
एजेन्सी । नेपालमा सत्तापरिवर्तन गराउने जेनजी आन्दोलनका प्रमुख पात्रका रूपमा रहेका सुदन गुरुङले जनताको इच्छा भएमा आफू प्रधानमन्त्री पदको उम्मेदवार बन्ने बताएका छन् ।
अलजजीरालाई शनिवार अन्तर्वार्ता दिँदै गुरुङले आफूभन्दा सक्षम व्यक्ति प्रधानमन्त्री बनेको हेर्न चाहेको तर जनताले चाहेमा आफू निश्चित रूपमा प्रधानमन्त्री पदको उम्मेदवार बन्ने भनाइ राखे ।
आगामी निर्वाचनमा आफूहरू विजयी हुने पनि उनले बताए ।
जेनजी आन्दोलनले नेपालमा जवाफदेहिता, पारदर्शिता र संस्थागत सुधारका लागि सशक्त आवाज उठाएको गुरुङको भनाइ छ । यस आन्दोलनलाई उनले लामो समयदेखि विद्यमान संस्थागत कमजोरी, भ्रष्टाचार र युवाको आवाजलाई गरिएको बेवास्ताको प्रतिकारका रूपमा अर्थ्याए ।
संसारभरि युवाहरूको नेतृत्वमा भएका विरोध प्रदर्शनबाट प्रभावित भएको तर यो नेपालको धरातलीय यथार्थमा अडिएको उनको भनाइ छ । राजनीतिक अभिजात वर्गप्रतिको विरक्ति, इमान्दार शासकप्रतिको चाहना र संरचनागत परिवर्तनको मागले नै जेनजीलाई आन्दोलनका लागि प्रेरित गरेको गुरुङले दाबी गरे ।
जेनजी अभियन्ताहरूले परम्परागत शक्ति संरचनालाई चुनौती दिन नडराएको र राजनीतिक दलहरूलाई जवाफदेही बनाउनका लागि प्रयास गरेको उनको भनाइ छ । युवाले हिंसामार्फत नभई निरन्तर विरोध प्रदर्शन, सामाजिक सञ्जालको उपयोग तथा सार्वजनिक दबाबमार्फत आन्दोलन चलाइरहने उनले बताए ।
जनताले चाहेमा आफू प्रधानमन्त्री पदका लागि लड्न पनि तयार रहेको उनको भनाइ छ ।
यसलाई उनले व्यक्तिगत महत्त्वाकांक्षाका रूपमा नभई जेनजी आन्दोलनलाई संस्थागत गर्ने प्रयासका रूपमा अर्थ्याए । युवा राजनीतिबाट बाहिर नबसेर त्यसमा सहभागी भएर आकार दिनुपर्ने उनको भनाइ छ । चुनावमा भाग लिँदा नीति र शासनमा प्रत्यक्ष प्रभाव पार्न सकिने र विरोध मात्रले त्यो लक्ष्य हासिल नहुने उनले बताए ।
तर राजनीतिमा प्रवेश गर्दा इमान्दारी, जवाफदेहिता, समावेशिता र सेवाभाव जस्ता आन्दोलनलाई अगाडि बढाउने सिद्धान्तहरू कम्जोर हुन हुँदैन भन्नेमा उनी स्पष्ट छन् । राजनीतिक भूमिकामा पनि सुदनले आफूलाई पुरानो नेता जस्तो नभई जनताको सेवकको रूपमा देखेको बताएका छन् ।
भविष्यको बाटो बाटो सजिलो नभएको, चुनौती धेरै भएको सुदन बताउँछन् । युवाले ल्याउने परिवर्तनलाई विद्यमान राजनीतिक दलहरूल अस्वीकार गर्न सक्ने उनको भनाइ छ । कम अनुभव भएको नयाँ पुस्ताले शासनको जटिलता सम्हाल्न सक्ला त भनी भित्र र बाहिर दुवैतर्फबाट शंका रहेको उनले बताए । मतदाताले विशेषगरी परराष्ट्रनीति, आर्थिक संकट र गहिरो चासोका विषयहरूमा जेनजी उम्मेदवारको क्षमतामा शंका गरेको कुरा आफूले बुझेको उनले बताए ।
जनतालाई विश्वास दिलाउनका लागि तयारी, सहकार्य र विगतमा भएका गल्तीबाट सिक्नुपर्नेमा सुदनले जोड दिएका छन् । आन्दोलनको नैतिक बलले जेनजीलाई फाइदा दिने तर त्यससँगै नीतिगत योजना, प्रशासनिक क्षमता र समावेशी नेतृत्व पनि आवश्यक भएको उनको विश्वास छ ।
उनको भनाइमा जेनजी आन्दोलनलाई दीर्घकालीन राजनीतिक शक्तिमा रूपान्तरण गर्ने लक्ष्य छ । उनले आगामी चुनावलाई वैधता स्थापित गर्ने ठूलो अवसरका रूपमा हेरेका छन् । युवा प्रतिक्रियात्मक मात्र नभई शासनमा पनि सक्रिय हुने सन्देश आगामी चुनावले दिने उनको भनाइ छ ।
आफूहरूले जित्ने र त्यो चुनावी जीत मात्र नभई नेपालकै राजनीतिक संस्कृतिमा परिवर्तन ल्याउने उनले बताए । आन्दोलनको बलमा स्थापित युवा जमातले गहिरो संरचनागत सुधार, भ्रष्टाचार नियन्त्रण, जनप्रतिनिधिको जवाफदेहिता र नागरिक आवाजलाई ठाउँ दिने उनले दाबी गरे ।
उनले समावेशितामा पनि जोड दिए । आन्दोलनले काठमाडौं मात्र नभई ग्रामीण क्षेत्र, उपेक्षित समुदाय र सीमान्तीकृतको आवाज पनि समावेश गर्नुपर्ने उनको भनाइ छ । युवाको राजनीति अर्को विशेष समूहमा सीमित रह्यो भने यसको उद्देश्य हराउने उनले बताए ।
राजावादी शक्तिहरूसँग आफूहरूले सहकार्य नगर्ने उनको भनाइ छ । तर, उनीहरू झण्डा त्यागेर एकताबद्ध हुन आएमा उनीहरूलाई पनि वार्तामा ल्याउने उनले बताए । देशविकासका लागि अग्रसरता देखाएमा राजावादी समूह र अन्य राजनीतिक दलसँग पनि आफूहरूले कुराकानी गर्ने उनको भनाइ छ ।
युवाको सहभागितालाई दलीय स्वार्थ वा शक्तिको खेलमा फसाइयो भने आन्दोलनको आत्मा हराउने गुरुङको भनाइ छ । आन्दोलन परिवर्तनका लागि दबाब दिने माध्यम भएको बताउँदै उनले यसको संस्थागत रूपान्तरण हुनैपर्ने भनाइ राखे ।
नेपाली युवामाथि विश्वास प्रकट गर्दै सुदन गुरुङले युवासँग संख्या, सूचनामा पहुँच र परिवर्तन माग्ने नैतिक साहस पनि रहेको बताए । उनका अनुसार, आगामी चुनाव दलहरूबीचको प्रतिस्पर्धा मात्र नभई नेपालमा युवाको आवाज र जवाफदेहिताको भविष्य तय गर्ने जनमतसंग्रह पनि हो ।








प्रतिक्रिया