नेविसंघले पनि दियो बालेन र सुधनविरुद्ध प्रहरीमा जाहेरी

427
Shares

काठमाडौं । नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दिएको छ ।

नेविसंघका केन्द्रीय सदस्य मनिषजंग थापा, अशोक सिंह बिष्ट र विजय शाहले संयुक्त रूपमा हस्ताक्षर गरी आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका हुन् । उनीहरूको जाहेरीलाई आवश्यक अध्ययनपछि दर्ता प्रक्रिया पूरा गर्ने जनाएको छ ।

भदौ २३ र २४ गते जेन–जी समूहले सञ्चालन गरेको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी कार्यालय तथा नेताहरूका आवासमा तोडफोड र आगजनी भएका थिए।

नेविसंघले सो घटनामा विद्यालय पोसाक लगाएका विद्यार्थीहरूलाई प्रयोग गरेर आन्दोलनमा घुसपैठ गराएको, राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको र सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराउन भूमिका खेलेको आरोप लगाउँदै मेयर शाह र गुरुङविरुद्ध काठमाडौं र ललितपुर प्रहरी परिसरमा किटानी जाहेरी दिएको जनाएको छ।

यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि यही विषयमा शाह र गुरुङविरुद्ध जाहेरी दिएको थियो ।