
काठमाडौं । नेपालमा जेनजी आन्दोलनका क्रममा भएको हिंसाका कारण अमेरिकाको विदेश मन्त्रालयले ट्राभर एड्भाइजरीलाई अद्यावधिक गरेको छ ।
अमेरिकाका नागरिकले नेपाल भ्रमण गर्ने सोच बनाएको हो भने त्यसमा पुनर्विचार गर्न विदेश मन्त्रालयले आग्रह गरेको छ ।
भदौ २३ र २४ मा भएको विरोध प्रदर्शन हिंस्रक बनेपछि अमेरिकाले ट्राभल एड्भाइजरीलाई लेभल २ बाट लेभल ३ बनाएको हो । लेभल २ मा अत्यधिक सतर्कता अपनाउने सुझाव दिइन्छ भने लेभल ३ मा यात्राका विषयमा पुनर्विचार गर्न भनिन्छ । लेभल ४ मा चाहिँ यात्रामा प्रतिबन्ध लगाइन्छ ।
विरोध प्रदर्शनका कारण मानिसहरू मृत्यु भएको र घाइते पनि भएको जानकारी दिँदै नेपालमा चेतावनी नदिइकनै थप प्रदर्शन र कर्फ्यु लगाइन सक्ने सम्भावना रहेको पनि ट्राभल एड्भाइजरीमा उल्लेख छ । अमेरिकी नागरिकहरूलाई स्थानीय अधिकारीको निर्देशन पालन गर्न, भीडभाड भएको ठाउँतिर नजान र यात्रा गर्नुअघि स्थानीय होटल, टूर अपरेटर वा एयरलाइन्ससँग अद्यावधिक जानकारी लिन पनि विदेश मन्त्रालयले सुझाव दिएको छ । विमानस्थल पुग्नुअघि एयरलाइन्ससँग यात्राको योजना कन्फर्म गर्न पनि भनिएको छ ।
नेपालमा आकस्मिक सेवाहरूको सीमित क्षमता रहेको, सेवाप्रवाहमा ढिलासुस्ती हुने गरेको र काठमाडौं तथा पोखराका केही होटलमा आगजनी पनि भएको ट्राभल एड्भाइजरीमा उल्लेख छ । अमेरिकी सरकारमा निर्भर नरही यात्रुहरूले आकस्मिक स्थितिका लागि तयार हुनुपर्ने, स्थानीय सञ्चारमाध्यमका सामग्री हेर्नुपर्ने, पहिले बनाएका योजनालाई मिलाउन तयार हुनुपर्ने, अल्पकालीन सूचनाका आधारमा होटल खाली गर्नुपर्ने र अमेरिकी दूतावासबाट जारी हुने अद्यावधिक विवरण प्राप्त गर्नका लागि स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राममा सहभागी हुनुपर्ने आग्रह पनि विदेश मन्त्रालयले गरेको छ ।
नेपालमा यू अर्थात् अनरेस्ट (अशान्ति) सहितको ट्राभल एड्भाइजरी जारी गरेर अमेरिकाले नेपालमा हिंसा वा उल्लेख्य अस्थिरता हुन सक्ने आशंका रहेको जनाएको हो ।









प्रतिक्रिया