चेन्नई आमसभामा ३९ जनाको मृत्यु भएपछि बढाइयो अभिनेता विजयको घरमा सुरक्षा

2.1k
Shares

एजेन्सी । भारतको तमिलनाडु राज्यको राजधानी चेन्नईमा रहेको अभिनेता नेता विजयको घरमा सुरक्षा बढाइएको छ ।

शनिवार विजयले करुर भन्ने ठाउँमा आयोजना गरेको राजनीतिक आमसभामा भागदौड हुँदा ३९ जनाको मृत्यु र १०० भन्दा बढी मानिस घाइते भएपछि जनतामा आक्रोश रहेकाले विजयको घर वरपर सुरक्षा बलियो बनाइएको हो ।

विजयको दल टीभीकेले सन् २०२६ मा हुने विधानसभा निर्वाचनमा उम्मेदवारी दिन लागेको छ । त्यसैको पूर्वतयारी स्वरूप विजयले विभिन्न स्थानमा आमसभा आयोजना गरिरहेका छन् ।

तमिलनाडुको डीएमके सरकारले विजयलाई आमसभाको निर्देशिका पालन नगरेकाले भागदौड भएर मानिसहरूको मृत्यु भएको भन्दै आलोचना गरेको छ । आयोजकहरूले खाना र पानीको यथोचित प्रबन्ध नमिलाएकाले भीडमा मानिसहरू बेहोश भएको सरकारको भनाइ छ ।

उक्त आमसभामा विजय ७ घन्टा ढिलो पुगेका थिए । कार्यक्रम स्थलमा मानिसहरू मध्याह्नमै पुगिसकेका थिए । तर, विजय साँझ ७ बजेपछि मात्र त्यहाँ पुगेका थिए । पहिल्यै भीडभाड भएको ठाउँमा विजय आफैं भीड लिएर पुगेका थिए ।

विजयले सम्बोधन गरिरहँदा कतिपय मानिस बेहोश भएर ढलेका थिए । तर, उनले भाषण गरिरहे र कार्यक्रम स्थलमा एम्बुलेन्स आउन दिएनन् । आमसभा सकिएपछि विजय त्रिची विमानस्थल पुगेर निजी विमानमा चेन्नई पुगेका थिए ।

टीभीकेका एक प्रवक्ताले आमसभामा सबै निर्देशिका पालन गरिएको बताए । यस त्रासदीले विजयलाई ठूलो चोट पुगेको र उनी तमिलनाडुका मानिसलाई मन पराउने ती प्रवक्ताले बताए । विजयले भीडमा मानिसहरूलाई पानीको बोतल दिएको भिडियो पनि सार्वजनिक भएको छ ।

विजयले शनिवार राति सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आफूलाई असह्य पीडा भएको बताए । मृतकलाई श्रद्धाञ्जलि दिँदै उनले शोकाकुल परिवारलाई समवेदना पनि प्रकट गरे । घाइते भएका मानिसको शीघ्र स्वास्थ्यलाभको कामना पनि उनले गरे ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले अस्पताल पुगेर घाइतेहरूको हालचाल सोधेका थिए । उनले भागदौडमा मारिएका मानिसको परिवारलाई भेटेका थिए ।

टीभीके दलको करुर वेस्ट जिल्ला सचिव भीपी माथियाझागानलाई आमसभामा सुरक्षा बन्दोबस्तको उल्लंघन गरेको आरोपमा प्रहरीले अनुसन्धान गर्ने बताइएको छ ।