इरानमाथि लगाइयो ‘स्न्यापब्याक’ प्रतिबन्ध, के हुनेछ परिणाम ?

567
Shares

एजेन्सी । पश्चिम एसियामा तनाव चर्किएको बेलामा इरानमाथि आइतवारबाट ‘स्न्यापब्याक’ प्रतिबन्ध लगाइएको छ ।

‘स्न्यापब्याक’ भन्नाले राष्ट्रसंघले इरानमाथि लगाएको प्रतिबन्ध फेरि लागू हुने भनी बुझिन्छ । करिब एक दशकअघि इरानको विवादित आणविक कार्यक्रममा नियन्त्रण गर्ने जेसीपीओए सम्झौतापछि यी प्रतिबन्धहरू हटाइएका थिए ।

फ्रान्स, जर्मनी र बेलायतले आफूहरूसँग विकल्प नरहेको भन्दै स्न्यापब्याक लागू गरेको जनाएका छन् । इरानले सम्झौता अनुसारका प्रतिबद्धता पूरा नगरेको उनीहरूले आरोप लगाएका छन् । अब फेरि प्रतिबन्ध लागेपछि तेहरान अझै अन्तर्राष्ट्रिय निगरानीबाट टाढा जाने सम्भावना बढेको छ ।

प्रतिबन्ध स्थायी रूपमा अक्टोबर १८ मा अन्त्य हुने तयारी थियो । तर जेसीपीओए सम्झौता अनुसार, कुनै पक्षले प्रतिबद्धता पूरा नगरेको ठानेमा इरानमाथिको प्रतिबन्ध पुनः लागू गर्न सकिन्थ्यो ।

गत अगस्ट महिनामा,युरोपेली वार्ताकारहरूले राष्ट्रसंघ सुरक्षा परिषद्लाई इरानले “लगभग सबै प्रतिबद्धता उल्लंघन गरेको” बताएका थिए । त्यसपछि युरोपले स्न्यापब्याक प्रक्रिया सुरु गर्ने तयारी गरेको थियो । अगस्टमा इरानलाई एक महिनाको चेतावनी दिइएको थियो ताकि अक्टोबरमा रुस सुरक्षा परिषद्को अध्यक्ष बन्नुअघि नै यो प्रक्रिया सुरु होस् ।

यसै महिना इरानी विदेशमन्त्री अब्बास अराग्ची र अन्य अधिकारीसँग धेरै बैठक भए पनि कुनै प्रगति भएन । इरानले कूटनीतिक समाधान खोज्ने, अन्तर्राष्ट्रिय एजेन्सी (आईएईए) को निगरानी मान्ने र ४०० किलोभन्दा बढी प्रशोधित युरेनियम कहाँ छ भन्ने विवरण दिने माग युरोपेलीहरूले गरेका थिए ।

इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता पनि सुरु गर्नुपर्ने माग युरोपेली देशहरूले गरेका छन् ।

इरानले आणविक हतियार बनाउन खोजेको भनी पश्चिमी शक्तिहरू र इजरायलले लामो समयदेखि आरोप लगाउँदै आएका छन् । तर, तेहरानले भने आफ्नो कार्यक्रम शान्तिपूर्ण भएको दाबी गरेको छ ।

यसै महिनामा आईएईए र इरानबीच फेरि आणविक भट्टी निरीक्षण सुरु गर्ने सम्झौता भएको थियो । तर युरोपेली कूटनीतिकर्मीहरूले भने यसलाई अस्पष्ट र भरोसायोग्य नभएको बताएका छन् । आईएईएलाई आणविक भट्टीमा सीमित र इरानको सर्वोच्च सुरक्षा परिषद्ले तोकेको शर्तमा मात्र पहुँच दिने अराग्चीले बताएका छन् । युरेनियम भण्डार कतिपय ठाउँमा आणविक केन्द्रको भग्नावशेषभित्र गाडिएको हुन सक्ने उनले बताए ।

आइतवारबाट स्न्यापब्याक प्रतिबन्ध सुरु हुनुअघि फ्रान्स, जर्मनी र बेलायतका विदेशमन्त्रीहरूले संयुक्त विज्ञप्तिमा इरान र सबै राष्ट्रलाई यी प्रस्तावहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरेको बताए ।

