
काठमाडौं । सुन र चाँदीको मूल्यले हरेक दिन कीर्तिमान बनाइरहेको छ ।
नेपालमा सुनको मूल्य तोलाको २ लाख ५० हजार ९ सय पुगेको छ भने चाँदी तोलाको ३ हजार २ सय ७० रुपैयाँ पुगेको छ ।
विश्व सेयर बजार लगातार बढिरहेकै अवस्थामा बहुमूल्य धातुहरूको यस्तो वृद्धि असामान्य मानिएको छ किनभने सुरक्षित लगानी (सेफ–ह्याभन एसेट्स) र जोखिमयुक्त लगानी (रिक्स एसेट्स) दुवै एकैसाथ बढिरहेका छन् ।
वैश्विक पूँजी बजार विश्लेषक संस्था द कोबेसी लेटरका अनुसार, सन् २०२५ मा सुन र चाँदीको मूल्यवृद्धि एसएन्डपी ५०० भन्दा चार गुणा बढी भएको छ । त्यो पछिल्ला वर्षहरूमा अमेरिकाको सबैभन्दा बलियो सेयर वृद्धिमध्ये एक हो । सुन र सेयर बजार दुवै बढ्नुले मुद्रा (फियाट करेन्सीज) माथिको विश्वास कमजोर हुँदै गएको संकेत गर्दछ ।
कोबेइसी लेटरले लेखेको छ, ‘सुन र चाँदीको मूल्यवृद्धिले के जनाइरहेको छ ? सुरक्षित लगानी र जोखिमपूर्ण सम्पत्ति दुवै बढिरहेकोमा त्यसको अर्थ मुद्रामा विश्वास घट्दैछ भन्ने लाग्छ । बजारले एआई प्रविधिमा अभूतपूर्व लगानीको मूल्यांकन गर्दैछ जसले अन्ततः अमेरिका र चीनबीच ‘एआई युद्ध’ निम्त्याउनेछ ।’
घाटा खर्च (डेफिसिट स्पेन्डिङ) र सुस्त अर्थतन्त्रमा ब्याजदर घटाउने कदमहरूले सुनचाँदीको मूल्यवृद्धि गराएका छन् । तर, अहिलेको बजार भावनामा मुख्य भूमिका कृत्रिम बुद्धिमत्ता (एआई) मा हुने भारी खर्चको अपेक्षाले पनि खेलेको छ । कोबेइसीका अनुसार, अमेरिका र चीन दुवै एआई क्षेत्रमा प्रभुत्व जमाउनका लागि पैसा छाप्ने र वित्तीय घाटा (फिस्कल डेफिसिट) बढाउने दिशातर्फ अघि बढिरहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ भने चाँदीको मूल्य ५० अमेरिकी डलर प्रतिऔंस छोएको छ । यी दुवै सन् २०२५ का नयाँ कीर्तिमान हुन् । विश्लेषकहरूका अनुसार, चाँदीको मूल्यवृद्धि सुनको भन्दा तीव्र छ किनभने यो नवीकरणीय ऊर्जा र सेमिकन्डक्टर उत्पादनमा बढी प्रयोग हुन्छ ।
सुनचाँदीको मूल्यवृद्धि मुद्रास्फीति डरको परिणामले नभई बजारको सोचमा गहिरो परिवर्तनको संकेत भएको कोबेइसी लेटरले जनाएको छ । ठूला अर्थतन्त्रहरूले ठूलो बजेट घाटा बेहोरिरहेका र केन्द्रीय बैंकहरू ब्याजदर घटाउने तयारीमा रहेका कारण लगानीकर्ताहरू वास्तविक मूल्य भएका वस्तुहरूमा पूँजी सारिरहेका छन् ।
संस्थाले यस प्रवृत्तिलाई मुद्रामा विश्वासको कमीको संकेत भनेको छ । हाल सुनचाँदीको मूल्यवृद्धिलाई पैसाको मूल्यबारे बजारको दृष्टिकोणमा आएको संरचनात्मक परिवर्तनको हिस्सा बताइएको छ ।
हालको ट्रेन्डमा तत्काल उल्टो परिवर्तनको संकेत देखिँदैन, तर कोबेइसीको विश्लेषण अनुसार सुनचाँदीको यस्तो तीव्र मूल्यवृद्धि चेतावनीको संकेत हो ।
यसैबीच, अमेरिकी लगानीकर्ता एन्टोनी पोम्पलियानोका संस्थापक र प्रमुख कार्यकारी अधिकृतले दिएको अभिव्यक्तिले लगानीकर्ताहरूबीच बहस सुरु गराएको छ । उनले सुनलाई विनाशकारी लगानी भनेका छन् र यसको प्रदर्शनलाई क्रिप्टोकरेन्सीहरूसँग तुलना गरेका छन् । उनका अनुसार, पछिल्ला पाँच वर्षमा सुनले आफ्नो खरिद शक्ति करिब ८४ प्रतिशत गुमाएको छ, जबकि बिटक्वाइनले सुदृढ मुद्रा (साउन्ड मनी) को मानक कायम गरेको छ ।
पोम्पलियानोका अनुसार, सुन अमेरिकी डलरको हिसाबले स्थिर भए पनि बिटकोइनको तुलनामा यसको मूल्य धेरै घटेको छ । उनको तथ्यांक अनुसार, अहिले एक बिटकोइनले सन् २०२० को तुलनामा १६ गुणा बढी सुन किन्न सक्छ ।
उनका टिप्पणी सामाजिक सञ्जालमा भाइरल भएका थिए । यस दृष्टिकोणले आर्थिक अनिश्चितता, भूराजनीतिक तनाव र मुद्रा अस्थिरताका बेला सम्पत्ति सुरक्षित राख्ने साधन लगायत सुनको पारम्परिक भूमिकालाई बेवास्ता गरेको आलोचकहरू बताउँछन् । सुन अझै पनि स्थिर, सजिलै बेच्न मिल्ने सम्पत्ति हो र यसले मुद्रास्फीतिका विरुद्ध सुरक्षा प्रदान गर्छ भनी उनीहरू जोड दिन्छन् ।
तर, कतिपय लगानीकर्ताहरू पोम्पलियानोको विचारसँग सहमत पनि छन् । उनीहरूका अनुसार, आजको तीव्र गतिशील वित्तीय बजारमा सुनको उपयोगिता घट्दै गएको छ । अन्य कतिपयले भने सुन र बिटकोइनको तुलना गर्नु एकपक्षीय भएको बताएका छन् किनभने दुवै सम्पत्तिहरूको उद्देश्य फरक हुन्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने सुन र क्रिप्टोकरेन्सी दुवै समावेश भएका विविधीकृत लगानीले स्थायित्व र वृद्धिको सन्तुलन दिन सक्ने बताएका छन् । विशेषगरी संकटका समयमा अन्य वित्तीय प्रणाली असफल हुन सक्ने भएकाले सुन र क्रिप्टोकरेन्सीमा लगानी उपयुक्त हुने उनीहरूको भनाइ छ ।







प्रतिक्रिया