रास्वपाको बैठक बस्दै: कुलमान, बालेनसँगको छलफलबारे के होला ?

609
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको विस्तारित बैठकका एजेन्डा तथा व्यवस्थापन, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता, आगामी अभियान र सद्भाव यात्रासम्बन्धी कार्यसूची लगायतका विषयमा छलफल हुने बताइएको छ ।

रास्वपाका अनुसार असोज २२ गतेको बैठकको निरन्तरतामा आजको सचिवालय बैठक बोलाइएको हो ।

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे धारणा बनाउन रास्वपाले असोज ७ र ८ गते केन्द्रीय समिति बैठक राखेको थियो । उक्त बैठकले नयाँ शक्ति र व्यक्तिहरूसँग छलफलका लागि केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो, जसमा गणेश कार्की र टीका संग्रौला (ज्वाला) सदस्य रहेका छन् ।

कार्यदलले तोकिएका सबै पक्षहरूसँग छलफल गरेको र ती छलफलहरू सकारात्मक रहेको जनाइएको छ । आजको सचिवालय बैठकमा सो कार्यदलको प्रगतिबारे पनि जानकारी गराउने तयारी छ ।

हर्क साम्पाङबाहेकका सबै पक्षसँग संवाद भएको र जेनजी समूह, गोपी हमाल, बालेन्द्र शाहलगायत स्वतन्त्र व्यक्तिहरूसँगको छलफल सकारात्मक दिशामा अघि बढेको बताइएको छ ।

बालेन शाहले आफू कुनै पदमा नबस्ने, तर वैकल्पिक ठूलो राजनीतिक शक्ति निर्माणको प्रयासमा रास्वपालाई समर्थन गर्ने बताइएको छ । उनले रवि लामिछानेलाई संस्थापक र कुलमान घिसिङलाई सभापति बनाउँदा आफू समर्थकको भूमिकामा रहने बताएको शिलापत्रको समाचारमा उल्लेख छ ।

तर, रास्वपा नेता दीपक बोहोराले भने रविलाई हटाएर कुलमानलाई सभापति बनाउने कुरा मिडिया ट्रायलको रूपमा आएको दाबी गरेका छन् ।

उनका अनुसार रास्वपा सीके राउतदेखि गोपी हमाललगायत नयाँ राजनीतिक शक्ति, समूह र व्यक्तिहरूसँग संवादमा रहेको छ।

‘बालेन र कुलमानहरूसँग त पार्टी गठनअघि नै संवाद हुँदै आएको हो,’ उनले भने, ‘जेनजी आन्दोलनपछि कार्यदल बनाएर नयाँहरूसँग छलफल अघि बढाएका हौं, तर कुनै व्यक्ति वा दलसँग पद वा भूमिकाबारे कुनै वार्ता भएको छैन।’

उनले थपे, ‘सभापति रवि लामिछाने झूटो मुद्दा खेपेर एक्लै पुराना र नयाँ सबै शक्तिसँग लडिरहेका बेला भित्रबाहिरबाट अनावश्यक विवाद नगरौं।’