
काठमाडौं । दसैंमा मासुको जोहो गर्न खसीबोका खरिद गर्दै हुनुहुन्छ भने खसीबोकाको सिङमा लगाइएको ‘हरियो’ रंग हेरेर मात्र किन्नुहोला । रंग छुट्याएर खरिद गर्न सक्नुभएन भने तपाईं ठगिन सक्नुहुन्छ । शुद्ध र स्वस्थ्य मासुका लागि हरियो चिह्न भएका खसीबोका मात्र खरिद सरकारले सुझाव पनि दिएको छ ।
पशु सेवा विभागले पशु र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै स्वस्थ्य खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थ्यलाई ‘रातो’ चिह्न लगाउने अभियान भएको छ ।
पशु सेवा विभागका अनुसार उपत्यकाका विभिन्न १० वटा स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया सुरु भएको हो ।
दशैंमा अस्वथ्यकर खसीबोका र राँगाभैँसी बिक्री हुन सक्ने जोखिम भएकाले सरकारले वर्षेनी दशैंको अवधीमा उपत्यकामा भित्रिने खसीबोका र राँगाभैँसीको स्वास्थ्य परीक्षण गरेपछि मात्रै बिक्री गर्न पाउने व्यवस्था मिलाएको छ ।
पशु सेवा विभागले खसीबोका र राँगाभैँसीको स्वास्थ्य परीक्षण गर्न १० स्थानमा परीक्षण स्थल (चेक पोष्ट) खडा गरेको छ ।
ति चेक पोस्टमा खसीबोका राँगाभैंसीको चापअनुसार ५८ जनाको पशु स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गरिएको छ ।
विभागका पशु चिकित्सक हरिसिंह भाटका अनुसार कलंकी खसी बजार र आसपासको क्षेत्रमा १० जना, धापाखेल र चापागाँउ खसीबजार ५ जना, टुकुचा खसी बजार खाद्य संस्थान थापाथलीमा ६ जना, टोखा, सुकेधारा र कपनमा ५ जना, लोकन्थली खसीबजारमा ६ जना, सल्लाघारी च्याङ्ग्रा बजारमा ६ जना, चाल्नाखेल राँगाबजार ४ जना, चन्द्रागिरी(थानकोट, दहचौक, दाउरा डिपो) मा ५ जना, बालाजु बाइपास ५ जना, कलंकी, कालिमाटी र बल्खु माछा बजारमा ६ जना जनशक्ति परिचालन गरिएको छ ।
यस्ता होल्डिङ तथा संकलन केन्द्रमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सुरु भएको छ । उपत्यकामा मासुका लागि धेरै सङ्ख्यामा पशुपन्छी खपत हुने र बिरामी अस्वस्थकर खसीबोका र राँगाभैँसी भित्रन सक्ने भएकाले नाकामा स्वास्थ्य परीक्षण गरिएको पशुु सेवा विभागले जनाएको छ ।

दसैँमा उपत्यकामा ठुुलो सङ्ख्या खसीबोका, राँगाभैँसी, कुखुरा र माछा खपत हुने गर्छ ।
भाटका अनुसार शनिबार बिहानसम्म १४ हजार १ सयको संख्यामा खसीबोका, ३ सय २४ राँगाभैसी, ३१ हजार ५ सय ४६ किलो माछा, ८ सय ८४ सिफुड, ४५ किलो घोंघी र ९५ किलो गंगटा भित्रिएको छ ।
‘भित्रिएका खसीबोका र राँगाभैसीको सम्बन्धित बजारमा स्वास्थ्य परीक्षण गरेपछि सिङमा लगाइएको चिन्हको आधारमा मात्रै बिक्री बितरणको लागि व्यापारीलाई अनुमति दिएका छौं,’ पशु चिकित्सक भाटले भने,‘स्वास्थ्य परीक्षणको क्रममा अहिलेसम्म घातक रोग लागेको बिरामी खसीबोका भेटिएको छैन ।’
