पारसले भनेः पहिलो म्याच खेल्न नचाहेपछि बाँकी २ खेलमा सन्दीपलाई निलम्बन गरिएको थियो

3.7k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेलाई वेस्ट इन्डिजविरूद्धको पछिल्लो दुई खेलमा निलम्बन गरेको जनाएको छ ।

क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिजबीच तीन खेलको टी–२० सिरिजको पहिलो खेलमा मैदानमा उत्रन नमानेपछि क्यानले टोली व्यवस्थापनको सिफारिसमा सिरिजका बाँकी खेलमा सन्दीपलाई निलम्बन गरिएको बताएका हुन् ।

सन्दीपले खेल सुरू हुनु ४५ मिनेट अघि आफू स्वयमले उत्त म्याच नखेल्ने निर्णय गरेका थिए ।

यसरी खेलाडीले राष्ट्रिय टोलीप्रति जिम्मेवारी र शिष्टाचार पालन नगरेको भन्दै क्यान उक्त कदम चालेको हो ।

राष्ट्रिय टोलीले अबको मुख्य लक्ष्य अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आइसीसी मेन्स टी–२० विश्वकप एसिया/ईएपी फाइनल प्रतियोगिता रहेको क्यानले जनाएको छ। यस प्रतियोगिताका लागि टोलीलाई उच्च मनोबलसहित तयार पार्नुपर्ने भन्दै क्यानले सबै क्रिकेटप्रेमीलाई समर्थन गर्न आह्वान पनि गरेको छ।