पर्यटन क्षेत्रबाट ८८ अर्ब आम्दानी, एकै महिनामा ७९ उद्योगबाट ६ अर्ब वैदेशिक लगानीको प्रतिवद्धता

126
Shares

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमनसँगै विदेशी मुद्रा सटहीमार्फत पर्यटन क्षेत्रले एक वर्षमा ८८ अर्ब ६६ करोड रुपैयाँ आम्दानी गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८१/८२) को तथ्यांक अनुसार नेपालमा उक्त वर्ष ११ लाख ४६ हजार पर्यटक भित्रएका र उनीहरुबाट पर्यटन क्षेत्रले गरेको आम्दानी साढे ८८ अर्ब रुपैयाँ भन्दा बढी रहेको उल्लेख छ ।

तथ्यांक अनुसार पर्यटकीय सिजन मानिने र पर्वतारोहणकोसमेत मौसम भएका चैत वैशाखामा आउने पर्यटक संख्या तुलनात्मक रुपमा अरु महिनामा कम हुन्छ । यो दुई महिनामा हुने पर्यटन क्षेत्रको आम्दानी पनि वर्षभरीका अरु महिनाको तुलनामा धेरै हुने गरेको ।

वसन्त ऋतु हिमाल आरोहणको मौसम भएकोले र सगरमाथासहितका आरोहण अनुमति तथा पर्यटक आगमनले गर्ने खर्चका कारण उक्त समयमा अरु महिनाको भन्दा बढी आम्दानी हुने गरेको छ । गत आर्थिक वर्षको चैतमा नेपालमा १ लाख २४ हजार पर्यटक आउँदा पर्यटन क्षेत्रले गरेको आम्दानी ९ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

वैशाखमा भने १ लाख ५ हजार पर्यटक आउँदासमेत ९ अर्ब १६ करोड रुपैयाँ आम्दानी गरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार पर्यटकीय सिजन कात्तिक महिनामा चैतपछि धेरै पर्यटक आएका छन् । कात्तिकमा १ लाख २३ हजार पर्यटक नेपाल भित्रिएका छन् । कात्तिकमा नेपाल आएका पर्यटकबाट भएको आम्दानी ९ अर्ब १४ करोड रहेको पनि तथ्यांकले देखाएको छ ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको टुरिजम इन्साइट्समा राखिएको राष्ट्र बैंकको साउन २०८२ को तथ्यांक अनुसार पर्यटन क्षेत्रबाट उक्त महिनामा ५ अर्ब ३७ करोड रुपैयाँ आम्दानी भएको छ ।

यस्तो आम्दानी गत आर्थिक वर्ष २०८१/८२ को साउनमा पर्यटन क्षेत्रबाट भएको आम्दानी ४ अर्ब ७७ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्षको साउनमा नेपालमा पर्यटन क्षेत्रबाट भएको आम्दानी १२.७० प्रतिशतले बढेको देखिएको छ ।

पर्यटन उद्योगमा एकै महिनामा ६ अर्बको वैदेशिक लगानी प्रतिवद्धता


पर्यटन उद्योगमा एकै महिनामा ६ अर्बको वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको छ । उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को भदौमा मात्रै ७९ वटा पर्यटन उद्योग दर्ता भएका छन् ।

यी उद्योगले ६ अर्ब ६९ करोड रुपैयाँको लगानी प्रतिवद्धता गरेको छन् । यस्तो लगानी प्रतिवद्धता भदौ महिनामा नेपालमा आएका कुल वैदेशिक लगानीका २३६ उद्योगमा हुने ३३ अर्ब रुपैयाँ लगानीको २० प्रतिशत हो ।

गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षमा भने नेपालमा विदेशी लगानीका ३०४ वटा पर्यटन उद्योग दर्ता भएका र यसले २६ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता गरेको पनि विभागको तथ्यांकले देखाएको छ ।