
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायललाई गाजामाथि बमवर्षा रोक्न आग्रह गरेको भए पनि आक्रमण रोकिएको छैन ।
आइतवार राति पनि इजरायलले गाजाका विभिन्न भागमा आक्रमण जारी राखेको थियो ।
तैपनि गाजामा हमासको कब्जामा रहेका बन्दीहरूको रिहाइ र शान्तिवार्ताका लागि ट्रम्प आशावादी देखिएका छन् ।
हमाससँगको सम्झौता वार्ता सकारात्मक रूपमा अघि बढिरहेको ट्रम्पको भनाइ छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको शान्ति योजनाप्रति हमासले जनाएको प्रतिक्रियालाई स्वीकार गर्न नखोजेको भए पनि ट्रम्पले नेतान्याहुमाथि दबाब बढाइरहेका छन् ।
विगतमा अमेरिका र इजरायलबीच तनाव भएको खबर आए पनि त्यसलाई युद्ध लम्ब्याउने योजनाका रूपमा हेरिएको थियो ।
तर, यसपालि इजरायलले गाजामा गरिरहेको नरसंहारले राजनीतिक क्षति गरिरहेको विषयमा अवगत रहेका ट्रम्पले नेतान्याहुलाई शान्ति कायम गर्नका लागि दबाब दिइहेका छन् ।
सोमवार इजरायल र हमासका प्रतिनिधिबीच इजिप्टमा अप्रत्यक्ष वार्ता भइरहेको छ । त्यो सकारात्मक रूपमा अघि बढिरहेको ट्रम्पको भनाइ छ ।
गाजामा भइरहेको युद्धलाई अन्त्य गर्नका लागि ट्रम्पले २० बुँदे शान्ति योजना सार्वजनिक गरेका छन् । त्यसले गाजामा मात्र नभई मध्यपूर्वमै शान्ति ल्याउने ट्रम्पको भनाइ छ ।
यसअघि पनि युद्धविरामका प्रयास भएका थिए । सन् २०२३ मा युद्ध सुरु भएलगत्तै र सन् २०२५ को आरम्भतिर सानो युद्धविराम भए पनि लडाइँ चलिरह्यो ।
यसपालि पनि युद्धविराममा विभिन्न बाधाव्यवधान छन् ।
ट्रम्पको शान्ति योजनामाथि हमासले जनाएको प्रतिक्रियामा कैयौं विषयको सम्बोधन हुन बाँकी छ । उदाहरणका लागि, आफू निःशस्त्र हुने विषयमा हमासले स्पष्ट कुरा गरेको छैन । ट्रम्पको योजना र इजरायलको लक्ष्य पनि हमासको निःशस्त्रीकरण हो ।
नेतान्याहुले ट्रम्पको योजनालाई स्वीकृति दिएका छन् । तर, यस योजनामुताबिक बेग्लै प्यालेस्टाइनी राज्य बनाउने बाटो खुल्नेछ र नेतान्याहुले त्यसको अनुमति कदापि नदिने भन्दै आएका छन् ।
इजरायली सैनिकहरू गाजामा कहिले बाहिरिने र कुन सीमामा बस्ने अनि गाजामा कसले भविष्यमा शासन चलाउने भन्ने विषय पनि स्पष्ट छैन ।
इजरायल र हमासले आफ्नो प्रस्तावमा सहमति जनाउनेबित्तिकै युद्ध अन्त्य हुने ट्रम्पको दाबी छ । तर, हमासले ट्रम्पका सबै २० बुँदालाई समग्र रूपमा स्वीकृति दिएको छैन । मध्यस्थकर्ताहरूमार्फत यस प्रक्रियाको विस्तृत छलफल गर्ने हमासको भनाइ छ ।
ट्रम्पको योजनामुताबिक सबै जीवित र मृत बन्दीहरूलाई ७२ घन्टाभित्र मुक्त गरिनेछ । तर, कुन समयदेखि त्यो ७२ घन्टाको म्याद सुरु हुने निश्चित छैन ।
बन्दी हस्तान्तरण गर्ने विषयमा चुनौतीहरू छन् । हमासनिकट स्रोतका अनुसार, जीवित बन्दीहरूलाई हस्तान्तरण गर्न सहज छ तर मृत बन्दीको शरीरलाई गाजाको भग्नावशेषबाट निकाल्न समय लाग्नेछ ।
सन् २०२३ मा हमासले आक्रमण गर्दा २५१ जनालाई बन्दी बनाएको थियो । तीमध्ये ४८ बन्दी अझै पनि हमासको कब्जामा छन् । तीमध्ये २० जना जीवित छन् ।








प्रतिक्रिया