रास्वपाले उच्चस्तरीय संवादका लागि स्वर्णिम वाग्लेलाई दियो जिम्मा

441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्य पक्षसँग हुने उच्चस्तरीय राजनीतिक संवादको संयोजनका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको छ ।

पार्टीको सचिवालय बैठक असोज २२ र २४ गते बसेर वाग्लेलाई विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग संवाद तथा सहकार्यका प्रयास समन्वय गर्ने जिम्मा दिने निर्णय गरेको हो ।

रास्वपाका प्रवक्ता मनिष झाले वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि वाग्लेले उच्च संवाद समिति संयोजन गर्ने बताए । पार्टीले विगतमा गठन गरेका विभिन्न वार्ता समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन वाग्लेलाई जिम्मा दिइएको हो ।

त्यस्तै, रास्वपाले पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आगामी कार्तिक १४ र १५ गते चितवनमा गर्ने निर्णय गरेको छ । उक्त बैठकका लागि केन्द्रीय सदस्य तथा पूर्व सांसद हरि ढकालको संयोजकत्वमा विस्तारित बैठक व्यवस्थापन समिति गठन गरिएको छ ।

बैठकले असोज तेस्रो साता भएको जल उत्पन्न विपदका कारण प्रभावित क्षेत्रहरूमा पार्टी पंक्तिबाट गरिएको उद्धार तथा राहत कार्यको प्रशंसा गर्दै राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउन पार्टी केन्द्रबाट सक्दो सहयोग गर्ने निर्णय पनि गरेको छ।