उनका अनुसार उपत्यकामा बझाङ, बैतडी, बाजुरासम्मबाट खसीबोका भित्र्याइएकाले लामो समयको सडक जामका कारण भोकभोकै र ढुवानी साधनमा अत्यधिक संख्यामा कोचेर ल्याउने प्रवृतिका कारण केही खसीबोका सुस्त र झोकाएको अवस्थामा भेटिएपनि सामान्य रेखदेख पनि बिक्रीका लागि अनुमति दिइएको छ ।
पशु चिकित्सकले दशैंमा उपभोग हुने भनेर बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमूनाको आधारमा अध्ययन गरेर स्वस्थ्य ठहरिएकाको सिंहमा हरियो र अस्वस्थ्य ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउने व्यवस्था गरिएको छ ।
बिक्री स्थलमा हरियो र रातो चिह्न हेरेर खसीबोका खरिद गर्ने व्यवस्था पनि गरिएको छ ।
‘दशैंको मौका छोपेर व्यापारीले विभिन्न प्रकारका रोग लागेका तथा सरुवा रोगवाट प्रभावित खसीबोका उपभोक्तालाई बिक्री गर्ने सम्भावना हुन्छ,’ डा. भाटले भने,‘मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै सरकारले उपत्यका भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी रङ लगाउने कार्यक्रम सुरु गरेको हो ।’
पशु चिकित्सकले खसीबोकाको बाहिरी क्षेत्र नाक र मुखबाट सिंगान र स्याल बगेको, मलद्वारबाट पातलो दिसा भएर शरीरको पछाडीको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा र रातो आँखा, छिन छिनमै दिसा गर्ने, खुट्टाको सहयोगले भुँई कोट्टयाउने, घरी घरी आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षणहरूको पहिचान गरेर बिक्री गर्न अनुमति दिएका छन् ।
परीक्षणको क्रममा यस्ता कुनै लक्षण नभेटिने खसीबोकालाई स्वस्थ्य ठहर गरेर सिङमा नखुइलिने विशेष खालको हरियो रंग लगाएर व्यापारीलाई बिक्रि गर्न अनुमति दिने व्यवस्था गरिएको छ ।
निमुनिया, ज्वरो र डायरियाजस्ता सामान्य तथा खोरेत, पीपीआर, क्षयरोग, रेविज र घुमाउने रोग लागेका खसीबोकाको सिङमा रातो चिह्न लगाएर विशेष निगरानीमा राखेर उपचार गरिनेछ ।
‘यसमध्ये निमुनिया, ज्वरो र डायरियाबाट प्रभावित भएर उपचार पश्चात स्वस्थ्य भएका खसीबोकालाई पुनः बिक्रिका लागि बजार पठाइनेछ,’ डा. भाटले भने, ‘तर खोरेत, पीपीआर, रेबिज, घुमाउने र क्षयरोग लागेका खसीबोकालाई कुनै पनि सर्तमा बिक्री गर्न अनुमति दिएका छैनौं ।’
पशु चिकित्सकका अनुसार कडा खालको ज्वरो, पीपीआर, रेबीज, घुमाउने, खोरेत र क्षयरोग लागेका खसीबोकाको मासु मानवस्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ । यस्ता रोगबाट प्रभावित खसीबोकाको मासु सेवन गर्दा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने प्रवल सम्भावना हुन्छ । मानिसको ज्यान पनि जोखिममा पर्न सक्छ ।

कम्तिमा १ अर्बको ६० हजार खसीबोका भित्रिदैं
नेपाल व्यवसायिक बाख्रापालक महासंघले काठमाडौं उपत्यकामा मंगलबारदेखि खसीबोका भित्र्याउन सुरु गरेको छ ।
