जेनजी आन्दोलनअघि प्रचण्डको घरबाट ‘दुईवटा ट्रकमा दुई करोड लगिएको’ हो ?

3.8k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले ‘जेनजी आन्दोलनपूर्व प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको’ भन्ने दाबीलाई पूर्णतः निराधार र मनगढन्ते भन्दै खण्डन गरेको छ ।

सचिवालयका तर्फबाट गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिमा उक्त दाबी तथ्यविहीन, पूर्वाग्रही र चरित्रहत्या गर्ने उद्देश्यले प्रवाह गरिएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएका यस्ता तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीको प्रवाहप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भत्र्सना गर्दछौं।’

सचिवालयले त्यससँगै ‘सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको’ र ‘गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको’ भन्ने जस्ता दाबीहरू पनि पूर्णतः असत्य रहेको स्पष्ट गरेको छ।

जेनजी आन्दोलनका क्रमा २४ भदौमा प्रचण्ड र उनका छोरीहरू (रेणु दाहाल र गंगा दाहाल)को घरमा आगजनी भएको थियो । आन्दोलनपछि नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीले टिकाराम यात्रीसँगको अन्तर्वार्तामा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा लोड गरेर दुई करोड रुपैयाँ अन्यत्र लगिएको दाबी गरेपछि दाहालको सचिवालयले प्रमाणित गर्न चुनौती दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई ती दाबीहरूको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं ।’

माओवादी केन्द्रले संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको दुरुपयोग गर्दै असत्य, एकतर्फी र प्रायोजित सामग्री प्रसारण गरिनु पत्रकार आचारसंहिता र कानूनी मापदण्डको उल्लङ्घन भएको उल्लेख गरेको छ ।

सचिवालयले डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचार–प्रसारहरू साइबर कानुनविपरीत भएको भन्दै सम्बन्धित निकायहरूलाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस्ता तथ्यहीन र दुरासयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्षमाथि नै रहनेछ।’

साथै, सचिवालयले आम जनतालाई यस्ता भ्रामक र कपोलकल्पित प्रचारप्रति विश्वास नगर्न र भ्रममा नपर्न अपिल गरेको छ।