राष्ट्र सुशासन, समावेशी र समतामूलक समुन्नतीतिर लम्कने छ र दीगो रोजगारी सिर्जना हुनेछ । सार्वजनिक संस्थानलाई जनमुखी सेवा प्रदायक रुपमा विकास गरिनुपर्छ । ती निकायहरुमा राजनीतिक नियुक्तीलाई निषेध गरिनुपर्छ । निजामति सेवाले सिर्जनशील र बजारको श्रेष्ठ प्रतिभालाई भित्र्याउन सक्नुपर्छ ।

अकर्मण्यता क्षम्य हुनुहुँदैन । दिगो रोजगारी समृद्धिका अभिन्न अंग शिक्षा, पर्यटन, कृषि र ऊर्जा हुन् । त्यसैगरी स्थानीय सरकार सञ्चालन र स्वास्थ्य सुविधा अत्यावश्यक आधारभूत सेवा हो । यससम्बन्धी सोच र विशेष कार्यक्रम हामी तिहारलगत्तै सार्वजनिक बहसका लागि ल्याउने छौं । त्यसमा सहभागी हुन सबै पक्षलाई आह्वान गर्नेछौं । राष्ट्रमा विधिको शासन हुनुपर्छ ।

विधिको शासन सर्वसाधारणलाई मात्र नभई राजनीतिक पार्टी, निजामती, कर्मचारी, व्यापारी एवं उच्च ओहदामा बस्ने सबैका लागि हो । त्यसैले यसको पालना अक्षरशः हुनुपर्छ । विधिको शासनमा आफूखुसी गर्ने तथा ऐन नियम पालना नगरेका विगतदेखि वर्तमान पुस्ता ‘बेबी वुमरदेखि जेन जी, जेन अल्फा तथा जेन बिटा’ सबैलाई समेटिनु पर्छ । उद्योग र उद्यमशीलता अर्थतन्त्रका खम्बा हुन् ।

राष्ट्रलाई अग्रसरतातर्फ डोहोर्‍याउने सबैभन्दा छिटोछरितो माध्यम नै गतिशील अर्थतन्त्र हो । जोखिम उठाएर, सिर्जनशील भएर लगानी गरि देशमा स्वरोजगार हुने, रोजगारी सिर्जना गर्ने र राज्यलाई कर बुझाएर राज्य सञ्चालन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, विकास निर्माण आदि कार्य सम्भव बनाउने उद्यमशील व्यक्तिहरुलाई हामी प्रोत्साहन र सम्मान गर्छौं ।

हामी उनीहरुलाई पनि राजीतिमा आएर उद्यमशीलता प्रवद्र्धन गर्ने नीति निर्माणमा प्रत्यक्ष संलग्न हुन प्रेरित गर्छौं । साथै, उद्यमीहरुको राजनीतिक सहभागिता निर्विवाद र सम्मानित बनाउन, नीतिगत भ्रष्टाचार र स्वार्थ बझान नहुने निश्चित गर्न आवश्यक नीति तथा कानुन बनाउने छौं ।