महासंघले कम्तिमा १ अर्ब ५ करोड रुपैयाँबराबरको ६० हजार गोटा खसीबोका उपत्यकामा भित्र्याउने तयारी गरेको हो ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरको मुख्य सडक खण्डहरु अवरुद्ध र राजनीतिक अस्थिरताको कारण देखाउँदै यो वर्ष खसीबोका र च्याङग्रा बिक्री नगर्ने निर्णय गरेको छ ।
सरकारी निकायले बजारमा खसीबोका नल्याउने भएपछि महासंघले यो वर्ष ६० हजारको हाराहारीमा विभिन्न जिल्लाबाट खसीबोका भित्र्याउन लागेको हो । महासंघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार यो वर्ष प्रमुख बाटोघाटो पहिरो र बाढीका कारण क्षतिग्रस्त भएपनि उपत्यकामा खसीबोका भित्र्याउन ढिलाई भएको हो ।
उनका अनुसार यो वर्ष खरी क्रस, बेयर, जमुनापारी क्रस, सिरोहि क्रस र प्योर खरी जातका खसीबोका बजारमा भित्र्याउन लागिएको छ ।
रोल्पा, रुकुम, दैलेख, सिन्धुली, नेपालगञ्ज, धादिङ, मकवानपुर, बाँके, प्युठान, बर्दिया, ओखलढुंगा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाही, बर्दिया, गुलरिया, सल्यान, सुर्खेत नुवाकोट, तनहुँ, तुलसीपुर, चितवन, बारा, पर्सालगयातका जिल्लाबाट खसीबोका भित्र्याउन लागिएको सुवेदीले जानकारी दिए ।
उनकाअनुसार बजारमा ३५ किलोदेखि ४० किलो तौल समूहको अधिकाँश खसीबोका भित्र्याउन लागिएको छ । बजारमा अहिले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ७ सय रुपैयाँ छ । बाहिरी जिल्लाबाट आउने खसीबोकालाई औषत २५ किलोको मान्दा यो वर्ष न्युनतम १ अर्ब ५ करोड रुपैयाँबराबरको ६० हजार गोटा खसीबोका उपत्यकामा भित्रिने सुवेदीको भनाई छ ।
भित्र्याइएको खसी अष्टमीसम्म बिक्री गरिनेछ ।

यो वर्ष महासंघले जिउँदो खसीबोकाको उपभोक्ता मूल्य पोहोर सालकै कायम गरेको छ । पोहोर प्रतिकिलो जिउँदो खसीबोका ७ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो । यो वर्ष पनि यहि मूल्य कायम हुने सुवेदीले जानकारी दिए ।
दशैंमा आठ दोब्बरले मासुको खपत बढ्ने
पशु सेवा विभागका अनुसार दसैंको समयमा उपत्यकामा ५० देखि ६० हजारको संख्यामा खसीबोकाको व्यापार हुँदै आएको छ । यस्तै ३ हजारको संख्यामा च्याङग्रा र ५ सयको संख्यामा राँगा खपत हुन्छ ।
सामान्य समयमा राजधानीमा मात्रै दैनिक १ हजार २ सयको संख्यामा खसीबोका खपत हुँदै आएको छ ।
विभागका अनुसार दसैंको ७ दिनको अवधीमा मासुको अत्यधिक खपत हुन्छ । दसैँको समयमा अन्य समयभन्दा मासुको खपत झण्डै आठ गुणाले बढ्छ । सप्तमीदेखि प्रतिव्यक्ति मासुको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर दुई सय १२ ग्रामसम्म पुग्छ ।
उपत्यकाको बजारमा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी स्वस्थ्य खसीबोकालाई मात्रै बिक्री गर्नका लागि अनुमति दिइने पशु सेवा विभागले जनाएको छ ।
अवैद्य आयातले किसानको बजार गुम्दै
