
तर्क, बुद्धि, विवेकको आधारमा कुनै पनि विषय जान्न, मनन गर्न र व्यवहार गर्न सिकाएर बुद्धले यस धर्तिलाई गणितीय सटीकताको आधारमा विचार गर्न सक्ने तार्किकताको उपहार दिनुभएको छ । हुनत उहाँको सिकाइको धज्जी उडाइएका उदाहरणहरू हाम्रो समाजमा जताततै देख्न सकिन्छ ।
उहाँलाई निन्दनीय भनेर लेखिएका तथाकथित धार्मिक ग्रन्थहरू होस् वा बुद्धलाई भगवान् मानेर धार्मिक पन्थ खडा गरी चीवर धारण गर्नेहरू हुन्, सबैले उहाँको तार्किकतालाई तिलाञ्जली दिएका छन् भन्नु अन्यथा हुँदैन । यस विषयलाई थप सरल तरिकाले बुझ्न अंगुत्तर निकाय पढ्न सकिन्छ, जसलाई बुद्धवाणीको रूपमा लिइएको छ ।
यसमा भनिएको छ कि ठूला–बडाबाट सुनेको आधारमा कुनै पनि कुरामा विश्वास नगर्नुहोस् । पुस्तादेखि हस्तान्तरण गरिएको भन्ने आधारमा परम्परामा आँखा चिम्लिएर विश्वास नगर्नुहोस् । धेरैले बोलेका छन् वा धेरैले मानेका छन् भन्ने आधारमा कुनै पनि कुरामा विश्वास नगर्नुहोस् ।
कुनै पनि धार्मिक ग्रन्थ वा पुस्तकमा लेखिएको आधारमा सिधै विश्वास नगर्नुहोस् । आफ्ना गुरुहरू र मान्यजनहरूले भनेका आधारमा मात्र कुनै कुरामा विश्वास नगर्नुहोस् । कुनै पनि कुरामा विश्वास गर्नु पूर्व त्यस विषयमा विश्लेषण र अवलोकन गर्नुहोस् । जब उक्त कुरा तर्कसंगत लाग्छ र धेरैको हित तथा लाभको लागि अनुकूल हुन्छ, तब मात्र स्वीकार गर्नुहोस् र त्यसैलाई आधार बनाएर जीवन जिउनुहोस् ।
छब्बीसय वर्ष अगाडि जन्मिएर, उक्त बेलाको समाजमा यस्ता तर्कशील कुरा सिकाउने तथागत बुद्धलाई भगत वा भगवान् भनेर सम्बोधन गर्नु आजको भाषामा धार्मिक हुनु सरह नठहरियोस् भन्न चाहन्छु । ब्राह्मणवाद, ब्राह्मणधर्म अर्थात् विभिन्न धर्मका ब्राह्मण, पादरी, मौलानाद्वारा लिखित वा मौखिक किताब (ग्रन्थ) र फतवामा पिल्सिएको समाजमा बुद्धका सबै विचार र उपदेशहरू विष सरह हुनु स्वाभाविक मान्नुपर्छ । नालन्दा र तक्षशिलाका भग्नावशेष होस् वा बामियानका मूर्ति—यी सबै यसको तीतो यथार्थ हुन् । यस्तो सयौं उदाहरण हामी देख्न सक्छौं ।
बुद्धलाई अवतार बनाइनु अर्को क्रूर सौन्दर्य हो । जसको जग नै घृणा, विराग, अप्रिति, द्वेषयुक्त छ, उसले बुद्धको तर्कशीलतालाई आफ्नो समाजमा स्थान दिन कदापि सक्दैन । यो सत्य हो, र अनेकौं शताब्दीदेखि प्रचलनमा आएको छ । तर जतिसुकै कुलुषित मानसिकताका धार्मिक भए पनि उसले बुद्धको चार आर्यसत्यलाई नकार्न भने कदापि सक्दैनः दुःख छ, दुःखको कारण छ, दुःख निवारण गर्न सकिन्छ, र दुःख निवारण गर्ने मार्ग छ । यस संसारमा दुःख छ, संसार दुःखमय छ ।
