
काठमाडौं । सरकारले नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको मोटरसाइकल र्यालीमा रोक लगाएको छ ।
२५ गते शनिवार युवा संघले पुनर्जागरणका लागि मोटरसाइकल र्याली गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएको हो ।
फरक फरक समूहहरुले काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा मोटरसाईकल र्याली तथा सभा गर्ने भनी सूचना प्राप्त हुन आएको भन्दै प्रशासनले गत भाद्र २३ गतेको जेनजी आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरुमा भएको क्षति समेतका घटनाहरु हुन पुगेले शान्ति सुरक्षाको स्थिति बनाईराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्यहरु सुरु भएको जनाएको छ ।
‘विभिन्न समूहहरुबाट हुने भनिएका र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ,’ प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्वद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ ।’
राष्ट्रिय युवा संघ नेपालले भोलि दिउँसो १ बजे तीनकुनेबाट मोटरसाइकल र्यालीको तयारी गरेको छ ।










प्रतिक्रिया