सुवेदीका अनुसार विभिन्न नाकाहरुबाट भन्सार छलेर आउने भारतीय खसीबोकाका कारण स्वदेशी किसानको बजार गुमेको छ ।
विशेषतः लुम्बिनीको नवलपरासी, रुपन्देही, दाङ, बर्दिया, नेपालगञ्ज र महेन्द्रनगरनजिकैको भारतीय सीमा क्षेत्रबाट अवैध रुपमा खसीबोका भित्रिने गरेको सुवेदीले जानकारी दिए ।
‘यस्ता जिल्लाहरुमा सीमा नाकासँगै ‘बिचौलिया’ ले खोर बनाएका छन्, बिचौलियाले भारतबाट भन्सार छलेर एक लटमा २ सय गोटा खसीबोका गाडीमा ल्याएर ति खोरमा जम्मा पार्छन,’ सुवेदीले भने,‘त्यहि खोरमा नेपालमा उत्पादन भएका ५० वटा जति स्वदेशी खसीबोका मिसाएर मिलोमतोको आधारमा क्वारेन्टाइनको कागजात र बील बिजक बनाएर नेपालको उत्पादन भनेर बजारीकरण भइरहेको छ । यसले गर्दा नेपालको किसानले उत्पादन गर्ने खसीबोकाले बजार नपाउने ठूलो समस्या आएको छ ।’
यो समस्याको बिषयमा पशु सेवा विभागसहित पशु क्वारेन्टाइन कार्यालयलाई जानकारी गराएपनि हालसम्म सरोकारवाला पक्षले चासो नदेखाएको सुवेदीले गुनासो पोखेका छन् ।
‘यसले गर्दा भारतबाट विभिन्न प्रकारका खसीबोकामा लाग्ने रोगसमेत भित्रिएको छ भने नेपाली खसीबोकाको बजार गुमेको छ, सरकारी निकायकै मिलोमतोमा अवैद्य रुपमा भारतीय खसीबोकाको खुलेआम तस्करी भइरहेको छ,’ सुवेदीले भने ।
एक व्यापारीका अनुसार सरकारले मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेपनि बजारमा उपलब्ध खसीबोकामध्ये झण्डै ३० देखि ४० प्रतिशत भारतबाट आयात भएको खसीबोका हो ।
स्वदेशी खसीबोकाको तुलनामा भारतीय खसीबोकामा मासु ठूलो परिमाणमा निस्किने भएकाले व्यवसायिक प्रयोजनको लागि बजारमा बढि भारतीय खसीबोका खपत हुने गरेको ति व्यापारीले जानकारी दिए ।
‘रकम चलखेलको आधारमा पशु चिकित्सक र सुरक्षाकर्मीको मिलोमतोमा क्वारेन्टाइन कागजात बनाएर ठूलो संख्यामा भारतबाट खसीबोका भित्रिने गरेको छ,’ ति व्यापारीले भने ।

खसीबोकामा यस्ता घातक संक्रमण हुन सक्छ
पशु सेवा विभागका अनुसार विगतमा उपत्यकामा गरिएको एक अध्ययन अनुसार यहाँ भित्रिने पशुपन्छीमध्ये ११.४ प्रतिशतमा साल्मोनेल्लाको जीवाणु र ८० प्रतिशतमा कोलिफर्म भेटिएको छ ।
यस्ता जीवाणुले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्छन् । अध्ययनअनुसार मानिसमा लाग्ने सरुवा रोगमध्ये ७५ प्रतिशत पशुपन्छीबाट सर्छ ।
यसरी छुट्टयाऔं अस्वस्थ्य खसीबोका
पीपीआर रोगः श्वासप्रश्वास बढ्ने, नाक, मुख र आँखाबाट स्याल तथा सिंगान आउने र ज्वरो आउने गर्छ ।
घुमाउने रोगः टाउको आकाशतिर उचालेर फनफनी घुम्ने, कराउने र लड्नेजस्ता लक्षण देखिन्छ ।
रेबिजः मुखबाट स्याल आउने, असामान्य रूपमा कराउने, ज्वरो आउने, छिन छिनमै दिसा गर्ने र खुट्टाले भुँई कोट्टाइरहनेजस्ता लक्षण देखिन्छ ।
खोरेतः गिजा र खुट्टाको खुरमा घाउ आएको, नखाने, सुस्त, झोक्राएको जस्ता लक्षण देखिन्छ ।







प्रतिक्रिया