तेहरानले बारम्बार प्रतिबद्धता तोडेको भन्दै उनीहरूले स्न्यापब्याकको विकल्प नरहेको दाबी गरे । तर, यसले कूटनीतिक वार्ताको सम्भावना समाप्त नगर्नेमा पनि उनीहरूले जोड दिए ।

शनिबार इरानले पेरिस, बर्लिन र लन्डनस्थित आफ्ना राजदूतहरू फिर्ता बोलाएको छ । अराग्चीले राष्ट्रसंघीय सुरक्षा परिषद्लाई पत्र लेख्दै तीन युरोपेली राष्ट्रको कदमलाई “प्रक्रियाको दुरुपयोग” भनेका छन् ।

स्न्यापब्याकले सन् २००६–२०१० सम्म राष्ट्रसंघले लगाएको प्रतिबन्धलाई फर्काएको हो । यसमा हतियार प्रतिबन्ध, मिसाइल प्रविधि रोक, तेल र वित्तीय क्षेत्रमा रोकलगायत पर्छन् ।

तर, यो निर्णय चीन र रुसका हकमा बाध्यकारी हुँदैन । यी दुई देश इरानका निकट सहयोगी हुन् ।

अमेरिका भने पहिले नै जेसीपीओएबाट बाहिरिएको थियो । राष्ट्रपति डोनल्ड ट्रम्पको पालामा अमेरिकाले ‘अधिकतम दबाब’ नीति अपनाएर इरानमाथि कडा प्रतिबन्ध लगाएको थियो । स्न्यापब्याकले युरोपलाई अमेरिकी नीतितर्फ डोर्‍याएको देखिन्छ ।
इरानले स्न्यापब्याको विरोध गरेको छ । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले ‘स्न्यापब्याक’ बाट समाधान ननिस्कने भएकाले दिमाग लगाएर नयाँ बाटो खोल्नुपर्ने बताए ।

उनी इरानले आणविक अप्रसार सन्धि छोड्ने कुनै योजना नबनाएको बताउँछन् ।

युरोपेली परिषद्ले संयुक्त राष्ट्रसंघ र युरोपेली प्रतिबन्धको आर्थिक असर अमेरिकाले लगाएजति गम्भीर नहुने जनाएको छ । तर भविष्यमा नयाँ सम्झौता भई राष्ट्रसंघको प्रतिबन्ध हटे पनि युरोपले त्यसलाई पछ्याउने निश्चित नभएको उसको भनाइ छ ।
तर, सैन्य आक्रमणको पीडा भोगिसकेको इरानलाई स्न्यापब्याकले युरेनियम प्रशोधन पूरै रोक्न बाध्य पार्न नसक्ने परिषद्को भनाइ छ ।

यसअघि इरानी अधिकारीहरूले स्न्यापब्याक लागू भएमा आईएईएको निरीक्षण बन्द गर्ने चेतावनी दिएका थिए । कतिपयले चाहिँ यसले इरानलाई अप्रसार सन्धि नै छोड्न बाध्य पार्ने बताएका छन् ।

तर, राष्ट्रपति पेजेश्कियानले प्रतिबन्ध फेरि लाग्दा पनि इरानले अप्रसार सन्धि नछोड्ने बताए ।

गत जुन महिनामा इजरायलले इरानमाथि १२ दिनसम्म आक्रमण गरेको थियो । अमेरिकाले फोर्दो आणविक भट्टीमा हवाई आक्रमण पनि गरेको थियो । त्यसपछि इरानको आणविक कार्यक्रम कस्तो अवस्थामा छ भन्ने स्पष्ट छैन ।

ट्रम्पले फोर्दो “पूरै ध्वस्त” भएको भनेका थिए । तर, त्यसका कतिपय भाग गम्भीर क्षतिग्रस्त भए पनि इरानको कार्यक्रम दुई वर्षसम्म मात्र पछि धकेलिएको हुनसक्ने बताइएको छ ।

अराग्चीका अनुसार, धेरैजसो प्रशोधित युरेनियम भग्नावशेषभित्र गाडिएका छन् । इस्फाहानको महत्त्वपूर्ण उपकरण कस्तो अवस्थामा छ भन्ने पनि अज्ञात छ ।

अन्तर्राष्ट्रिय निरीक्षकहरू जुन महिनाको संघर्षपछि ती आणविक भट्टीहरूमा पुग्न सकेका छैनन् ।