बालेनको योजनामा आफूसहित ओली र लेखकलाई समात्न खोजिएको बस्नेतको दाबी

105
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन शाहको योजनाअनुसार आफूहरूलाई पक्रन खोजिएको आरोप लगाएका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले बालेनकै योजनाअनुसार आफू र केपी ओली तथा रमेश लेखकलाई पक्राउ गर्न दबाब अभियान चलाइएको दाबी गरे ।

सामाजिक सञ्जालमा ‘हामीलाई पक्राउ गर्नुपर्छ’ भनेर ट्रेन्ड चलाउने र प्रधानमन्त्री तथा गृहमन्त्रीको सल्लाहमा डेलिगेसन पठाइएको समेत दाबी गरे।

बस्नेतले सुधन गुरुङलाई विदेशीहरूको एजेण्टको रूपमा प्रयोग गरी उच्च सरकारी बैठकमा पठाइएको आरोप लगाए । जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने उनको माग छ।

त्यस्तै, उनी रवि लामिछानेलाई जेलबाट रिहा गराउन नख्खु कारागार पुगेका डिपी अर्याल, मनिष झा, ज्वाला संग्रौला लगायतका व्यक्तिहरूको बारेमा पनि छानबिन गर्नुपर्ने बताए ।

बस्नेतले आफूलाई पक्राउ गर्न पटक-पटक प्रयास भइरहेको बताए ।

बस्नेतले आफ्नो आवाज दबाउन षड्यन्त्र भएको र पाँच महिनाअघि प्रमाण नपुगेर तामेलीमा राखिएको मुद्दा हाल दबाबमा खोलिएको बताए । उनले भने, ‘म भाग्न चीन या भारत जाँदिन यहीँ बस्छु। मलाई समातेर देखाउनुस्। लोकतन्त्र, राष्ट्रियता र विधिको शासनका लागि एक पटक होइन, सयौँ पटक जेल जान तयार छु।’