जुबीन गर्गको रहस्यमय मृत्युपछि असमका मुख्यमन्त्री भन्छन्, नेपाल जस्तो हुन दिँदैनौं

1.2k
Shares

एजेन्सी । भारतको असम राज्यका मुख्यमन्त्री हिमन्ता विश्व शर्माले गायक जुबीन गर्गको मातृभूमिलाई नेपाल जस्तो बन्न नदिने बताएका छन् ।

गत साता सिंगापुरमा असमका लोकप्रिय गायक गर्गको रहस्यमय मृत्यु भएको थियो । उनको मृत्युको शोक मनाइरहेका असमीहरूले न्यायको माग गरिरहेका छन् । असमीहरूको आक्रोशले राज्यमा अस्थिरता आउन सक्ने आशंका गरिएको छ ।

गर्गको मृत्युमा श्यामकानु महन्त, सिद्धार्थ शर्मा र शेखर गोस्वामीको हात रहेको भन्दै उनीहरूका विरुद्ध अनेकौं प्रहरी चौकीमा जाहेरी दर्ता भएका छन् । महन्त सिंगापुरमा पूर्वोत्तर महोत्सवका आयोजक हुन् भने शर्मा गर्गका व्यवस्थापक हुन् ।

उनीहरूको बेवास्ताका कारण गर्गको मृत्यु भएको आरोप लगाइएको छ । सिंगापुरका अधिकारीहरूले गर्ग पानीमा डुबेकाले मृत्यु भएको बताएका छन् ।

महन्त र शर्माका विरुद्ध वारेन्ट जारी भएको मुख्यमन्त्री हिमन्ताले बताए । उनीहरूलाई विदेश जानबाट रोक लगाइएको जानकारी पनि उनले दिए । सिंगापुरमा बसिरहेका आठ अन्य असमीहरूलाई सीआईडीले बोलाएको छ ।

सामाजिक सञ्जालमा लाइभ सेसनमा बोल्दै शर्माले भने, ‘कानूनले कसैलाई पनि छोड्दैन । तिमी दोषी छौ भने तिमीलाई दण्ड दिइनेछ । तिमी निर्दोष छौ भने तिमीलाई छोडिनेछ । तर, तिमी जवाफदेहिताबाट भाग्न सक्दैनौ । यो जुबीनको असम हो र हामी यसलाई अर्को नेपाल बन्न दिँदैनौं । जुबीनको जीवनको प्रत्येक क्षणलाई अनुसन्धान गरिने म विश्वास दिलाउँछु ।’

गर्गको पोस्टमोर्टम रिपोर्ट लगभग पूरा भएको र घटनाका विषय थप प्रकाश पारिने उनले बताए । गर्गको शरीरलाई असम ल्याएपछि दोस्रो पोस्टमोर्टम गरिएको थियो ।