
एजेन्सी । चीनको सिचुआन प्रान्तमा रहेको पर्वत माउन्ट नामामा ग्रुप सेल्फी लिन लागेका एक व्यक्तिको मृत्यु भएको छ ।
गत मंगलवार यो त्रासदीपूर्ण घटना भएको हो ।
समुद्र सतहभन्दा ५ हजार ५ सय ८८ मिटरको उचाइमा रहेको नामा पर्वतमा ती व्यक्तिले पर्वतारोहण टोलीको नेतृत्व गरिरहेका थिए । हिउँमा टेकेर चढिरहेको बेलामा उनले सुरक्षाका लागि बाँधेको डोरी फुस्काएर आफूसहित टोलीको सेल्फी लिन खोजेका थिए ।
त्यसक्रममा उनी चिप्लेर तल उपत्यकामा पुगे र तत्कालै उनको मृत्यु भयो ।
घटनाको भिडियो सार्वजनिक भएपछि सबैजना स्तब्ध भएका छन् ।
ती पर्वतारोहीको शरीर बरामद भइनसकेको अधिकारीहरूले बताएका छन् ।
आधिकारिक स्वीकृति नलिइकनै उक्त पर्वतारोहण गरिएको अधिकारीहरूको भनाइ छ ।
टोली माउन्ट नामाको चुचुरोमा पुग्नै लाग्दा दुर्घटना भएको थियो । सुरक्षा डोरी खुस्काएपछि पर्वतारोही भीरबाट गुल्टिएका थिए ।
उनले आफूलाई सम्हाल्ने प्रयास गरेको भए पनि रोक्न सकेनन् र तल उपत्यकामा गएर बज्रिए । उनको तत्कालै प्राण गयो ।
उनको टोलीका साथीहरूले उनलाई बचाउनै सकेनन् र मृत्यु भएको हेर्न बाध्य भए ।
माउन्ट नामा निकै सुन्दर दृश्य र सजिलै चढ्न सकिने भएकाले पर्वतारोहीहरूको आकर्षणको केन्द्र हो । तर, सन् २०२३ मा उक्त पर्वतमा ५० मिटर लामो खोँच देखिएपछि अधिकारीहरूले यो पर्वन चढ्न प्रतिबन्ध लगाएका छन् ।
पर्वतारोहण टोलीले अनधिकृत रूपमा माउन्ट नामा चढेपछि यस्ता क्रियाकलापमा कडा निगरानी गर्न माग उठेका छन् ।








प्रतिक्रिया