
काठमाडौं । मुक्तिनाथ विकास बैंकले वाणिज्य बैंकमा स्तरोन्नतीको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विशेष प्रस्ताव सहित १९ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले कात्तिक १५ गते साधारणसभाको मिति तोकेको छ । सभा पोखरामा बस्नेछ ।
बैंकको १९ औं साधारण सभामा प्रस्ताव भएबमोजिम पुँजी वृद्धि पश्चात् विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिका आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव गरेको हो ।
बैंकले साधारणसभामा हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत ४.६७ प्रतिशत नगद लाभांश गरी १८.२० प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाबाट पारित गर्नेछ ।
बैंकले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८१/८२असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु पारित गर्नेछ । यस्तै बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको आव २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
यस्तै विशेष प्रस्तावमा बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँको १३.५३ प्रतिशतले हुने रकम ९५ करोड ३४ लाख ५० हजार ७१८ रुपैयाँ बोनस सेयर वितरण पश्चात चुक्ता पुँजी ८ अर्ब ३ लाख ८९ हजार पुग्नेछ । त्यस्तै गत वर्ष पारित भएको १ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको जारी तथा चुक्ता पुँजी ९ अर्ब ३ लाख ८९ हजार पुर्याउने प्रस्ताव पारित गर्ने र सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने प्रस्ताव लैजाने भएको हो ।
बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा प्राप्ति/समाहित गर्न उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने तथा मर्जरसँग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसमामा लैजाने भएको छ ।
साधारणसभाका लागि असोज ३१ गते एक दिनका लागि बुक क्लोजको मिति तोकिएको छ । अर्थात् असोज २० गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् भने लाभांशका लागि योग्य हुनेछन् ।








प्रतिक्रिया