
काठमाडौं । प्रहरीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखविरूद्धको जाहेरी लिएर जाँचबुझ आयोगमा पठाएको छ । जेनजी आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर बालबालिकाको हत्या गरेको आरोपमा मृतक परिवारका सदस्य तथा जेनजी समूहले दिएको निवेदन प्रहरीले नलिएर सीधै आयोग पठाएको हो ।
भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवारले दिएको जाहेरी दर्ता गर्न अस्वीकार गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले यो प्रकृतिको मुद्दा जाँचबुझ आयोगको कार्यक्षेत्रमा पर्ने भएकाले जाहेरी आयोगमा पठाइएको बताए । उनले भनेका छन्, ‘चार जनाको तर्फबाट जाहेरी आएको थियो, हामीले आयोगको कार्यक्षेत्रमा पर्ने भएकाले त्यहाँ पठायौं ।’
सरकारले जेनजी आन्दोलनमा भएको दमनबारे अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग बनाएको थियो ।
जेनजी आन्दोलनका क्रममा ‘सामूहिक हत्या’ भएको दाबी गर्दै आन्दोलनकारीले ओली र लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै जाहेरी दर्ताको प्रयास गरेका थिए । प्रहरीले जाहेरी नदर्ता गरेपछि सोमबार राति र मंगलबार दिनभर जिल्ला प्रहरी परिसरमा तनावपूर्ण स्थिति बनेको थियो ।
भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिसकेको छ । आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने म्यान्डेट छ । आयोगले गोली चलाउने सुरक्षाकर्मीदेखि आदेश दिने तहसम्मका व्यक्तिहरूको भूमिका अध्ययन गरेर राय दिनुपर्नेछ ।







प्रतिक्रिया