रोग, निराशा, चिन्ता, असन्तोष आदि मानवका दुःखहरू हुन् । दुःख अकारण उत्पन्न हुँदैन, यसको कारण हुन्छ । बुद्धले हामीलाई आफ्नै चित्तको अवलोकन गर्न सिकाउनुभएको छ । घृणा, रिस, लोभ जस्ता अनेकौं वेविचारका कारण मानव दुःखी हुन्छ । तथागत भन्नुहुन्छ-हामीले यी सबै दुःख भोगेर बसिरहनु पर्दैन । यी दुःखका कारण पत्ता लगाएर तिनलाई जरैदेखि उखेल्न सकियो भने निवारण सहज छ । यथार्थबारे मानवलाई जुन भ्रम छ, त्यसलाई हटाउन सकियो भने हामीले दुःख भोग्नु पर्दैन । त्यस्तै भगत भन्नुहुन्छ- दुःख नाशको सरल उपाय भनेको प्रेम नै हो ।
बुद्धले चार आर्यसत्यसँगै आठ आर्य अष्टाङ्गिक मार्गको अनुसरण गर्न पनि भन्नुभएको छ—सम्यक दृष्टि (जस्तो छ त्यस्तै देख्न सक्ने), सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक प्रयास, सम्यक जीवन, सम्यक स्मृति र सम्यक समाधि (निर्वाण प्राप्त गर्नु) । तर तथाकथित वादको आडमा आफूलाई देवताका प्रिय वा देवताका माध्यमबाट अप्राकृतिक रूपमा जन्मिएका वंशज मान्नेहरूलाई यी विषय पाच्य भएनन् । त्यसर्थ, तिनीहरूले आफ्ना ग्रन्थहरूमा बुद्धलाई धेरै गाली गरे । दशौँ–एघारौँ शताब्दी सम्म आउँदा उनीसँग सम्बन्धित सबै ज्ञान, शिप, शिल्प र अन्य वस्तुहरूलाई विलुप्त पारे । तथापि आजपर्यन्त त्यस्तो सोच भएकाहरूका उत्तराधिकारीहरू बुद्धका नाममा आफूलाई विदेशमा भजाइरहेका छन् ।
सत्मार्गतर्फको पहिलो कदम भनेको नै तार्किक कदम हो । अर्थात् तार्किकतै सत्य हो । त्यसै कारण बुद्धधर्ममा शब्द, किताब वा कुनै ग्रन्थलाई प्रमाणको रूपमा लिइँदैन । जबसम्म कुनै विषय तर्क, बुद्धि र विवेक अनुरूप खरो उत्रिँदैन, तबसम्म त्यसलाई विश्वास गर्न सकिँदैन-चाहे त्यो कुनै जातक कथा वा अन्य किताबमा लेखिएको किन नहोस् । भगत बुद्धका विचारलाई सरल तरिकाले बुझ्दा के थाहा पाइन्छ भने उहाँले अतीत र भविष्यलाई महत्व दिनुभएको छैन, वर्तमान क्षणलाई केन्द्रमा राख्न सुझाव दिनुभएको छ । सत्यवाणीलाई अमृतवाणीको रूपमा लिएर बुद्धले सत्यमात्र बोल्न प्रेरित गर्नुभएको छ । त्यस्तै खराबलाई खराबले वा घृणाले समाप्त गर्न सकिन्न, त्यसलाई प्रेमले मात्र जित्न सकिन्छ । बलिरहेको दियोबाट धेरै दियोमा प्रकाश दिन सकिन्छ; त्यसै गरी एउटा खुशी बाँड्दा धेरै खुशी बढ्दै जान्छ । यससँगै बुद्ध भन्नुहुन्छ—जीवनमा तीन चीजलाई कहिल्यै लुकाउन सकिँदैन: सूर्य, चन्द्र र सत्य ।
यस्ता तार्किक कुरा समाजमा राख्ने बुद्धलाई आज तिलस्मी बनाएर पुजिएको देख्दा उहाँले सिकाउनुभएको तार्किकताको उपहास भएको अनुभूति हुन्छ । त्यसकारण उहाँलाई अवतार बनाउनु एक क्रूर सौन्दर्य हो । बुद्धको नाममा रुढिवाद, अन्धविश्वास, अतार्किकता र असंगतालाई प्राथमिकता दिएर समाजमा चलाउनु ठूलो अपराध हो । तसर्थ, तार्किक बनौँ, अतार्किक होइन ।







प्रतिक्रिया