गौरीबहादुर कार्की नेतृत्वको आयोग स्वीकार्य छैन: ओली

203
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी विद्रोहमाथि सरकारी दमनबारे छानबिन गर्न बनेको आयोग र त्यसको प्रतिवेदन एमालेका लागि अस्वीकार्य हुने स्पष्ट बताएका छन् ।

भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले आयोगको गठन नै पूर्वाग्रही व्यक्तिहरूबाट गरिएको भन्दै त्यसले निष्पक्ष प्रतिवेदन दिन नसक्ने आरोप लगाए । ‘पहिले नै केपी ओलीलाई समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरूलाई राखेर आयोग बनाउने, त्यसले छानबिन गरेर प्रतिवेदन दिने र त्यसैको आधारमा अघि बढ्ने नाटक गर्ने-यस्तो नाटक नेकपा एमालेलाई मञ्जुर छैन, स्वीकार्य छैन,’ ओलीले भने ।

सरकारले २३ भदौको जेनजी विद्रोहमाथि सरकारी दमनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । तर आयोग प्रमुख कार्कीले विद्रोहको समयमा सामाजिक सञ्जालमा लेखेको स्टाटसप्रति एमाले नेताहरूले आपत्ति जनाउँदै उनको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

‘आयोगमा बस्नुभन्दा अगाडि नै पक्षपातपूर्ण अभिव्यक्ति दिइसकेको व्यक्ति अहिले निष्पक्ष हुन सक्छ र ? नैतिकताको आधारमा उनलाई तत्काल राजीनामा दिनु पर्थ्यो’ उनले भने ।

ओलीले वर्तमान सरकार संविधानअनुसार नभई “बलमिच्याइँले बनेको” आरोप पनि लगाए । उनले भने, ‘अहिले देशमा असामान्य परिस्थिति छ । संविधान अनुसार बनेको होइन, बलमिच्याइँले बनेको सरकार छ । प्रधानमन्त्री सुशीला कार्कीले शर्त राखेर मात्र शपथ लिइन्-संसद् भंग गर्ने सिफारिस गर्ने भए मात्र प्रधानमन्त्री हुने भनेर ।’

ओलीका अनुसार संसद् भंग नभए देशभर जेनजीले आगो बाल्ने चेतावनीसमेत दिइएको थियो ।

उनले संविधानको व्याख्या गर्ने हैसियत राख्ने सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीशले नै संविधानविपरीत प्रधानमन्त्री बनेको भन्दै टिप्पणी गरे । ओलीले भने, ‘पूर्वन्यायाधीश, प्रधानन्यायाधीश कुनै पनि सरकारी पदमा बस्न मिल्दैन, प्रधानमन्त्रीमा त झन् कुरै छैन । तर, उहाँ जेनजी आन्दोलनमा सडकमा उत्रिनुभयो र त्यसकै आधारमा प्रधानमन्त्री बन्नुभयो ।’

ओलीका अनुसार प्रधानमन्त्री बन्नकै लागि सुशीला कार्की २३ र २४ गते सडकमा सक्रिय देखिएकी थिइन् ।