इसुजु बेच्ने नेसनल मोटर्स टायरमा निर्भर, कुल व्यापारमा गाडी बिक्री ७ प्रतिशतमात्र

378
Shares

काठमाडौं । नेपालमा इसुजु कम्पनीका गाडि बेच्ने कम्पनीको मुख्य आम्दानी गाडी भन्दा पनि टायर बिक्री रहेको पाइएको छ । नेपालका लागि इसुजुको आधिकारिक वितरक नेशनल मोटर्सले गत आर्थिक वर्षमा सवा १ अर्ब रुपैयाँको व्यापार गरेकामा गाडी बेचेर ७ प्रतिशतमात्र आम्दानी गरेको हो ।

इसुजुले गत आवमा १ अर्ब २० करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ९ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ४६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । सन् १९९८ मा स्थापना भएको कम्पनीमा सञ्जयकुमार अग्रवालको पूर्ण स्वामित्व छ । नेशनल ग्रुपद्वारा प्रबद्र्धित कम्पनीले अटोमोबाइल क्षेत्रको लाइट व्यवसायिक सवारी साधन, अटो स्पेयर्स र सबै प्रकारका टायर र ट्यूबको व्यापार गर्दै आएको छ ।

कम्पनीअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा २५ प्रतिशतले व्यापार घटेको थियो । तर, सन् २०२५ मा भने बढेको पाइएको छ ।

कम्पनीले गत आवमा गरेको व्यापारमा टायर, सवारी साधन, बेटल नट्स, बिटुमिनबाट उच्च कारोबार भएको उल्लेख छ । कम्पनीले सन् २०२४ मा व्यापार गरेकोमध्ये ७२ प्रतिशत हिस्सा टायरको थियो । कम्पनीअनुसार टायरबाट मात्रै सन् २०२४ मा ७५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै गत आवमा उक्त हिस्सा बढेको पाइएको छ । गत आवमा टायरबाट ९३ प्रतिशत अर्थात् १ अर्ब ६ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

गत आवमा व्यापार बढेपनि नाफा भने घटेको पाइएको छ । गत आवमा कम्पनीले ८ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । सन् २०२४ मा ९ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।

इजुजु मोटर्स विश्वभर प्रख्यात ब्रान्ड रहेको छ । उक्त ब्रान्डको व्यवसायिक सवारी साधन र डिजेल इन्जिन विश्वका १ सय ५० वटाभन्दा बढी देशमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विश्वका ३७ वटा देशको बजारमा पहिलो ब्रान्ड रहेको छ । कम्पनीले विगत लामो समयदेखि पिकअप ट्रक सेग्मेन्टमा उच्च व्यापार गर्दै आएको छ । कम्पनीले आफ्नो व्यापार विस्तार गर्दै २५ वटा देशमा कारोबार सुरु गरेको छ भने सामग्री डेलिभर गरेर १ सय ५० वटा देशमा बिक्री वितरण गर्दै आएको छ ।

त्यस्तै, नेपालको लागि आधिकारिक विक्रेता नेसनल मोटर्सको देशभर ७ वटा डिलर छन् । कम्पनीको काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्ज, उर्लावारी, सुर्खेत र नारायगढमा डिलर छन् ।

कम्पनीको जडीबुटीमा र विराटनगरमा सर्भिस सेन्टर छन् । त्यसैगरी तीन वटा शोरुम छन् । कम्पनीको विराटनगरमा सवारी साधनको शोरुम र दुई वटा शोरुम टायर स्पेयर्स पार्टस्को कुलेश्वर र तिनकुनेमा रहेको उल्लेख छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३२ करोड ९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८७ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको हो ।