मौसमविद्को चेतावनी : गत वर्षको दशैंमा जस्तै ‘भारी’ वर्षाको सम्भावना, वितण्डा मचाउन सक्ने भन्दै सचेत रहन आग्रह

1.3k
Shares

काठमाडौं । मौसमविद्हरुले गत् वर्षको दशैंमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

मौसमविद्हरुले अघिल्लो वर्षको दशैं अवधीमा परेको अविरल वर्षा र त्यसपछि आएको ठूलो बाढी पहिरोजस्तै लक्षण यो वर्षको दशैं अवधीमा रहेको भन्दै सचेत रहने चेतावनी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा विनोद पोखरेलले अब ‘भारी’ वर्षाको सम्भावना रहेको बताएका छन्।

उनले अक्टोबर ३ देखि ७ (असोज १७–२१) सम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्,‘फोरकास्ट (मौसम पूर्वानुमान) नमिलोस् भनेर अझै कामना गरौँ, तर, पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ ।’

अहिले तीन मोडेलले उक्त अवधिमा भारी वर्षा हुने देखाएको उनको भनाई छ। पोखरेलले पोखरेलले किसानलाई सचेत बनाउनुपर्ने बताएका छन्। उनले भनेका छन्,‘भारी वर्षा लगभग ३-४ दिन सम्म हुने देखिएकोले कृषकहरूलाई बेलैमा जानकारी गरिदिनु होला ।’

उनका अनुसार भोलिदेखि वर्षा हल्का हुँदै बिहीबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने उल्लेख गरेका छन्। उनले यस वर्ष हिले दसैँ हुने बताए।

मौसम पूर्वानुमान शाखाले पनि आज बिहान जारी बुलेटिनमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।

गत वर्ष असोज १० देखि १३ गतेसम्म देशभर भारी बर्षा भएको थियो। यता भारतले असोज १७–१९ गतेसम्म सिक्किम, पश्चिम बंगाल, बिहारमा भारी वर्षाको ‘अलर्ट’ जारी गरिसकेको छ ।

गत असोज अन्तिम सातातिर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण समग्र मुलुकले ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार रुपैयाँबराबरको क्षति व्यहोरेको थियो ।

गत् असोज २६ गतेदेखि २८ गतेसम्म परेको अविरल वर्षासँगै ठूलो बाढी पहिरो आएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरेर सार्वजनिक गरेको प्रतिवेदन अनुसार बाढी पहिरोका कारण साढे ४६ अर्ब रुपैयाँबराबरको क्षति भएको थियो ।

यसमध्ये सबैभन्दा बढी भौतिक पूर्वाधारतर्फ क्षति भएको छ । प्राधिकरणको प्रतिवेदन अनुसार भौतिक पूर्वाधारतर्फ ३८ अर्ब ९२ करोड ३४ लाख ३५ हजार रुपैयाँबरावरको क्षति भएको थियो ।