बाहिरिने समयमा मनसुन सक्रिय, यी जिल्ला बाढीपहिरोको उच्च जोखिममा

3.3k
Shares

काठमाडौं । आजदेखि नेपालमा मनसुन सक्रिय भएर भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

भोलिदेखि आगामी तीन दिनसम्म देशका धेरै स्थानमा हल्कादेखि भारी र अति भारी वर्षाको सम्भावना छ।

मौसमी पात्रोलाई मान्ने हो भने ठ्याक्कै आजका दिन नेपालबाट मौसम बाहिरिनुपर्ने हो। सरदर नेपालमा अंग्रेजी पात्रोअनुसार जुन १३ मा मनसुन नेपाल भित्रन्छ र अक्टोबर २ तारिखका दिन बाहिरिन्छ।

तर आज अक्टोबर २ तारिखका दिन नेपालमा मनसुन थप सक्रिय भएको छ। आज बडादशैं पनि। आजदेखि सक्रिय भएको मनसुनले देशका धेरै ठाउँमा क्षति पुर्‍याउन सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यस वर्ष सरदर मितिभन्दा १५ दिन अगावै (मे २९ अर्थात जेठ १५ गते) नेपालमा मनसुन भित्रिएर पूर्वी नेपालमा सुरुमै क्षति पुर्‍याएको थियो। बाहिरिने समयमा पनि मनसुन थप सक्रिय भएर देशका विभिन्न ठाउँमा क्षति पुर्‍याउन सक्ने पूर्वानुमान गरिएको छ। मनसुन कति दिनपछि बाहिरिने हो पूर्वानुमान भएको छैन।

आज ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौँसहित १७ वटामा ‘एल्लो अलर्ट’

बाढी महाशाखाका अनुसार आज देशका ठूला नदीहरू कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाब उल्लेख्य मात्रामा बढ्ने सम्भावना छ। 

यसैगरी आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको जानकारी बाढी महाशाखाले दिएको छ। 

काठमाडौँसहित माथि उल्लिखित १७ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्ट पनि दिएको छ। 

यसैगरी ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, कास्की, तनहुँ, स्याङजा, म्याग्दी, बाग्लुङ, पर्वत, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, प्युठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना छ। 

भोलिदेखि भारी वर्षाको सम्भावना

आजदेखि मनसुन सक्रिय भएको भए पनि आज भारी वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै आज कोशी प्रदेशको तराई र पहाडी भागका साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

भोलि (शुक्रबार) देखि आगामी तीनदिनसम्म देशका धेरै ठाउँमा हल्कादेखि मध्यम र भारीका साथै अति भारी वर्षा हुने पूर्वानुमान रहेको छ।

भोलि शुक्रबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भागका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार असोज १८ गते देखिभने भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ।

असोज १९ गते पनि अतिभारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालिका कारण असोज १९ गते देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका भारीदेखि धेरै भारी वर्षा रहेको छ भने यी प्रदेशकै एकदुई स्थानमा अति भारी वर्षा रहेको महाशाखाले जनाएको छ।