बोतल र जारको प्रशोधित पानीमा बढी शुल्क लिए कारवाही गर्ने सरकारको चेतावनी

140
Shares

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागले मंगलबार एक सूचना प्रकाशित गरी दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लास्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो ।

विभागले काठमाडौंं उपत्यकामा एक लिटर बोतलको पानी १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँँ निर्धारण गरेको छ । यस्तै, २० लिटर जारको पानीको काठमाडौं उपत्यकाका लागि ४७ रुपैयाँ र उपत्यका बाहिरका लागि ६० रुपैयाँ निर्धारण गरिएको जनाएको छ ।

यसअघि पानी व्यवसायीले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए ।

विभागले तोकिएको भन्दा बढी रकममा पानीको बोतल तथा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने सूचनामार्फत जनाएको छ ।

विभागले पानी विक्रेताले तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गरेको पाइएमा विभाग वा मातहतका कार्यालयमा सूचना दिन आम सर्वसाधारणमा अनुरोध गरेको छ ।