
काठमाडौं । पर्यटक आउँदा उनीहरुले गर्ने खर्चबाट नेपालले गर्ने आम्दानीभन्दा नेपालीले बाहिर घुमेर गर्ने खर्च ४ गुणाभन्दा बढी देखिएको छ । सरकारको तथ्यांकले पर्यटकीय गन्तव्यका रूपमा परिचित नेपालले विदेशी आउँदा लिने लाभ नेपालीहरूले विदेश घुम्न जाँदा गर्ने खर्चभन्दा निकै कम रहेको देखाएको हो ।
नेपालमा पर्यटक आउँदा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो २ महिना (साउन/भदौ)मा ११ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेका छन् । तर यही अवधिमा नेपालीले बाहिर गएर गर्ने खर्च भने ४७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यो खर्च २१ अर्ब साउनमा थियो भने भदौमा २६ अर्ब रुपैयाँ नेपालीले विदेशी घुम्न जाँदा लगेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
यस्तो तथ्यांकमा पर्यटक आउँदा नेपालले गर्ने आम्दानी भने पछिल्लो दुई महिनामा मासिक औसत साढे ५ अर्ब रुपैयाँ मात्रै छ ।
सरकारले पर्यटकले गरेको खर्चलाई भ्रमण आम्दानीको रुपमा राख्ने गरेको छ ।
तथ्यांक अनुसार नेपालीले यो वर्ष दशैं अगाडि नै विदेश घुमघाम गर्दा ४७ अर्ब रुपैयाँ सकेका छन् । यस्तो खर्च अघिल्लो वर्ष २०८१/८२ को पहिलो २ महिनामा ४३ अर्ब ४९ करोड रुपैयाँ रहेको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिमा नेपालमा पर्यटक आउँदा भएको आम्दानी जम्मा १० अर्ब ५३ करोड रुपैयाँ मात्रै छ ।
नेपालमा विदेशी पर्यटक वर्षेनी बढ्दै गइरहेको तथ्यांक आइरहेको भएपनि उनीहरुले यहाँ आएर गर्ने खर्चभन्दा पनि बढी नेपाली बाहिर गएर गर्ने खर्चको हिस्सा निकै फराकिलो देखिन्छ । कोरोनाकालमा पनि नेपालीको विदेशी जाने र खर्च गर्ने क्रम नरोकिएको तथ्यांकले देखाएको छ ।
कोरोना कालमा घटेको नेपाल आउने र नेपालबाट घुम्न बाहिरिने पर्यटक पछिल्लो समय भने बढिरहेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार कोरोना अगाडि २०७६/७७ को पहिलो २ महिनामा नेपालको भ्रमण खर्च १४ अर्ब ८५ करोड थियो भने त्यतिबलाको भ्रमण आय ११ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।
कारोनापछि २०७७/७८ को सोही अवधिमा नेपालीको भ्रमण खर्च २ अर्ब ९२ करोड रुपैयाँ रहेको देखिएको छ भने त्यतिबेला नेपालको भ्रमण आय ९७ करोड ३७ लाख रुपैयाँमात्र रहेको तथ्यांकले देखाएको छ ।








प्रतिक्रिया